महामारीका वेला अपनाउनुपर्ने  ६ सावधानी

बैशाख १४, २०७७

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न विभिन्न सतर्कता अपनाउनुपर्छ । यस्ता सामान्य विषयमा ख्याल गरेका अहिलेको परिस्थितिमा पनि सुरक्षित रहन सकिन्छ ।

सुरक्षित रहने 

सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो । आफू र आफ्नो परिवारका सदस्यलाई कोरोना मात्र नभई हरेक किसिमका रोगको संक्रमणबाट सुरक्षित राख्नुपर्छ । दैनिक जीवनमा आवश्यक पर्ने सामान्य औषधि, प्राथमिक उपचारका किट्सको व्यवस्था गर्नुपर्छ । त्यस्तै, स्वास्थ्यअनुकूल खानपिनमा जोड दिन आवश्यक छ ।

किनमेल गर्दा सतर्कता 

सकेसम्म भिडभाडयुक्त स्थानमा किनमेल नगरौँ वा कम गरौँ । किनमेल गर्दा नगदभन्दा पनि अनलाइनबाटै भुक्तानीको तरिका रोज्नुपर्छ । किनमेलको झोला पनि आफैँले लानु उचित हुन्छ । ‘अनलाइन अर्डर’ अझ प्रभावकारी र सुरक्षित हुन्छ । अनलाइन अर्डरका सामग्री पनि डेलिभरीलगत्तै प्रयोग गरिहाल्नुहुन्न । स्यानिटाइज तथा राम्रोसँग सफा गरेर मात्र सामान प्रयोग गर्नुपर्छ ।

घर सफा गर्दा ध्यान दिने

धेरैले लामो समयदेखि घरको कुनाकाप्चा सफाइ गर्न  नपाएका धेरैले लकडाउनलाई उचित अवसर मानेका छन् । सरसफाइसँगै घरलाई ‘डिस्इन्फेन्सन’ पनि गर्ने गरौँ । यस्ता सुविधा सम्बन्धित संस्थाले गर्न थालेका छन् ।

अफवाहको पछि नलाग्ने

अहिलेको समयमा भ्रामक समाचार तथा अफवाह बढी फैलने गर्छ । यसकारण आधिकारिक समाचारका स्रोत मात्र पढ्ने, सुन्ने बानी विकास गरौँ । कोरोनासम्बन्धी सर्वेक्षणको बहानामा विभिन्न लिंक पठाउने तथा निजी जानकारी लिने तथा ह्याक हुने सम्भावन रहन्छ । यी विषयमा सतर्क रहनुपर्छ ।

सामाजिक दूरी कायम गर्ने 

काम विशेषले घरबाहिर जानुपरेमा करिब तीनदेखि ६ मिटरको दूरी कायम गरेर हिँड्नुपर्छ । भिडभाडबाट टाढै रहने गर्नुपर्छ । बाटोमा भेटिएका आफन्त र साथीभाइसँग सकेसम्म कम कुराकानी गर्ने गरौँ । बाहिर निस्कँदा मास्क तथा स्यानिटाइजर अनिवार्य प्रयोग गरौँ ।  फर्किएपछि  साबुनपानीले राम्रोसँग हातखुट्टा धुनुपर्छ ।

मितव्ययी बनौँ

संकटको समयमा हामी मितव्ययी हुन निकै जरुरी छ । अत्यधिक खानेकुरा बनाउने र फाल्ने गर्नु ठीक हुँदैन । साथै, पैसा पनि आवश्यक मात्र खर्च गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस