कोरोनाबारे बुझ्‍नैपर्ने यी तथ्यहरु

बैशाख ०५, २०७७

 

 

अहिले संसारभरि कोरोनाको प्रकोप र सँगैसँगै भ्रामक र अपूर्ण समाचारहरूले धेरै जानामा डर र त्रासको वातावरण सिर्जना भएको बुझेर, केही सत्यतथ्य केलाउने प्रयास गरेको छु।

कोरोना भाइरस के हो?

२०१९ अक्टुबरमा चीनको उहानमा निमोनियाको लक्षण भएका बिरामीहरु एकाएक देखिन थाल्यो। विज्ञहरूले ती बिरामीहरू नयाँ कोरोणा भाइरसले संक्रमित भएको शंका गरे। सन् २००३ मा पनि चीनको सानो सहरमा यस्तै लक्षणहरूबाट सुरू भएको सार्स महामारीको रुपमा संसारभरि फैलिएको थियो। अहिले देखिएको नयाँ कोरोना भाइरस र सार्स दुवै उस्तैखाले भाइरस हुन्। सन् १९६५ मा पहिलोपटक फेला परेको कोरोना भाइरस एक प्रकारको आरएनए भाइरस हो र कोरोना भाइरसहरूको समूहमा सार्स, उहान कोरोना भाइरसलगायत धेरै अरू कम घातक भाइरसहरू छन्।

Prabesh 16

कोरोना भाइरस समूहका भाइरसहरू सामान्यतया जनावरहरूमा पाइन्छ, यद्यपि यो समूहका केही सदस्यहरूले मानिसमा पनि संक्रमण गर्ने गर्छ। करिब ३५ प्रतिशत स्वासप्रश्वाससम्बन्धी रोग कोरोना भाइरसका कारण लाग्छन्। कोरोना भाइरसहरू अरू आरएनएभन्दा निकै ठूला र धेरैखाले प्रोटिनहरू बनाउन सक्षम हुन्छन्। यस्तै एउटा प्रोटिन भाइरस वरिपरि चुचो बनेर बसेको हुन्छ, जसको मद्दतमा मान्छे वा अरू जनवारमा प्रवेश गर्छन्। यही चुचोहरूले गर्दा श्रीपेजजस्तो देखिने भएकाले कोरोना भाइरस नाम रहन गएको हो। अहिले देखिएको कोरोना भाइरसलाई वैज्ञानिकहरूले SARS-COV2 अथवा nCOV-2 वा  Wuhan Coranavirus भन्ने गरेका छन्। यो रोगलाई COVID-19 भनिन्छ।

कोरोनाको प्रकोपबाट आफू बच्ने र अरूलाई बचाउने सबैभन्दा सरल र उत्तम उपाए भनेको आफूलाई यो भाइरस लागेको छ भनेर सोच्ने र त्यहीअनुसार सचेत हुनु हो।

कोभिड-१९ र मानिसमा देख्न सकिने असर

उहान कोरोना भाइरसको आरएनए हेर्दा चमेरोमा पहिले देखि नै रहेको अनि चमेरोबाट प्याङगोलिन हुँदै मानिसमा सरेको देखिन्छ। प्याङगोलिन या चमेरो खाएर, यिनको नजिकै आँउदा, अथवा यिनको विष्टा मिसिएको पानी पिएर, सबै प्रकारले मानिसमा संक्रमण भएको हुनसक्छ। कोरोना भाइरसहरू मानिसमा संक्रमण गरेको पहिलोपटक नभए पनि यो भिन्न प्रकृतिको कोरोना भाइरसको संक्रमणको कारण यो भाइरसलाई नोभेल कोरोना भाइरस भन्ने गरेको पनि पाइन्छ। यो भाइरस श्वासप्रश्वासबाट हाम्रो शरीरमा प्रवेश गर्छ। यसको बाहिरी सतहमा हुने चुच्चो प्रोटिन (Spikes) हाम्रो श्वासप्रश्वास प्रणालीको कोषहरूमा रहेको एस २  नामको प्रोटिनमा टाँसिएर कोषभित्र प्रवेश गरी संक्रमणको सुरुवात गर्छ। शरीरमा प्रवेश गरेपछि भाइरसको आरएनए शरीरको कोषमा छिर्छ र भाइरस प्रतिकृति (Replication) भएर नयाँ भाइरसहरू बन्छ, जसले उक्त कोष मार्नुको साथै नयाँ कोषहरूलाई आक्रमण गर्छ। श्वासप्रश्वासमा सामेल हुने अंगहरूमा ACE-2 प्रोटिन बढी हुने हुँदा सबैभन्दा पहिले र बढी यसले श्वास-प्रश्वासमा असर गर्छ। स्वासप्रश्वास सँगैसँगै किड्नी, पाचन प्रणाली र स्नायुमा पनि असर गरेको पाइन्छ। त्यस्तै डाएबिटिज, हाइपरटेन्सन र मुटु रोगीहरूमा यो प्रोटिनको अनुपात बढी हुने गरेको हुँदा संक्रमणको खतरा पनि बढी नै हुने गर्छ।

लक्षण र सावधानीहरू

सामान्य रुघाखोकी, १०० तापक्रम वा बढीको ज्वरो, पिसाबमा रातो रंग (रगत) देखिनु, अरुची र गन्ध छुट्याउन नसक्नु यसको प्रमुख लक्षण हुन्। सबैभन्दा पहिले बुझ्नपर्ने कुरा के छ भने कोरना भाइरस लागेको ९० प्रतिशत बिरामीलाई सामान्य रुघाखोकी, ज्वरो वा केही पनि लक्षण नदेखेरै ठीक हुने गर्छ। कसैलाई यो भाइरसले संक्रमण गरेको छ भने, संक्रमणको केही दिनपछि यथेष्ट मात्रामा भाइरस बन्छ अनि लक्षणहरू देखा पर्न थाल्छन्। संक्रमितको रोगसँग लड्नसक्ने क्षमता राम्रो छ भने कुनै पनि लक्षण नदेखेरै निको हुनसक्छ। यही कारण, यो रोगको प्रकोप बुढापाका र रोग प्रतिरोधक क्षमता कम भएको मानिसहरूमा बढी हुने गर्छ। हामीले एकदमै बुझ्नपर्ने कुराचाहिँ संक्रमितमा कुनै लक्षण नदेखिए पनि उसले शरीरमा भाइरस रहुन्जेल अरू मानिसलाई सजिलै सार्न सक्छ। हालसम्मको तथ्यांकअनुसार एक जना मानिसले लगभग ६ जनालाई यो रोग सार्ने गरेको पाइएको छ।

यसबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको हरेक मान्छेले आफूलाई यो रोग लागेको छ र अरूलाई म यो रोग सार्दिन भनेर सोच्नु नै हो। उचित अनुपातमा जाँच गर्न असम्भवजस्तै भएकाले कसलाई यो रोग छ, कसलाई यो रोग छैन भनेर किटान गर्न नसकिने भएकाले हालः सबै कुरा बन्द गरेर सबै जानालाई आकश्मिक कामबाहेक अरू कुराको निम्ति बाहिर ननिस्कन भनेर सरकारले आदेश दिएको हो। त्यस्तै मास्क लगाउने कि नलगाउने भनेर अनेकन समाचारहरू पनि आएका थिए। हामीले लगाउने सामान्य मास्कले संक्रमणबाट बचाउँदैन, तर पहिले संक्रमितहरूले लगाउँदा अरूमा सर्नसक्ने सम्भावना कम हुनसक्छ। त्यसैले सकेसम्म सबै जानाले मास्क लगाएरमात्रै घरबाट बाहिर निस्कँदा राम्रो हुन्छ।

कोरोना भाइरस टेस्टिङ

कोरोना भाइरसको जाँच अहिलेसम्म दुई प्रकारका छन्- पिसिआर र एनटिबडी। विश्व स्वास्थ्य संगठनले जारी गरेको गाइडलाइनअनुसार पिसिआर (RT-PCR)मार्फत् भाइरसको ३ वटा संरचनात्मक जीन ( 3 structural genes; N, E and S) अनि भाइरसको प्रतिकृतिको (replication) लागि चाहिने आरएनए पोलिमरेज (RNA dependent RNA polymerase) जीनहरू देखियो भने कोरोना भाइरस लागेको छ भन्ने थाह हुन्छ। नेपालमा सुरूमा गरिने टेस्टहरू यस्तै प्रकारका थिए। अहिले र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि पुष्टि गर्न यही प्रविधि प्रयोग गरिरहेको छ। नाकको भित्रबाट स्वाव (Nasal Swab) लिएर गरिने यो टेस्ट भरपर्दो हुन्छ र संक्रमण भएको केही दिनपछि नै भाइरस भएको वा नभएको पत्ता लाग्छ। अहिले संसारभरि यस्तै खालको टेस्ट भइरहेको छ। अमेरिकामा केहीअघि सुरु भएको एब्बोट कम्पनीको र्‍यापिड टेस्ट पनि यस्तै खाले टेस्ट हो।

