चैत्र २७ गते दाङ्ग छाडेका थिए तुलसीपुरका संक्रमितले

जेठ ०३, २०७७

 

तुलसीपुर ।  हाल काठमाडाैमा रहेका तुलसीपुरका कोरोना संक्रमित भनिएका व्यक्तिले चैत्र २७ गते दाङ्ग छाडेको खुल्न आएको छ । बहिनी जुवाँइको उपचारका लागि उनी काठमाडौ गएका हुन् । शान्तिनगर ५ वस्ने बहिनी जुवाँइको टाउँकोको उपचार तुलसीपुर र काेहलपुरमा हुन नसकेपछि उनी काठमाडौ गएका थिए । उनका जुवाइ मलेसियाबाट एक महिना अगाडी घर फर्केका थिए ।

“२५ गतेबाट दुइदिन तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार गरेर २७ गते काेहलपुर लगिएको हो ” संक्रमितकी आमाले बताइन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ्ग गर्ने क्रममा उनी २८ गते नै काेहलपुरबाट  एम्बुलेन्समा काठमाडौ गएको देखिन्छ ।

उनी बिरामी लगेर काठमाडौ शिक्षण अस्पतालमा २९ गते बिहान साढे २ वजे पुगेको ट्राभल हिस्ट्रिले देखाउँछ । शिक्षण अस्पतालमा भर्ना गरे यता उनी अस्पताल मै बसेर बिरामीको हेरचाह गर्दै आएका थिए।

“आज बिहान फोन गर्नुभएको थियो केही पनि भन्नु भएन ” उनकी छोरीले भनिन् । “बाबाले शनिबार डिस्चार्ज हुन्छ आउँछु भन्नुभएको थियो ” उनले भनिन् ।

“चैत्र २७ गते यहाँबाट गएपछि  अहिलेसम्म पनि घरमा आएको छैन ” उनकी आमाले जानकारी दिइन् । संक्रमित भएका  व्यक्ति यो भन्दा अगाडि कहि कतै नगएको पनि खुल्न आएको छ ।

जुवाईको उपचारका लागि उनी र बहिनी अस्पतालमा रहेका थिए ।  बिरामी र उनकी श्रीमतीको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित व्यक्तिले विरामीका लागि औषधि, खाना र अन्य सामान ल्याउने गर्दथे ।

उनीहरु शिक्षण अस्पतालको न्युरो वार्डमा भर्ना भएर उपचार गरिरहेका थिए । शनिबार उनीहरुलाई डिस्चार्ज गर्ने अस्पतालले तयारी गरिरहेको बेलामा अचानक कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमै संक्रमण फैलिएको आशंका गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले संक्रमितको घरमै पुगरे परिवारमा रहेका ६ जनाको र्यापिड टेस्टको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस