काठमाडौं । संघीय संसद्को चालु बजेट अधिवेशन आगामी दसैँसम्म सञ्चालन हुने भएको छ। सरकारले यस अवधिमा ठूलो संख्यामा विधेयक अघि बढाउने तयारी गरेसँगै संसद्मा कानुन निर्माणलाई प्राथमिकतामा राखिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कार्यव्यवस्था परामर्श समिति बैठकमा सांसदहरूलाई प्रभावकारी रूपमा कानुन निर्माणमा सक्रिय हुन आग्रह गरिन्। उनले संसद्को बैठक दसैँअघिसम्म नियमित रूपमा सञ्चालन हुने र विधेयकको अभाव नरहेको बताइन्।
मन्त्री गौतमका अनुसार हालसम्म ९ वटा विधेयक संसद्मा दर्ता भइसकेका छन् भने सरकारले थप १५ देखि २० वटा विधेयक ल्याउने तयारी गरेको छ। सरकारको लक्ष्य करिब ३० वटा विधेयक अघि बढाउने रहेको उनले जानकारी दिइन्।
यसैबीच, कार्यव्यवस्था परामर्श समितिले साउन १४ गतेदेखि भदौ १० गतेसम्मको संसद् बैठकको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन।
संसद् सचिवालयका अनुसार भदौ १० गतेसम्म ९ वटा विधेयकमाथि काम गर्ने योजना छ। यस अवधिमा सम्बन्धित मन्त्रीहरूले विधेयकमाथिको जवाफ दिने, दुई वटा विधेयक पारित गर्ने, अन्य विधेयकलाई संसदीय समितिमा पठाउने तथा केही सन्धि–सम्झौताहरू संसद्मा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्