२२ अर्ब बढी वैदेशिक ऋण लिने सरकारको निर्णय

चैत १६, २०७६

१६ चैत, काठमाडौं । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई दिइने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाकाअनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको छ ।

यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्राप्त हुने २९ मिलियन अर्थात् तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार गर्ने निर्णय भएको छ ।

यसैगरी, एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए । अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुनेसक्ने स्रोतका लागि पनि पहल गर्ने निर्णय भएको छ ।

राहत प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्न सकिनेछ ।

यस्तै, सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा संस्थानहरुले नै व्यहोर्ने व्यवस्था मिलाइने सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस