तुलसीपुरमा सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरिने, वार्षिक परीक्षा वैशाख २७ गतेदेखि

खबरशाला संवाददाता  |  बैशाख ०४, २०७८


तुलसीपुर । कोरोना संक्रमणको ग्राफ विस्तारै उकालो लाग्न थालेपछी तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग समन्वय वैठक राख्न थालेको छ । यसैबीच शिक्षा क्षेत्रमा के कसरी अगाडी वढ्ने भन्ने बारेमा विभिन्न शैक्षिक संस्था सञ्चालकहरुसँग उपमहानगरपालिकाले शनिवार छलफल गरेको छ ।


नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको छलफलमा सरोकारवालहरुले तत्कालका विद्यालय वन्द गर्न नहुने सुझाव दिएका थिए । परीक्षा नजिकै आउन थालेको भन्दै उनीहरुले स्वास्थ्य मापदण्डको अधिकतम पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तत्काल विद्यालय वन्द नगर्ने वताए । उनले कोभिडको समयमा विद्यालय सञ्चालन सम्बन्धि मापदण्ड वनाइएको वताउँदै त्यसको पालना गरेर कक्षा सञ्चालन गर्नुपर्ने निर्देशन समेत दिए । कोरोना संक्रमणको दर बढेको भएपनि डरलाग्दो अवस्था नभएको भन्दै उनले विद्यालयमा संक्रमणदरलाई मध्यनजर वन्द गर्न सकिने कुरामा पनि जोड दिए ।


‘सबै विद्यालयलाई एउटै ढँगले भन्दा पनि फरक फरक विद्यालयलाई अलग अलग ढँगले मुल्यांकन गरेर वन्द गर्ने योजना रहेको छ ’ नगरप्रमुख पाण्डेले भने । संक्रमणको अवस्था भयावह हुन सक्नेतर्फ लक्षित गर्दै उनले बैशाख २७ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने गरी तयारी गर्न समेत अनुरोध गरे ।


कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले हरेक विद्यालयमा स्वास्थ्य डेस्क राख्नुपर्नेमा जोड दिए । स्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले अवस्था जटिल वन्दै गएको तर विद्यालय अहिले नै वन्द गर्नुपर्ने अवस्था नभएको पनि सुझाए ।


छलफल कार्यक्रममा गुरुजजुर माविका प्रधानाध्यापक विष्णु केसी, महेन्द्र माविका प्रधानाध्यापक जितवहादुर थापा, ग्रेट अरनिकोका विष्णु आचार्य, तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेल लगायतले सुझाव दिएका थिए । शिक्षा सल्लाहकार शिशिर खनालले कोरोको तुलनात्मक अध्ययन कार्यक्रममा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस