नेपालगञ्जमा ९ जना सहित आज १० जनामा काेराेना

बैशाख २१, २०७७

काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महानगरपालिका छपकैयाका ३६ वर्षीय पुरुष र नेपालगञ्जका ९ जनामा संक्रमण देखिएको हो।

डा देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिए।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ६९ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ६३ हजार १ सय २ जनाको नमूना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

१३ हजार ४ सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटिबाट परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमतिमा ८ हजार ५ सय १५, गण्डकीमा ५ हजार ८ सय ३४, प्रदेश ५ मा ४ हजार ४ सय ९२, कर्णलीमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ जनाको नमूना परीक्षण भएको छ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ४ र बाहिर ७३ गरी कुल ७७ जना अस्पतालको आइसोलेसनमा छन्। २१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस