तुलसीपुरमा नियमित खोप सेवा सुरु

बैशाख १२, २०७७

तुलसीपुर । लकडाउनका कारण १ महिनादेखि अवरुद्ध रहेको खोप कार्यक्रम तुलसीपुरमा सुरु भएको छ । वालवालिकाहरुलाई विभिन्न रोगबाट जोगिनका लागि उपयोगी हुने खोपहरु लगाउन सुरु गरिएको जनस्वास्थ्य शाखाका निरीक्षक विमले केसीले जानकारी दिए । उनले उच्च सतर्कता अपनाएर खोप कार्यक्रम सुरु गरेको पनि जानकारी दिए ।

स्वास्थ्यकर्मीलाई पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गरेर खोप लगाउने काममा खटाईएको पनि उनले वताए । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अत्यन्त संवेदनशील मानिने बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न सुरक्षित रहेर खोप कार्यक्रम संचालन गरिएको बताए ।
कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बिसिजी खोपलाई प्रभावकारी मानिएको छ ।

जन्मिने वित्तिकै लगाउनुपर्ने बिसिजीदेखि विभिन्न आठ प्रकारका खोपलाई तुलसीपुरले निरन्तरता दिएको छ ।

प्रादेशिक अस्पताल, वडामा रहेका स्वास्थ्य केन्द्र लगायत विगतमा खोप दिइदै आएका ५० वटै केन्द्रमा १० गतेदेखि सुरु भएको खोप आउँदो १५ गतेसम्म सञ्चालन हुने निरिक्षक केसीले जानकारी दिए ।

उपमहानगरपालिकाले बिसिजी, पेन्टा, ओपिभी, एफआइपिभी, पिभिसी, एमआर तथा जेई र टिटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिएदेखि २३ महिनासम्मका बच्चालाई लगाउनुपर्ने हुन्छ ।

उपमहानगरपालिकाभित्र यस्तो खोप लगाउने वालवालिकाको संख्या ३ हजार ६ सय १० रहेको पनि केसीले जानकारी दिए । अहिलेसम्म २ हजार १ सय ६६ जनाले यस्तो खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस