सडकमै जन्मियो बच्चा

चैत २७, २०७६

खबरशाला संवाददाता

नेपालगञ्‍ज- भारतीय एक हुल मानिस बाँकेको सीमानामा देखिए। कुसुम क्षेत्रमा आइपुगेका उनीहरु अलपत्र अवस्थामा थिए। बाँके प्रहरीले उनीहरुको उद्धार गर्‍यो।

भारत नानपाराका ६७ जना चितवन पुगेका रहेछन्। लकडाउनले गर्दा समस्या परेपछि उनीहरु घर जान भन्दै हिँडेका थिए । १२ औं दिन बाँकेको सीमानामा आइपुगेका थिए। मान्छेले समस्या परेपछि घर अनि परिवार सम्झिन्छ। यी भारतीयहरु पनि घर सम्झिएर आउँदै थिए।

हिडेर आउँदा एकजनाले बाटोमा बच्चा जन्माइन् । त्यही सुत्केरी पनि हिँडिरहिन् । बाँकेको नाकामा आइपुगेका उनीहरुलाई बाँके प्रहरीले उद्धार गरेर कोहलपुरको हवल्दारपुरस्थित राम माविमा पुर्‍याएको छ। उनीहरुलाई त्यही बस्ने व्यवस्था मिलाएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले बताए ।

नानपाराका यी पत्थरकट्टा जाती सडकछेउमा पाल टाँगेर बस्ने र विभिन्न सामानहरु बनाएर बेच्ने गर्दछन् । यी जाति कुनै एक ठाउँमा मात्रै बस्दैनन् । ठाउँ सरिरहन्छन्। इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, बाँके आइपुगेका भारतीयमा १८ वर्षमुनिका ३७ जना, १५ पुरुष र १५ महिला रहेका छन् ।

सीमावर्ती अधिकारीहरुले नेपालमा फसेकालाई भारतीयलाई नेपाल र भारतमा फसेका नेपालीलाई भारतीयले व्यवस्थापन गर्ने सहमति भएको छ । जस अनुसार नै यी ६७ जना भारतीयलाई स्थानीय प्रशासनले विद्यालयमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाएको छ। नेपाल आर्मीले पहिलो दिन खाना खुवाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी बीरबहादुर ओली, डीएसपी शिवबहादुर सिंहलगायतको टीम भारतीयलाई राखिएको ठाउँमा पुगेर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस