मुख्य खबर

देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन आज, देउखुरीमा हुँदै

खबरशाला संवाददाता खबरशाला संवाददाता • ३ घण्टा अगाडि • १७ पटक पढिएको


बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशन सोमबार (मंसिर ७) दाङको भालुवाङमा हुँदै छ । देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

देउवा समूहले मंसिर ५ गते गण्डकी प्रदेशबाट प्रदेश अधिवेशन सुरु गरेको थियो । लुम्बिनी प्रदेश अधिवेशनमा देउवासहित नेताहरू शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, एनपी साउद, प्रकाशशरण महत, मोहन बस्नेतलगायत सहभागी हुने कार्यक्रम रहेको नेता रोज राणाले जानकारी दिए । उनका अनुसार केही नेताहरू दाङ पुगिसकेका छन् ।

अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट २ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका ५२ निर्वाचन क्षेत्रबाट २१ जनाका दरले १ हजार ९२ प्रतिनिधि, प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ९१० प्रतिनिधि सहभागी हुनेछन् । यसका साथै प्रदेशसभा क्षेत्रीय सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, स्थानीय तहका सभापति तथा निर्वाचित प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहनेछ ।

अधिवेशनको उद्घाटनअघि देउखुरीका विभिन्न स्थानबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको छ ।

उद्घाटन सत्र सम्पन्न भएपछि बन्दसत्रमार्फत नयाँ प्रदेश कार्यसमिति चयन गरिनेछ । अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री चयन हुनेछन् ।

देउवा समूहले लुम्बिनीपछि मंसिर १३ गते कर्णाली, १४ गते मधेस, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते वाग्मती प्रदेशको अधिवेशन गर्ने कार्यतालिका बनाएको छ । प्रदेश अधिवेशन सम्पन्न गरेपछि समूहले केन्द्रीय महाधिवेशनको तयारी अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।