सुरक्षा तयारी सहित यसरी गराै विद्यालय संचालन
![](http://khabarshala.com/wp-content/uploads/2020/06/c1_1909220.jpg)
डा. भगवान अर्याल
नेपालमा विद्यालय बन्द गर्ने कुरा त राज्यको निर्णयबाट सजिलै भयो । तर यसलाई खोल्ने कुरा साह्रै कठिन मोडमा पुगेको छ । विद्यालय बन्द हुँदा नेपालमा संक्रमितको संख्या अत्यन्तै कम थियो, तर अहिले १० हजारमाथि संक्रमित देखिंदा निजीस्तरमा विद्यालय खोल्नुपर्ने माग बढेको छ ।
एकातर्फ संक्रमितको संख्या बढ्दै जानु, अर्कोतर्फ कुनै पनि कारणले विद्यालय लामो समय बन्द हुँदा नेपालजस्ता विकासोन्मुख राष्ट्रका विद्यार्थीमा नकारात्मक असर बढी पर्ने तथ्यले गर्दा विद्यालय कहिले र कसरी पुनः सुचारु गर्ने भन्ने विषयमा निर्णय लिनु वास्तवमै चुनौतीपूर्ण छ । धेरै अन्तर्राष्ट्रिय अनुभवले विद्यालय लामो समय बन्द गर्नु बुद्धिमानी देखिंदैन । विपन्न, सुविधाविहीन, सिमान्तकृत र बसाइँ सरेका परिवारका बालबालिकामा विद्यालय छाड्ने उच्च जोखिम सिर्जना हुन्छ ।
![](https://www.shikshakmasik.com/assets/editor/kcfinder/upload/images/2077/Asar_2077/Pictures.gif)
अन्तर्राष्ट्रिय अनुभवहरूलाई विश्लेषण गर्दा विद्यालय बन्द राख्नुभन्दा पुनः सुचारु गर्दाका सकारात्मक पक्ष बलिया देखिन्छन् । तथापि विद्यालय पुनः सुचारु गर्ने समय निर्धारण गर्दा त्यसका लाभका साथै सम्बन्धित जोखिमहरूका बारेमा शिक्षा, स्वास्थ्य तथा आर्थिक–सामाजिक क्षेत्रसहित विभिन्न स्रोतबाट प्राप्त सूचनाको विश्लेषणका आधारमा बालबालिकाको सर्वोपरि हित तथा जनस्वास्थ्य अवस्थालाई केन्द्रबिन्दुमा राख्नु पर्ने हुन्छ ।
नेपालमा सामुदायिक विद्यालयमा क्वारेन्टिन राख्ने र निजी विद्यालय खुला गर्ने हो भने सामाजिक रूपमा चरम विभेदलाई निमन्त्रण गर्नेछ । त्यसैले बालबालिकाका अधिकार र सामाजिक न्यायको दृष्टिकोणबाट सबै विद्यालयलाई स्थानीय संक्रमणको अवस्था मूल्यांकन गरी क्रमशः खोल्दै जानुपर्छ । क्वारेन्टिन राखिएका सामुदायिक विद्यालयबाट क्वारेन्टिन अन्यत्र सारी विद्यालयमा निसंक्रमण कार्य शुरू गर्नुपर्छ, अन्यथा यसले पछि बालबालिकाको मनमा त्रास उत्पन्न गर्नेछ ।
अन्तर्राष्ट्रिय अनुभवका आधारमा निम्नलिखित न्यूनतम मापदण्डलाई पूरा गरेर वा गर्ने गरी मात्र नेपालमा विद्यालय पुनः खुला गर्ने नीति लिनु पर्दछ ।
सरसफाइः सर्वप्रथम विद्यालय निसंक्रमण गर्नुपर्छ । विद्यालय हाताभित्र नियमित फोहर÷मैलाको उचित विसर्जन गर्ने, हरेक दिन विद्यालयलाई किटाणुरहित तुल्याउने, आवतजावत बढी हुने स्थानहरूलाई प्रत्येक दुई घण्टामा सरसफाइ गर्ने, सरसफाइ कर्मचारीलाई आवश्यक पर्ने सुरक्षात्मक सामग्रीहरू उपलब्ध गराउने लगायतका कामहरू गर्नु पर्दछ ।
स्वास्थ्य जाँचः कतिपय देशमा पिसिआर परीक्षणको नतिजा देखाएर मात्र विद्यालयभित्र प्रवेश दिने नियम बनेको छ, जो नेपाली सन्दर्भमा व्यावहारिक देखिंदैन । यसको सट्टा विद्यालयभित्र प्रवेश गर्ने विद्यार्थी एवं शिक्षक–कर्मचारीलाई विद्यालयको गेटमै तापक्रम नापेर मात्र प्रवेश दिने व्यवस्था गर्नु पर्दछ । यसका लागि सबै विद्यालयलाई तापक्रम नाप्ने थर्मल गन अनुदानमा प्रदान गर्नु पर्दछ ।
स्वच्छताः संक्रमण नहोस् भन्ने हेतुले हरेक विद्यालयले आफ्ना विद्यार्थी र शिक्षकलाई मास्क प्रयोग अनिवार्य गर्नु पर्दछ । सबैलाई कम्तीमा कपडाको मास्क राज्य वा स्थानीय तहले निःशुल्क वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ । त्यसैगरी बारम्बार हात धुनका लागि ठाउँ–ठाउँमा हातधुने स्थानहरू निर्माण गरिनु पर्दछ । आफ्ना विद्यालयहरूलाई स्थानीय सरकारले आवश्यक स्वच्छता सामग्री उपलब्ध गराउनु पर्दछ ।
भौतिक दूरीः भौतिक दूरी कायम गर्नका लागि कक्षाकोठामा डेस्क–बेन्चहरू छरेर राख्न सकिन्छ र कक्षाकोठाभित्र नभई बाहिरी स्थान जस्तै— खेल मैदान, चौर, मञ्च, सभाहल आदिलाई प्राथमिकता दिन सकिन्छ । संक्रमणको जोखिम रहुन्जेल विद्यार्थीलाई एकल बसाइको व्यवस्था मिलाउनु राम्रो हुन्छ ।
कक्षाको आकारः केही देशहरूमा कक्षाको आकारलाई घटाएर आधा बनाइएको छ भने केही देशहरूमा तहगत रूपमा कक्षाको आकार कति हुने भन्ने कुरा नीतिमै तोकिएको छ । जस्तै नर्वेमा कक्षा–१ देखि ४ सम्म १५ जना र कक्षा–५ देखि ७ सम्म २० जनासम्म मात्र राख्ने व्यवस्था गरिएको छ । त्यसैगरी डेनमार्कमा कम्तीमा दुई मिटरको दूरीमा बस्ने व्यवस्था मिलाइएको छ । नेपालमा कक्षा आकारलाई आधा घटाउनुपर्ने आवश्यकता छ । यसका लागि केही समय हरेक दिन जोर–बिजोर रोल नम्बर अनुसार मात्र विद्यार्थीलाई विद्यालयभित्र प्रवेश दिन सकिन्छ ।
विद्यालयभित्र आवागमनः विद्यालयभित्र प्रवेश गर्ने द्वार एकभन्दा बढी छन् भने सबैको प्रयोग गर्नु पर्दछ । कक्षाकोठाभित्र प्रवेश गर्नका लागि पनि निश्चित बाटो बनाइनु पर्दछ । यो प्रक्रिया बिदा भएपश्चात् पनि अपनाउनु पर्दछ । निश्चित समयसम्म विद्यार्थीको परिवारका कुनै पनि सदस्यलाई विद्यालयभित्र प्रवेश दिनु हुँदैन ।
खाजाः घरबाट ल्याइएको खाजालाई नै प्रोत्साहन गर्नुपर्दछ । विद्यालयको क्यान्टिन प्रयोग गर्ने हो वा विद्यालयले नै दिवा खाजा उपलब्ध गराउने हो भने फरक–फरक समयमा भौतिक दूरीका साथ खाजा खाने व्यवस्था मिलाउनु पर्दछ । खाजा आदान–प्रदान गर्ने कार्यलाई यस्तो समयमा निरुत्साहित गर्नु पर्दछ । खाजा खानुभन्दा अगाडि साबुन–पानीले हात धुनु अनिवार्य गरेर अनुगमन समेत गर्नु पर्दछ ।
खेलकुद तथा मनोरञ्जनः सबै प्रकारका सामूहिक खेलकुद र मनोरञ्जनका गतिविधिलाई निषेध गर्नु पर्दछ । भौतिक सम्पर्क नहुने खालका मनोरञ्जनात्मक गतिविधिहरू जस्तै— गीत गाउने, नाँच्ने, चित्र बनाउने, कथा सुनाउने, चुट्किला भन्ने, आदि गराउन सकिन्छ ।
यातायातः विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सकभर हिँडेरै वा निजी सवारीसाधनमा विद्यालय आउने–जाने व्यवस्था गर्नु पर्दछ । विद्यालयका यातायातका साधनहरू प्रयोग गर्ने हो भने भौतिक दूरीसहित थोरै विद्यार्थी मात्रै बोक्ने व्यवस्था मिलाउनु पर्दछ । यस्ता सवारीसाधनहरूमा प्रत्येक दिन विद्यार्थी बोक्नुभन्दा अगाडि र विद्यार्थी बोकी सके पश्चात् किटाणुरहित पार्ने व्यवस्था मिलाउनु पर्दछ ।
अन्त्यमा, पर्याप्त तयारी बिना विद्यालय खोल्ने हो भने ठूलै दुर्घटना निम्तिन सक्छ । तसर्थ केही मानक सुरक्षा प्रबन्ध गरेर मात्रै विद्यालय पुनः सञ्चालनमा ल्याउनु पर्दछ । विद्यालयको निसंक्रमण, विद्यालयभित्र सामूहिक गतिविधि र भेलामा निषेध, विद्यालय खोल्ने तथा बन्द गर्ने समयमा विविधता, विभिन्न उमेर समूहका बालबालिकाहरूका लागि खाजा खाने फरक–फरक समय, खुला स्थानमा कक्षा, विद्यार्थी संख्या कम गर्न फरक–फरक समयतालिका निर्माण, ठाउँ–ठाउँमा पर्याप्त मात्रामा सफा पानी, साबुन र अन्य सरसफाइका सामग्रीहरूको व्यवस्थापन र मास्कको प्रयोगमा अनिवार्यता जस्ता विषयमा नीति/निर्माण र तयारी गरी विद्यालय पुनः खुला गर्नेतर्फ अग्रसर हुनु पर्दछ ।
उप–प्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
शिक्षक मासिक अनलाइनबाट
प्रतिक्रिया दिनुहोस