कानुन विपरित औषधि कम्पनी रिफर गर्छन चिकित्सकहरु

फार्मेसी

बैशाख १०, २०७७

वजारमा आउने हरेक औषधि नेपाल औषधि विभागबाट स्वीकृत हुने भएको हुँदा खासै समस्या नहुने डा. किशोर खत्री वताउँछन् । ‘औषधि सबै एकै हो, तर जुन कम्पनीप्रति चिकित्सकलाई वढि विश्वास हुन्छ त्यही मगाउने हो ’ उनले भने ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ का रामविर चौधरीले प्रेसरको औषधि खान थालेको धेरै भयो । उनले एमलोड नाम गरेको औषधि सेवन गर्दै आइरहेका छन् । वजारका केही पसलमा खोज्दा नभेटेपछि उनलाई वुझ्नेले माइलोड औषधि सेवन गर्न सल्लाह दिए । तर उनले घोराहीबाट समय लगाएर औषधि मगाए तर अर्को औषधि खाएनन् ।

लकडाउनको समयमा औषधि राम्रोसँग आपूर्ति नहुँदा दीर्घरोगका विरामीहरुले समस्या भोगिरहेका छन् । अझ त्यसमा डाक्टरले पर्चामा लेखेको कम्पनीकै औषधि खोज्नाले नपाइने सम्भावना धेरै हुन्छ । ‘हामीकहाँ डाक्टरले जे लेखे त्यही औषधि मात्रै चाहिन्छ भन्ने भ्रम रहेको छ ’ जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीले भने ।

उनले एउटै खालको औषधि धेरै कम्पनीले उत्पादन गर्ने वताउँदै चिकित्सकले सिफारिस गर्दा जेनेरिक नाम लेख्नुपर्ने वताए । जेनेरिक नाम भन्नाले औषधिको नाम भन्ने बुझिन्छ । तर चिकित्सकहरुले व्रान्ड नेम लेख्ने गरेका छन् ।

वजारमा आउने हरेक औषधि नेपाल औषधि विभागबाट स्वीकृत हुने भएको हुँदा खासै समस्या नहुने डा. किशोर खत्री वताउँछन् । ‘औषधि सबै एकै हो, तर जुन कम्पनीप्रति चिकित्सकलाई वढि विश्वास हुन्छ त्यही मगाउने हो ’ उनले भने ।

नेपालमा मात्रै औषधि वनाउने ६३ वटा कम्पनी छन् । लकडाउनका कारण श्रमिक र कच्चा पदार्थको अभावमा आधा जसो कम्पनी वन्द पनि भएका छन् । ‘वन्द भएको कम्पनीको औषधि कुनै डाक्टरले सिफारिस गरेको रहेछ भने त्यो पाउँने अवस्था हुँदैन’ नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश नम्वर ५ का महासचिव तुफानवावु श्रेष्ठले भने ।

उनले चिकित्सकहरुले औषधिको खास नाम भन्दा पनि ब्रान्डको नाम लेख्ने भएकाले यस्तो समस्या आएको वताए ।

तर चिकित्सकहरुले अहिले पनि ब्रान्ड नेम नै लेखेर औषधि सिफारिस गर्दै आएका छन् । रोग निको पार्ने जिम्मेवारी रहेका कारण गुणस्तरहिन औषधि सिफारिस नगर्ने दावि लामो समयदेखि चिकित्सकहरुले गर्दै आएका छन् ।

के .छ कानुनी प्रावधान ?

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बिरामीलाई औषधि सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने कानूनी व्यवस्था समेत सरकारले गरेको छ । जनस्वास्थ्य सेवा विधेयक २०७५ मा चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा जेनेरिक नाम नै लेख्नुपर्ने उल्लेख छ । तर पेटेन्ट र नयाँ औषधिको हकमा भने ब्राण्ड नाममा सिफारिस गर्न बाधा नपर्ने स्पष्ट पारिएको छ ।

कम्पनीको चलखेल

जानकारहरुका अनुसार औषधि कम्पनी र चिकित्सकका विचको मिलोमतोका कारण यस्तो हुने गरेको छ । चिकित्सकले जुन औषधि लेख्यो त्यही औषधि मात्रै विरामीहरुले किन्ने भएकाले औषधि कम्पनीको चलखेलका कारण यस्तो भएको छ । ‘चिकित्सकले कम्पनीको नाम नै लेखेर औषधि किन्न पठाउनु कानुन विपरित हो’ एक क्लिनिक सञ्चालकले वताए । उनले जेनेरिक नाम नै लेखेर दिएपछि औषधि पाउँन सहज हुने समेत वताए । व्रान्ड नेम लेख्ने कारणले गर्दा विरामीहरुले कहिलेकाही औषधि नपाउने सम्भावन समेत हुन्छ ।

धेरै रोगको एउटै औषधि

भारतमा पछिल्लो समय धेरै रोगको एउटै औषधि वन्ने गरेको छ । कतिपय त्यस्ता कम्वाइन औषधि नेपालमा विक्री समेत गर्न पाइदैन । लकडाउनका कारण कतिपय विरामीहरुले औषधि समेत खान सकेका छैनन् । “धेरै रोगको एउटै औषधि नपाइएमा फरक फरक औषधि पनि खान सकिन्छ ” फार्मेसिस्ट मदन गौतमले वताए । उनले विरामीले डाक्टरले लेखेकै औषधि खोजेका कारण समस्या आएको वताउँछन् । कुनै एक व्रान्डको औषधि नपाइएको खण्डमा चिकित्सकले सहजिकरण गरेर अर्को व्रान्डको औषधि रिफर गर्नुपर्ने समेत उनको भनाई छ । “विरामीलाई चिकित्सकले नभन्दा सम्म केही कुरामा पनि विश्वास लाग्दैन ” उनले भने ।

प्रतिक्रिया दिनुहोस