विप्लब समुहको आक्रमणबाट जनप्रतिनिधि गम्भिर, हेलिकप्टरबाट काठमाडौ लगियो

असार १६, २०७७


दाङ्ग । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शान्तिनगर गाउँपालिका २ का वडा अध्यक्ष फर्साराम डाँगीलाई मंगलबार कार्यालयमै आक्रमण गरेको छ । चन्द समूहका कार्यकर्ताहरु मंगलबार दिउँसो वडा कार्यालयमा प्रवेश गरी डाँगीलाई रड र लाठी प्रहार गरी घाइते बनाएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए ।


हात, टाउको र खुट्टामा गम्भिर चोट लागेका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौको हेम्स अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । चन्द समूहकै कार्यकर्ताले आक्रमण गरेको खुल्न आएको र उनीहरुको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएस्पी शिवबहादुर सिंहले बताए ।


डाँगी नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँमा संगठितरुपमा जुवा खेलाएको, गाउँमा धेरै सर्वसाधारणहरुलाई दुःख दिएको, भ्रष्टाचार गरेको जस्ता आरोप लगाउँदै चन्द समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।

समूहका शान्तिनगर गाउँपालिका ईञ्चार्ज कमल सिंहले प्रेस विज्ञप्ती जारी गरी आक्रमणको जिम्मेवारी लिएका हुन् । डाँगीले जनबिरोधी कामहरु गरेका कारण चेतावनीस्वरुप आक्रमण गरेको सिंहले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित जिल्लाका सुरक्षा अधिकारीहरु मंगलबार घटनास्थल पुगी घटनाको अवलोकन गरेका छन् ।


यसैविच घाइते डाँगीको अवस्था गम्भिर भएकाले उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।


प्रहरीले चन्द समूहका नेता कार्यकर्तामाथि निगरानी बढाएको छ । नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्दलाई प्रहरीले सोमबार घोराहीस्थित जिल्ला अदालत परिसरबाटै पुनः पक्राउ गरेको थियो । धरौटी बुझाएर अदालतबाट निस्कदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस