भोलि र पर्सी काठमाडौं बाहिर जान दिने निर्णय भएको छैनः संयाेजक पोखरेल

चैत २७, २०७६

खबरशाला संवाददाता

तुलसीपुर । उपप्रधान एवं रक्षामन्त्री तथा नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले उपत्यकाबाट बाहिर जान दिने निर्णय नभएको प्रष्ट पारेका छन्।

यसअघि समितिले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट जिल्ला बाहिर दुई दिनका लागि जान दिने समितिले निर्णय गरेको भनी सार्वजनिक भएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयोजक पोखरेलले समितिले त्यस्तो निर्णय नगरेको स्पष्टिकरण दिएका हुन्।
उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस किसिमको कुनै निर्णय नभएको, कोभिड–१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसुस गरी ‘बन्दाबन्दी’ (लकडाउन)लाई जारी राखिएको’ बताएका छन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको सम्बाेधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौँ, विज्ञप्तिमा भनिएको छ, ‘यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ।’

विज्ञप्तिमा यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ? भनी प्रश्न गरिएको छ।

प्रतिक्रिया दिनुहोस