किन आत्महत्या? लक्षण के?

असार १८, २०७७

तुलसीपुरकी एक युवतीले वियोगान्त गीत वजाएर फेसबुक लाइभ मार्फत आत्महत्या गरिन् । पछिल्लो समय टिनएजमा आत्महत्या गर्नेको संख्या उल्लेख्य बढेर गएको छ । आत्महत्या पनि एक प्रकारको रोग हो । आफुलाई नियन्त्रण गर्न नसक्दा धेरैले आत्महत्या गरेको पाइन्छ । आखिर किन गर्छ मान्छेले आत्महत्या डा. बाबुराम पाण्डेको भनाई

केही कारणहरू

– चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन्,

– प्राय: उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्या रोज्छन्। आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन्,

– अत्यधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन्। सहन नसक्ने घट्ना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्,

– कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ। आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ,

– काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुर्व्यवहारको सामना गर्नुका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छन्।

लक्षणहरू

– अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन्,

– यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन्,

– आत्महत्याबारे सोच्ने मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ,

– सामाजिक कार्यमा सहभागी हुन नचाहने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन्,

– यस्ता मानिसले स्वयंलाई हानी गर्ने विधि पनि खोजी गरिरहेका हुन्छन्।

रोकथामहरू

– विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ। लक्षण देखाउने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ।

– यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ। ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ।

– यस्ता प्रकारका मानिसलाई लागूपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्ने प्रयास गर्नुपर्छ।

– आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो। सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ। त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ।

• मनोवैज्ञानिकहरू भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ। मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन। कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउँछन्।

त्यस्तै आत्मबल कमजेर हुने व्यक्तिहरूमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्नेतर्फ लाग्छन्। आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ वा अन्य मानिसको भेटवार्ता र मनोरञ्जनतिर मनलाई मोड्दै समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाइ मनोवैज्ञानिकको छ।

• आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एकप्रकारको चित्कार नै हो। विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन। आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षण वा संकेतहरू देखाउने र व्यक्त गर्ने गर्दछ।

यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसंगी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ। खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ। यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ।

• संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ’ मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुँवाले लागेको जस्तो मात्र भएको हो। धैर्य गरियो भने एक दिन त्यो टवालो फाट्छ नै। जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ।

जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ। गल्तीको प्रायश्चित गर्न सकिन्छ। तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भूललाई प्रायश्चित गर्ने मौकासमेत पाइँदैन।

• ‘मरिमरि बाँच्नु भन्दा त एकै पलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केहीबेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ’ सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जान्छ र आफ्नो आत्महत्याको सोच निर्णय र विचारमा परिवर्तन आउन सक्छ, त्यो थोरै समयमा आफूले गरेको धैर्य र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ। तपाईले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्य जीवन परिवर्तनका लागि पर्याप्त हुनसक्छ।

प्रतिक्रिया दिनुहोस