तुलसीपुर आइपुग्यो सलह किरा

असार १४, २०७७


तुलसीपुर । शुक्रबार नेपाल प्रवेश गरेको बालीनाशक सलह किरा तुलसीपुर आइपुगेको छ । मुलुकको अन्नभण्डारका रुपमा रहेका प्रदेश २ र ५ मा बथान सहित आएका यस्ता किरा तुलसीपुरका विभिन्न ठाउँमा समेत देखिन थालेका छन् । तुलसीपुर उपमहानगरपालिकाको पहाडी वडा मानिने वडा नम्वर ४ मा पनि यस्तो किरा देखिएको वडाध्यक्ष बालकृष्ण रानाले जानकारी गराए । वडाध्यक्ष रानाले अहिले थोरै संख्यामा रहेको पनि जानकारी दिए ।


प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको थियो। शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखियो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको छ । मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे ३ बजेपछि हूलका हूल आकाशमा उडेको देखिएको थियो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले दिउँसो ३ बजेपछि सीमा क्षेत्र हँुदै हूलका हूल सलह कीराले रूपन्देहीको आकाश ढाकेको बताए । बुटवल क्षेत्रमा धेरै देखिएको थियो । त्यो क्रम साँझसम्म पनि जारी छ । सलह बुटवलबाट पश्चिम र उत्तर दिशातर्फ लागेको निर्देशक देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस