लकडाउनमा बच्चालाइ घरमा कसरी सम्हाल्ने

चैत २५, २०७६

कोरोना भाइरसले (COVID-19) गर्दा मृत्यु हुनेको सङ्ख्या उच्च रूपमा बढिरहेके छ। संक्रमण हुनेको संख्या पनि बढिरहेको छ। संक्रमणकाे चिन्तासँगै भाइरसको त्रास अहिले आम मानिस सबैमा छ। हरेक देशले यो भाइरसको संक्रमण  रोक्न आ-आफ्नो हिसाबले उपयुक्त सुरचित उपायहरु अपनाउन थालेका छन्।

नेपालमा हालसम्म यो भाइरसको संक्रमण पाइएको छैन। चीनबाट आएका एक ब्यक्तिमा देखिए पनि उनी निको भइसकेका छन्। तर पनि नेपाल खतराको सूचीमा छ।

भाइरस फैलिन नदिनका लागि अहिले नेपाल पनि लगभग लकडाउनको अवस्थामा छ।

छोराछोरीको चिन्ताले अभिभावक चिन्तित

चैत्र ६ गतेबाट सबै विद्यालयहरू पनि बन्द भइसकेका छन्। पहिला पहिला बिदा हुँदा बिदाको सदुपयोग कसरी गर्ने भन्ने बारेमा अभिभावकहरु चिन्तित हुन्न्थ्ये भने अहिले कसरी आफ्नो बच्चालाई सुरक्षित राख्न्ने भन्ने कुरा पनि एक चुनौति बनेको छ।

अहिलेको अवस्था यस्तो छ कि, बच्चालाई कतै घुमाउन लैजाने अवस्था छैन। दिनभर कोठामा थुनिएर बस्नुपर्दा बालबालिकामा झन् मानसिक समस्या आउने पो हो कि भन्ने डर अर्कोतिर छ। मोबाइल फोन मात्र चलाउन दिने हो भने फोनको लतमा पर्ने हो कि भन्ने खतरा रहन्छ।

विदाको सदुपयोग कसरी गर्ने ?

घर बच्चाको पहिलो विद्यालय हो भन्ने मानिएको छ। अहिले यति लामो विदा र यो त्रासको वातावरणमा बच्चालाई घरमै राखेर कसरी सम्हाल्ने? बालबलिकालाई यो परिस्थितिले चिन्ता ट्रमाको (Trauma) विकास गर्न सक्छ ।

यी टिप्सहरुले पक्कै पनि बच्चाको शारिरीक र मानसिक रुपमा आत्मबल बढाउन सक्छन् :

  • बच्चाहरुको लागि हरेक दिनको रूटिन बनाएर विभिन्न क्रियाकलापहरु समावेश गर्ने जसले गर्दा बच्चाहरुले त्यही रूटिन अनुसार आफ्नो दिनचर्या गर्न सकुन्। जसले गर्दा उनीहरूले समयको राम्रो उपयोग गर्न सक्छन्।

  • यतिबेला सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सरसफाई हो। आफू कसरी सफा बस्ने र भाइरसको संक्रमणबाट कसरी बच्ने जस्ता कुरालाई अभिभावकले सम्झाउनु पर्छ।

  • आफ्नो बच्चासँगै खेल्ने, विभिन्न नयाँ खेलहरु सिकाउने जसले गर्दा बच्चाको दिमाग हरदम ओगट्न (Mind occupied) सकोस्। (घर भित्र खेल्ने खेल जस्तै : क्यारेमबोर्ड, चेस, पजल्स, लुडो लगायत अरु बौद्धिक खेलहरु पनि हुनसक्छन्।

  • घर बाहिर खेल्ने खेल जुन सानो ठाउँमा पनि खेल्न सजिले होस् : ब्याटमिन्टन, स्किपिङ, लुकामारी, बल पासिङ आदि।

  • आफूलाई आउँछ भने विभिन्न किसिमका आर्ट एण्ड क्राफ्टहरु (Art and Craft) गराउने आउँदैन भने You Tube को सहायताले आफ्न बच्चालाई सिकाउन सकिन्छ।

  • हातमा मोबाइल थमाइदिइएर आफू आफ्नो काममा लागिपर्ने चलन आजकल धेरै अभिवाकमा बढेको छ। त्यसैले यति लामो बिदामा दिनदिनै बच्चाको हातमा मोबाइल थमाइदिने हो भने यो एक लत बन्नसक्छ। बच्चालाई मोबाइलबाट टाढा राख्नु अति आवश्यक छ ।

  • शारिरीक व्यायामहरु गर्न सिकाउने जसले गर्दा बच्चा बोधो हुँदैनन्। मेडिटेसन गर्न लगाउने, चित्र कोर्न, कलर गर्न लगाउने, विभिन्न स्वासप्रश्वास सम्बधि व्यायामहरु गर्न लगाउने जसले बच्चालाई मनोबैज्ञानिक रुपले स्वस्थ्य राख्न मदत् गर्दछ।

  • घरमा सामनहरु मिलाउन सिकाउने, उमेर अनुसारका खानाहरु बनाउन सिकाउने, सफासुग्घर गर्न प्रेरित गर्ने हो भने बच्चामा प्रबन्धन क्षमता अनि आयोजन क्षमताको विकास हुन्छ।

  • नयाँ नयाँ कुराहरु सिकाउने जस्तै पात गाँस्न, बत्ती काट्न, बुन्न, गोडमेल गर्न सिकाउने जसले बच्चालाई हरदम फ़ूर्तिलो राखोस्।

  • घरमै प्रेरणादायी चलचित्र, हाँस्य चलचित्र देखाउने, रोमाञ्चक कार्यक्रमहरु देखाउन सकिन्छ। अनि हेरेको चलचित्रबाट के बुझियो भनेर लेख्न दिने लेख्न नसक्नेलाई सोध्ने अनि अन्त्यमा आफूले बुझाउने काम गर्न सकिन्छ।

  • बच्चाको रुचीअनुसार विभिन्न क्रियाकलापहरु गराउन सकिन्छ पढ्ने शैली बढाउनको लागि विभिन्न उपन्यास, कथाका किताबहरु, पढ्न लगाउन सकिन्छ।

  • बेलाबेलामा स्पेपेलिङ परिक्षण गर्ने, शब्दको अर्थ सिकाउने सोध्ने, नयाँ नयाँ शब्द सिकाएर त्यसको वाक्य बनाउन लगाउने, देशको प्राचीन कुराको बारेमा बाताउन सकिन्छ जसले गर्दा बच्चाको सामान्य ज्ञान (general knowledge) राम्रो हुन मदत गर्छ।

  • टाढा नभए पनि घरबाट नजिक भिडभाड कम भएको ठाँउमा घुमाउन लैजाने जसले गर्दा बच्चाहरुलाई घरमा मात्र गुम्सिएर बस्नु पर्दैन ।

यसरी बच्चाहरूलाई बढी भन्दा बढी अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउनुपर्दछ। जसले बच्चालाई फैलिरहेको संक्रमणको त्रासबाट बचाउँछ अनि खालि समयको भरपुर उपयोग हुन्छ। आफू कत्ति पनि नआत्तिएर आफ्नो बच्चाहरुलाई हामी रोगबाट सुरक्षित छौं र हुनुपर्छ भनेर आश्वस्त बनाई उनीहरुसँगै रहने हो भने यो लामो विदाको समयमा राम्रै प्रतिफल पाउन सकिन्छ अनि समय बितेको पत्तै हुँदैन।

लेखक मनोविद् हुन्।

प्रतिक्रिया दिनुहोस