अर्को रह्यो एन्टिबडी टेस्ट। शरीरमा भाइरस संक्रमण भएपछि शरीरले प्रतिरक्षाको लागि एन्टिबडी बनाउने गर्छ। केही दिनअघि नेपालमा सुरु भएको र्‍यापिड टेस्ट पनि यस्तै खाले एन्टीबडी टेस्ट हो, जसले भाइरसको कारण शरीरमा एन्टिबडी बनेको छ कि छैन भनेर जाँच्ने गर्छ। यो टेस्ट पिसिआरजस्तो भरपर्दो नहुनुका साथै यसले दिने परीणाम बुझ्न पनि जरुरी छ। उहान कोरोना भाइरसको प्रोटिन र अरू कोरोना भाइरसको प्रोटिनहरू उस्तै-उस्तै हुने भएकाले सबैखाले एन्टिबडी टेस्ट भरपर्दो हुँदैन। चीन, कोरियालगायत केही अरू देशहरूमा एन्टिबडी टेस्ट प्रयोग भएको छ भने नेपालमा प्रयोग भइरहेको प्रविधि ८५ प्रतिशत भरपर्दो रहेको विज्ञहरू बताउँछन्।  भाइरल संक्रमणपछि बन्ने एन्टीबडी दुई प्रकारका हुन्छन्- IgG र IgM। IgM संक्रमण भएको केही दिनमा बन्न सुरु हुन्छ र करिब दुई हप्तासम्म रहन्छ। त्यसपछि IgG बन्न सुरू गर्छ। भाइरस शरीरमा छ भने IgM जाँच गरेर थाहा पाउन सकिन्छ। त्यस्तै संक्रमण भएर निको भइसकेको भए IgG देखिन्छ। नेपालमा सुरु भएको र्‍यापिड टेस्टिङले IgM वा IgG के हो भनेर छुट्याउन नसकिने भएकाले, र्‍यापिड टेस्टमा पोजेटिभ देखिए पनि भाइरस छ वा निको भइसक्यो भनेर यकिन गर्न सकिन्न। त्यस्तै यो टेस्टले पि सिआरले जस्तै भाइरस लागेको केही दिनमै पत्ता लागाउन पनि गाह्रो हुन्छ। त्यस्तै IgG ले अरू भाइरस वा अरू जीवाणुबाट लामो समयसम्म सुरक्षा दिने गर्छ, तथापि कोरोणा भाइरस लागेपछि सुरक्षा दिन्छ कि दिँदैन भनेर अहिलेसम्म थाहा छैन। र, ढुक्क हुनपर्ने अवस्था पनि छैन।

 हामी सबैले बुझ्नपर्ने के हो भने यो भाइरस नयाँ हो र यसबारे खोज एकदमै कम छ। जबसम्म सबै कुराको सटिक जानकारी हुँदैन, तबसम्म यस्ता भ्रामक समाचारबारे सचेत रहने र टाढै बस्ने गर्नुपर्छ।

कोरोना भाइरस भ्याक्सिन र दबाइहरू

जब नयाँ-नयाँ रोगहरू देखा पर्छन्, ती रोगहरूलाई निको पार्ने औषधि र रोग लाग्न नदिने भ्याक्सिनहरू बनाउनको लागि सबैजना लागि परेका छन्। अहिले कोरोना भाइरसका लागि पनि औषधि र भ्याक्सिन पत्ता लगाउन धेरै ल्याब र कम्पनीहरू लागिपरेका छन्। तर, भ्याक्सिन र औषधि पत्ता लगाएर बजारमा ल्याउन कम्तिमा पनि १२-१८ महिना लाग्छ। प्रथमतः, ल्याबमा काम गर्ने सबै भ्याक्सिन र औषधि मानिसमा काम नगर्न सक्छ, त्यसका लागि मुसालगायत अरू जनावरमा अनि त्यसपछि सीमित मानिसमा तिनको उपयोगिता जाँच्नपर्ने हुन्छ। त्यसपछि आयो साइड-इफेक्टको कुरा, जुन सीमित मानिसहरूमा जाँच गरेर थाह हुन्छ। यो सबै प्रक्रियालाई फेज ट्रायल भनिन्छ। हरेक नयाँ औषधि र भ्याक्सिनहरू ३ वटा फेज पास गरेपछि मात्रै तयार हुन्छ। अहिले ७० वटा भ्याक्सिन र १६० भन्दा बढी औषधिहरू यस्तै ट्रायलमा छन्। Remdesivir, sarilumab, tocilizumab लगायतले राम्रै आशा देखाइरहेका छन्।

अर्कोतर्फ पहिले प्रयोग भइरहेको औषधि र भ्याक्सिनहरू। फ्रान्सको एउटा ल्याबमा एकदमै कम बिरामीमा गरेको अनुसन्धान र अमेरीकी राष्ट्रपतिले पटक-पटक भन्दै आएको क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइनले राम्रै चर्चा पायो। तर, यसले राम्ररी काम नगरेको, बिरामीहरू मरेको र २५ प्रतिशतभन्दा बढीमा साइडइफेक्ट देखिएको भन्दै युरोपका विभिन्न देश, अस्ट्रेलिया र हालैमात्र ब्राजिलमा यसको प्रयोग बन्द गरिएको छ। अहिले, मलाई थाहा भएसम्म केही Rheumatoid Arthritis का औषधि र संक्रमण भएर ठीक भइसकेका बिरामीको प्लाज्मा (Blood Plasma) को उपयोगितामा शोध भइरहेको छ।

नेपालमा कोरोना भाइरस

नेपालमा कोरोना भाइरसको प्रकोप अरू देशभन्दा एकदमै कम देखिन्छ। तर, जति कम बिरामी देखिन्छन्, त्यही अनुपातमा टेस्टिङ पनि कम भएको छ। छिमेकी देश भारतमा जुन अनुपातमा दिनहुँ कोरोना भाइरसका बिरामी बढिरहेका छन्, खुला सीमानाका कारण नेपालमा पनि त्यस्तै अवस्था आउन धेरै दिन लाग्दैन। केही दिनदेखि बिसिजी खोप लगायो भने कोरोना भाइरस लाग्दैन भन्ने समाचारहरू पनि आइरहेका छन्। बिसीजी खोपको उपयोगिताको बारेमा खोज भइरहेको छ। तर, अहिलेसम्म ठोस केही पनि पत्ता लागिसकेको छैन। त्यस्तै मेथी, बेसार र हामीले खाने मसला वा हिमाल र पृथ्वीमा हाम्रो देशको स्थानले हामीलाई बचाउँछ भन्नेजस्तो भ्रामक समाचारहरूको विगविगी छ। हामी सबैले बुझ्नपर्ने के हो भने यो भाइरस नयाँ हो र यसबारे खोज एकदमै कम छ। जबसम्म सबै कुराको सटिक जानकारी हुँदैन, तबसम्म यस्ता भ्रामक समाचारबारे सचेत रहने र टाढै बस्ने गर्नुपर्छ।

म बसिरहेको अमेरिकामा आजको ठ्याक्कै एक महिनाअघि जम्मा ६ हजार जना संक्रमित थिए भने अहिले त्यो संख्या ६ लाखभन्दा बढी छ र २५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अमेरिकामा पनि नेपालजस्तै लकडाउन छ। केही दिनअघि आएको प्रतिवेदनअनुसार अहिलेजस्तो लकडाउन नगरेको भए कम्तीमा दस लाख मानिसले अमेरिकामा ज्यान गुमाउने थिए।

सरकारले गरेको लकडाउन सबैजनाले मान्ने हो भने त्यस्तो अवस्था अवश्य टार्न सकिन्छ। मैले माथि पनि भनेको छु, कोरोनाको प्रकोपबाट आफू बच्ने र अरूलाई बचाउने सबैभन्दा सरल र उत्तम उपाए भनेको आफूलाई यो भाइरस लागेको छ भनेर सोच्ने र त्यहीअनुसार सचेत हुनु हो।

प्रतिक्रिया दिनुहोस