विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

शंकर पाेख्रेल  |  असार १४, २०७७

विश्वभर कोरोनाभाइरस संक्रमितको कूल संख्या एक करोडभन्दा माथि पुगेको छ । अहिलेसम्म कोरोनाभाइरसबाट करीब एक करोड ७५ हजार संक्रमित भएका छन् ।

तीमध्ये आधाभन्दा बढी निको भएका छन् । अहिलेसम्म करीब ५४ लाख ५४ हजार जना निको भएका छन् । उपचाररत संक्रमितको संख्या करीब ४१ लाख २० हजार छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । त्यहाँ संक्रमितको कूल संख्या करीब २६ लाख नाघेको छ । तीमध्ये सात लाखभन्दा केही बढी मात्र निको भएका छन् ।

विश्वमा दैनिक नयाँ संक्रमित भेटिने दर निरन्तर उकालो लागिरहेको छ । शुक्रबार एकैदिन अहिलेसम्मकै बढी करीब एक लाख ९५ हजार नयाँ संक्रमित फेला परेका छन् ।

धेरैजसो संक्रमित अमेरिका, ब्राजिल, रसिया र भारतमा फेला परेका हुन् । ब्राजिलमा पनि कूल संक्रमितको संख्या १३ लाख नाघिसकेको छ । त्यस्तै रसियामा ६ लाख २७ हजार र भारतमा पाँच लाख २९ हजार संक्रमित छन् ।

यसैबीच कोरोनाभाइरसबाट मृन्यु हुनेको संख्या पनि पाँच लाख नाघेको छ । तीमध्ये एक लाख २८ हजार जना अमेरिकीहरुले ज्यान गुमाएका छन् । त्यसपछि ब्राजिलमा ५७ हजार र बेलायतमा ४३ हजारभन्दा बढीले ज्यान गुमाएाक छन् ।

पछिल्लो समय मेक्सिको पनि कोरोनाभाइरसको ‘हटस्पट’ भएको छ । त्यहाँ अहिलेसम्म दुई लाखभन्दा माथि संक्रमित भएका छन् भने करीब २६ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस