प्रदेश ५ का ११ जिल्लामा फैलियो कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ५३ पुग्यो

जेठ २१, २०७७

 

 

 

बुटवल-प्रदेश ५ का ११ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।शुरुवाती चरणमा प्रदेश ५ का १२ जिल्लामध्ये तराईका ६ जिल्लामा मात्रै संक्रमण देखिएकोमा पछिल्लो साता पहाडी जिल्लामा समेत संक्रमित फेला परेका हुन्।

प्रदेश ५ को प्युठानमा मंगलबार संक्रमित फेला परेसँगै प्रदेश ५ का ११ जिल्लामा संक्रमण फैलिएको हो।प्रदेश ५ सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबारसम्ममा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर चौधरीले प्रदेश ५ मा मंगलबारसम्म ५ सय ६४ जनाको उपचार जारी रहेको बताए।उनका अनुसार प्रदेश ५ बाट मंगलबारसम्म ७६ जना निको भएर घर गएका छन्।मंगलबार प्रदेश ५ मा १ सय ११ जना संक्रमित थप भएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा ४५ भर्ना भएकोमा ३० जना आइसोलेशनमा रहेका छन् भने १५ जना निको भएर घर फर्किएका छन्।भैरहवास्थित भीम अस्पतालमा ३० जना भर्ना भएकोमा ५ जना आइसोलेशनमा रहेका छन् भने २५ जना निको भएको घर गएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बेलझुण्डी दाङमा ५९ जना भर्ना भएकोमा ५१ जना आइसोलेशनमा रहेका छन् भने ८ जना निको भएर घर फर्किएका छन्।यस्तै बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालमा ४४ जना भर्ना भएकोमा १८ जना आइसोलेशनमा रहेका छन् भने २६ जना निको भएर घर गइसकेका छन्।
प्रदेश ५ को कपिलवस्तुमा सबैभन्दा बढी ३ सय ६५ जना संक्रमित रहेका छन् भने प्युठानमा १ जनामा मात्रै संक्रमण पुष्टि भएको छ।मंगलबारसम्म रोल्पामा संक्रमण देखिएको छैन।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कपिलवस्तुमा ३ सय ६५, बाँकेमा २ सय १३, रुपन्देहीमा ७६, दाङमा ६२, बर्दियामा १३, नवलपरासी पश्चिममा ७, गुल्मीमा ५, पाल्पामा ५, अर्घाखाँचीमा ३, रुकुमपूर्वमा ३ र प्युठानमा १ जना संक्रमित रहेका छन्।

मंगलबार कपिलवस्तु शिवराजको वडा नं. ३ का २० देखि २४ वर्षका पुरुष ३ जना, वडा नं.४ का १८ र ४२ वर्षका पुरुष २ जना, वडा नं.५ का २४ र २८ वर्षका दुईजना महिला तथा २१ र ३० वर्षका पुरुष २ जना, वडा नं. ६ की १९ वर्षकी एक महिला, वडा नं. ८ का बर्ष २८ का एक पुरुष, वडा नं. १० का बर्ष १७ का एक पुरुष र वडा नं. ११ का १७,२३,२९ वर्षका पुरुष तीन जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

वाणगंगा नगरपालिका वडा नं.४ का वर्ष १६ का एक जना पुरुष तथा महाराजगन्ज नगरपालिका वडा नं. १० का २८ वर्षका पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ।

रुपन्देहीको सैनामैनामा १० जनामा कोरोना संक्रिमण देखिएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ५९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।दाङमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १ का ३० बर्षका पुरुष र ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ।

त्यस्तै घोराही वडा नम्बर २ का २६, ४०, ४५, ४६ वर्षका चार जना पुरुष र १९ वर्षीया किशोरी, वडा नम्बर ५ का ५३ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। घोराही उपमहानगरमा संक्रमतिको संख्या १७ पुगेको छ ।

प्रदेशका १२ जिल्लाका क्वारेन्टाइनबाट १६ हजार ३ सय ७ जनाको स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा तीनहजार बढीको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए।प्रदेश ५ का १२ वटै जिल्लाका क्वारेन्टाइनमा ४० हजार भन्दा बढी रहेका छन्।उनीहरु सबैजसो भारतबाट आएका हुन्।

प्रदेश ५ मा कोरोना संक्रमितमध्ये गुल्मी, अर्घाखाँची र बाँकेका एक-एक जना गरी तीनजनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस