कोरोना भाइरसलाई भान्सासम्म पुग्नबाट कसरी रोक्ने?

चैत २६, २०७६

 

डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ 

चीनको उहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिएको छ। कोरोना भाइरसको संक्रमणका कारण संसारभर हालसम्म ७८ हजार भन्दा बढीको ज्यान गइसकेको छ। यो भाइरसबाट १३ लाख ८० हजार भन्दा बढी संक्रमित भइसकेका छन्।

नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै सुुरुआतदेखि नै विश्व स्वास्थ्य संगठनले सजग गराइरहेको छ। चीन र भारतमा पनि यसको संक्रमण उच्च रहेका बेला हालसम्म नेपालमा यसको संक्रमण त्यति धेरै देखिएको छैन। यद्यपि हालसम्म ९ जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ। त्यसमध्ये एक जना निको भइसकेका छन् भने ८ जनाको उपचार जारी छ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ९ गतेदेखि अन्तरर्राष्ट्रिय उडान बन्द गरेको छ। चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ। यो अवधि तीन पटक थप गरेर बैखाख ३ गतेसम्म पुर्‍याइएको छ। लकडाउनको अवधिमा कोहीपनि घरबाट बाहिर ननिस्कन, घरमै सुरक्षित बस्न सरकारले अपिल गरेको छ। त्यसकारण अधिकांशले लकडाउनको पालना गर्दै घरमै बसिरहेका छन्। तर, आफू घरमै बस्दा पनि दैनिक उपभोग्य सामानहरूको जोहो त गर्नैपर्छ। मूलत घरभित्रै बस्दा पनि भान्सामा चाहिने सामग्री बाहिरबाट ल्याउनैपर्छ। सोही माध्यमबाट भाइरस हाम्रो घरसम्मपनि आइपुग्ने संभावना बाँकी छ।

त्यसबाहेक हामी भान्साकोठामा रहेका दैनिक उपयोग्य खाद्यवस्तु तथा अन्य सामग्री बारम्बार प्रयोग गरिरहँदा प्रत्यक्ष रूपमा उक्त वस्तु पटकपटक छोइरहेका हुन्छौँ। पटकपटक एउटै वस्तु छुँदा एउटा वस्तुमा भएको कोरोनालगायतका अन्य भाइरस अर्को वस्तुमा सजिलै सर्न सक्दछ। अन्य स्थानको तुलनामा भान्साका खानेकुरा खाइने र उक्त खानेकुराको माध्यमबाट शरीरमा सजिलै भाइरसले आक्रमण गर्ने हुँदा तरकारी तथा फलफूललाई सुरक्षित बनाउन निकै आवश्यक छ।

भान्सालाई सुरक्षित बनाउने केही उपयोगी सुझावहरू

हातमा पन्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउने, उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने, त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने, त्यसपछि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने र हात राम्रोसँग धुने ।

 

दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा सुरुमा बाहिरको प्याकिङ निकाल्ने र त्यसलाई नष्ट गर्ने। ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने।

तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने। आफूले साबुनपानीले राम्रोसँग हातधुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने, त्यसपछि एउटा भाडामा राख्ने। भाडामा मनतातो पानी राख्ने र त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने, तरकारी, फलफूल सफा गर्ने भिजेवास भए अति उत्तम हुन्छ। आधा घण्टापछि सफा पानीले मिचिमिची सफा गर्ने र सुख्खा राख्ने। यसरी तरकारी तथा फलफूल प्रयोग गर्दा सुरक्षित हुन्छ।

 

प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ। केही विज्ञहरूका अनुसार, मनतातो पानीले राम्रोसँग सफा गरे ब्लीच मिसाउनु पर्दैन। केही विज्ञहरूले चिसो पानीले राम्रोसँग धोएपनि हुने बताएका छन्। यी दुई कुरा आफ्नो ठाँउको अभ्यासमा भर पर्ने कुरा हुन्।

 

आलु, स्याउ, गाँजर लगायत कडा सतह भएका फलफूल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ। गोलभेडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ। योभन्दा सुरक्षित तरिका अपनाउन बेकिङ सोडा राखेर सफा गर्न सकिन्छ।

 

फलफूल तथा तरकारीलाई काट्नु अघि राम्रोसँग धुनु अति आवश्यक छ।

 

यस्तो अवस्थामा तरकारी सकभर बोक्रा तासेर खानु सुरक्षित हुन्छ। यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ।

 

खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ। रुघाखोकी तथा ज्वरो आएका व्यक्तिले भान्साको काम गर्नुहुँदैन।

तरकारी ,फलफूल तथा अन्य खानेकुरा सफा गर्दा माथि उल्लिखित कुरालाई गम्भीरतापूर्वक लिन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस