अब बाेलेरै माेबाइलमा लेख्न सकिने

श्रावण ०८, २०७७

काठमाडौं । चर्चित नेपाली एप हाम्रो पात्रोले बोलेको कुरा स्वतः अक्षरमा लेखिने नयाँ फिचर ल्याउने भएको छ । नेपाली भाषाको लेखनलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ हाम्रो पात्रोले आफ्नो हाम्रो कीबोर्ड एपमा यस्तो फिचर ल्याउन लागेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक सन्तोष देवकोटाले हाल उक्त फिचरको आन्तरिक परीक्षणको काम चलिरहेको बताए । उनले भने, ‘हामीले आउँदो दशैं अघि नै सार्वजनिक गर्ने हिसावले काम गरिरहेका छौं । गूगलको भ्वाइस टाइपिङको एपीआईलाई कस्टमाइज गरेर हाम्रो कीबोर्डमा राख्न लागिएको हो ।’

यसले ६० देखि ८० प्रतिशतसम्म शूद्ध रुपमा काम गर्न सक्ने देवकोटाको भनाई छ । खास गरेर भ्वाइस टाइपिङका लागि अतिरीक्त कीबोर्डको आवश्यकता नपर्ने उद्देश्यका साथ हाम्रो कीबोर्डमा यो फिचर थप्न लागिएको हो ।

नेपाली भाषाका लागि कम्प्युनिटी सपोर्ट खासै हुन नसकेका कारण गूगलको भ्वाइस टाइपिङले अन्य भाषामा जस्तो प्रभावकारी रुपमा काम गर्न नसकेको देवकोटाको बुझाई छ । ‘कम्प्युनिटी सपोर्टको मामिलामा हामी चुकेका छौं,’ उनले भने, ‘गूगलको फिचरभन्दा धेरै फरक नभए पनि यसलाई हामीले आफ्नै तरिकाले कस्टमाइज गरेर हाम्रो कीबोर्डमा ल्याउँदै छौं ।’

गूगलको भ्वाइस टाइपिङले अंग्रेजी, नेपाली, हिन्दी लगायतका दर्जनौं भाषालाई सपोर्ट गर्ने भए पनि हाम्रो कीबोर्ड भने नेपाली भाषामा मात्रै केन्द्रीत हुनेछ । ‘समस्या देखिएन भने अंग्रेजीलाई बाई डिफल्ट रुपमै राख्ने विषयमा सोचिरहेका छौं,’ प्रबन्ध निर्देशक देवकोटाले भने, ‘अन्यथा कुनै खालको असहजता देखियो भने त्यो नरहन पनि सक्छ ।’

प्रतिक्रिया दिनुहोस