राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गैर जिम्मेवारपना,न फोन उठ्छ, न स्वाब जाँच हुन्छ

असार १८, २०७७


तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय तहले आर्थिक सहयोग नगरेको भन्दै स्वाब परिक्षण वन्द गरेको छ । क्वारेन्टाइनमा वसेकाहरुको स्वाब संकलन सकिन लागेको बेलामा प्रतिष्ठानले यस्तो गैरजिम्मेवारपना देखाएको हो । यस क्षेत्रको स्वाब परिक्षणका लागि प्रतिष्ठान एक्लो हो । प्रति स्वाब ५ हजार ५ सय लिएर मात्रै चेकजाँच गर्ने भएपछि यहाँका स्थानीय तहहरु समस्यामा परेका छन् ।

दाङ्गका १० वटै स्थानीय तहमा वुधबार संकलन भएका स्वाब लिएर जाँदा माथिको आदेश भन्दै फिर्ता पठाइएपछि अहिले स्थानीय तहमा थप संकट पैदा भएको छ । ‘फोन गर्दा उठ्दैन, स्वाब लैजादा परिक्षण हुँदैन, जिम्मेवार निकाय नै गैर जिम्मेवार भएको छ ’ तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले संघ र प्रदेशबाट सहयोग आइरहेको सन्दर्भमा पैसा नभएको कारण देखाउँदै स्वाब परिक्षणमा ढिलासुस्ती हुनु उचित नभएको वताए । प्रतिष्ठानकी उपकुलपती डा. संगीता भण्डारी र प्रवक्ता कैलाशदेवको फोन नउठेको अहिले सबैको आरोप छ ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पनि स्वाब परिक्षण नभएको वताउँदै पैसा तिरेर परिक्षण गराउन नसक्ने वताए । ‘क्वारेन्टाइन, आइसोलेन लगायतका धेरै कुरा हामीले व्यवस्थापन गरेका छौ, परिक्षणको पैसा पनि कसरी तिर्न सकिन्छ’ नगरप्रमुख चौधरीले भने । उनले सबै पालिकाको समन्वयमा काठमाडौमा स्वाब परिक्षण गर्ने बताए ।


राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले प्रतिष्ठानमा चेकजाँच नहुँदा समस्या परेको बताए । ‘अव सकियो भन्ने बेलामा झन् यस्तो आइलाग्यो’ उनले भने । प्रतिष्ठानमा दुइवटा पिसिआर मेसिन जडान भएपनि बुधवारबाट परिक्षण वन्द गरिएको छ । पालिकाहरुले प्रतिष्ठानमा स्वाब परिक्षण नभएपछि अहिले काठमाडौ, नेपालगञ्ज र भैरहवा पठाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस