नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत आन्तरिक संगठन र सार्वजनिक जीवनमा सुधार गर्ने उद्देश्यसहित १७ वटा क्षेत्र समेटिएको नयाँ राजनीतिक मर्यादा सार्वजनिक गरेको छ। यसमार्फत कांग्रेसले वैचारिक रूपमा आफ्नो राजनीतिक मर्यादा, आचरण र सीमालाई स्पष्ट रूपमा परिभाषित गरेको छ।
नेपाली कांग्रेसले १५औँ महाधिवेशनमार्फत पार्टीको आन्तरिक संगठनदेखि सार्वजनिक जीवनसम्म सुधार गर्ने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषयमा १७ वटा क्षेत्र समेटिएको राजनीतिक मर्यादा सार्वजनिक गरेको छ।
सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समेटिएको उक्त मर्यादाले विगतका राजनीतिक अभ्यासमा देखिएका कमजोरी सुधार गर्दै कांग्रेसलाई नागरिकप्रति जवाफदेही, पारदर्शी र लोकतान्त्रिक मूल्यमा आधारित पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले लोकतान्त्रिक मूल्यका विषयमा मानव अधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा दृढ रहने जनाएको छ। सत्ता, सुविधा वा तत्कालीन राजनीतिक लाभका लागि पार्टीका मूल मूल्यमा सम्झौता नगर्ने उसको प्रतिबद्धता छ।
राजनीतिक सहकार्यका विषयमा स्पष्ट सार्वजनिक उद्देश्य र नीतिगत आधारमा मात्रै अन्य दलसँग सहकार्य गर्ने कांग्रेसले जनाएको छ। पद, प्रभाव वा सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको नाम नदिने पनि उसले स्पष्ट पारेको छ।
निर्वाचनका हकमा कांग्रेसले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने नीति अघि सारेको छ। मतको अंकगणितका लागि पार्टीको मौलिक पहिचानलाई दाउमा नलगाउने उसको प्रतिबद्धता छ।
सार्वजनिक संवादमा तथ्य, तर्क, विकल्प र कामका आधारमा स्वस्थ बहस गर्ने तथा घृणा, गालीगलौज, अपमान, निराशा र सस्तो लोकप्रियतालाई राजनीतिको माध्यम नबनाउने कांग्रेसले जनाएको छ।
राज्यका संस्था बलियो बनाउने नीतिअन्तर्गत अदालत, संवैधानिक निकाय, विश्वविद्यालय र निजामती प्रशासनको स्वतन्त्रता तथा क्षमता सुदृढ गर्ने उल्लेख छ। यस्ता संस्थालाई दलीय भागबन्डा र राजनीतिक हस्तक्षेपको थलो बन्न नदिने कांग्रेसको प्रतिबद्धता छ।
सार्वजनिक नियुक्तिमा समावेशितासहित योग्यता, क्षमता र इमानदारीलाई मुख्य आधार बनाउने तथा संवैधानिक पदमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने प्रस्ताव गरिएको छ। दलगत निकटता, पारिवारिक सम्बन्ध वा दबाबका आधारमा नियुक्ति नगर्ने पनि कांग्रेसले जनाएको छ।
त्यस्तै, सार्वजनिक स्रोतको प्रयोग नागरिक निगरानीमा सार्वजनिक हितका लागि मात्रै गर्ने र दल, गुट वा व्यक्तिको लाभका लागि दुरुपयोग हुन नदिने नीति अघि सारिएको छ। स्वार्थको द्वन्द्व, बिचौलियाको प्रभाव र नीतिगत भ्रष्टाचार नियन्त्रण गर्ने तथा नीतिगत निर्णयका नाममा कसैलाई अनुचित लाभ नदिने कांग्रेसको प्रतिबद्धता छ।
भ्रष्टाचार र न्यायका विषयमा जुनसुकै तहका नेता वा कार्यकर्तामाथि आरोप लागे पनि निष्पक्ष अनुसन्धान हुन दिने कांग्रेसले जनाएको छ। आफ्नै पक्षका व्यक्तिमाथि पनि समान कानुन लागू हुने र पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने स्पष्ट पारिएको छ।
समावेशी अवसरतर्फ महिला, युवा तथा वञ्चित समुदायको नीति र नेतृत्वमा वास्तविक प्रभाव बढाउने कांग्रेसले जनाएको छ। प्रतिनिधित्वलाई केवल संख्यात्मक वा औपचारिकतामा सीमित नगर्ने उसको नीति छ।
पार्टी सदस्यको अधिकारअन्तर्गत नीति, नेतृत्व र उम्मेदवार छनोटमा सदस्यको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उल्लेख छ। सदस्यलाई केवल निर्देशन पालना गर्ने वा निर्वाचनमा मत हाल्ने साधनका रूपमा सीमित नगर्ने कांग्रेसले जनाएको छ।
उम्मेदवार छनोटमा प्राथमिक निर्वाचन, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई आधार बनाउने प्रस्ताव गरिएको छ। पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई उम्मेदवार बन्ने योग्यताको विकल्प बन्न नदिने कांग्रेसको प्रतिबद्धता छ।
पार्टीका घाइते, सहिद तथा योगदानकर्ताको सम्मान गर्दै समान अवसरको संस्कृति विकास गर्ने कांग्रेसले जनाएको छ। पार्टीका पदलाई पारिवारिक उत्तराधिकार वा आफूनिकट व्यक्तिलाई संरक्षण गर्ने माध्यम नबनाउने पनि स्पष्ट पारिएको छ।
असहमति र अनुशासनका विषयमा आलोचना सुन्ने, निष्पक्ष सुनुवाइ गर्ने र गल्ती सच्याउने संस्कार विकास गर्ने कांग्रेसले जनाएको छ। आलोचना वा असहमतिलाई अनुशासनहीनताको रूपमा लिएर आलोचकप्रति शत्रुवत व्यवहार नगर्ने नीति अघि सारिएको छ।
अधिवेशन र सदस्यतामा नियमित अधिवेशन, विश्वसनीय अभिलेख र स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्ने उल्लेख छ। महाधिवेशन सार्न वा निर्वाचन परिणाम प्रभावित पार्न अन्तिम समयमा सदस्यता वितरणसम्बन्धी नियम परिवर्तन नगर्ने कांग्रेसले जनाएको छ।
पार्टीको वित्तीय पारदर्शिताका लागि सहयोगका स्रोत, आय–व्यय र लेखापरीक्षण सार्वजनिक गर्ने तथा आर्थिक सहयोगको बदलामा निर्णय, ठेक्का वा नियुक्तिमार्फत अनुचित लाभ नदिने प्रतिबद्धता व्यक्त गरिएको छ।
त्यसैगरी, पार्टीभित्र जिम्मेवारी र मूल्याङ्कनको आधार समुदायमा गरिएको काम, सार्वजनिक उत्तरदायित्व र प्राप्त परिणामलाई बनाउने कांग्रेसले जनाएको छ। सस्तो प्रचार, व्यक्तिगत छवि वा गुटको सेवाका आधारमा वास्तविक योगदानलाई ओझेलमा पार्ने प्रवृत्तिलाई अस्वीकार गर्ने राजनीतिक मर्यादामा उल्लेख छ।
लोकप्रिय खबर
लोकप्रिय मेयर प्रकाश भण्डारी : कर्णालीबाट केन्द्रीय नेतृत्वको यात्रामा
कांग्रेसमा २९७ सदस्यीय केन्द्रीय समिति हुने
पत्रपत्रिकामा किन राख्नु हुँदैन समोसा, पकौडा लगायतका खानेकुरा
मन्त्रीपरिषद्को बैठकले गरेका पाँच निर्णयहरु
विभिन्न भूभागमा वर्षाको सम्भावना
दाङमा अटो र बस ठोक्किदा दुईको मृत्यु






प्रतिक्रिया दिनुहोस्
यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।
आफ्नो प्रतिक्रिया लेख्नुहोस्