तुलसीपुर शिक्षा शाखाकाे डिजिटल वैठक, सामाजिक सञ्जाल,टेलिफोन या अनलाईनबाट नतिजा

बैशाख ०४, २०७७

तुलसीपुर । तुलसीपुर शिक्षा शाखाको वैठक सम्पन्न भएको छ । डिजिटल माध्यमबाट भएको वैठकमा संक्रमणको अवस्था र यसपछिका विभिन्न शैक्षिक गतिविधिका वारेमा छलफल भएको शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए ।

वैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरेर विद्यालयहरुले सामाजिक सञ्जाल, टेलिफोन या अनलाइनबाट नतिजा प्रकाशनका लागि निर्देशन दिने निर्णय गरेको छ । “वैशाख १५ गतेभित्र अनिवार्य रुपमा विद्यालयहरुले नतिजा प्रकाशन गर्नुपर्नेछ” समितिको संयोजक देवराज विकले जानकारी दिए ।

नतिजा समयमै प्रकाशन गर्न सकिएन भने त्यसले नयाँ शैक्षिक सत्रलाई असर गर्ने भएकाले यस्तो निर्णय गरिएको पनि संयोजक विकले जानकारी दिए ।

समितिको वैठकले विगतमा जस्तै भर्ना कार्यक्रम अगाडि नवढाएर विद्यालय सञ्चालन र भर्ना कार्यक्रम एकैपटक अगाडि वढाउने निर्णय पनि गरेको छ । “अस्वस्थ प्रतिष्पर्धा नहुने गरी नतिजा प्रकाशन लगत्तै विद्यालयहरुले विभिन्न माध्यमबाट भर्ना प्रक्रिया अगाडि वढाउन सक्नेछन्” संयोजक विकले भने ।

उनले अभिभावकको विद्यालय रोज्ने अधिकारको सबैले ख्याल गर्नुपर्नेमा समेत जोड दिए । विद्यालय सञ्चालन नहुँदासम्म विद्यार्थीलाई घरमै सुरक्षित वातावरणमा राख्नका लागि अनुरोध समेत गरिएको छ ।

वार्षिक शैक्षिक कार्यक्रम अनुसार २१० दिन नै पढाइ हुने वातावरण मिलाउनका लागि लकडाउनको अवस्था हेरेर विभिन्न वार्षिक विदा कटौती गर्ने समेत निर्णय गरिएको छ । “विभिन्न विदा समेत कटौती गर्दा पनि समय नपुगेमा शनिवार लगायत विभिन्न समयमा पनि अध्यापन गराउनुपर्नेछ” शाखा प्रमुख गौतमले वताए ।

वैठकमा नगरप्रमुख घनश्याम पाण्डे, शिक्षा सल्लाहकार शिशिर खनाल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस