ब्रेकिङ्ग खबर

निर्वाचनपूर्व गठबन्धन नगर्ने कांग्रेसको नीति, ‘रुख’मै चुनाव लड्ने संकल्प

KhabarShala खबरशाला संवाददाता • १२ घण्टा अगाडि • ७ पटक पढिएको

१९ असोज,काठमाडौं नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै चुनाव चिह्न ‘रुख’मा उम्मेदवार उठाउने नीति अघि सारेको छ।

काठमाडौंमा जारी पार्टीको १५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा कांग्रेसले आफ्नै उम्मेदवार, कार्यक्रम र चुनाव चिह्नसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएको हो।

विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष निकाल्दै कांग्रेसले अब आफ्नै संगठन र कार्यक्रमका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने नीति लिएको हो। प्रस्तावमा निर्वाचनपूर्व गठबन्धन नगरी ‘रुख’ चिह्नमा आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीले राजनीतिक मर्यादाअन्तर्गत पनि निर्वाचनपूर्व गठबन्धन र मतको अंकगणितमा आफ्नो राजनीतिक पहिचान निर्भर नबनाउने स्पष्ट पारेको छ। आफ्नै चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै चुनाव जित्न योग्य पार्टीका रूपमा स्थापित हुने कांग्रेसको लक्ष्य छ।

सत्ताका लागि भागबन्डा नगर्ने

कांग्रेसले राष्ट्रिय मुद्दामा अन्य राजनीतिक दलसँग आवश्यक सहकार्य गर्ने तर त्यसलाई सत्ता वा पदको भागबन्डामा परिणत नगर्ने नीति पनि अघि सारेको छ।

संविधानको रक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा, न्याय तथा सार्वजनिक हितका विषयमा अन्य दलसँग सहकार्य गर्न सकिने प्रस्तावमा उल्लेख छ। तर यस्तो सहकार्यलाई सत्ता, संस्था, पद वा सुविधाको लेनदेनमा परिणत हुन नदिने कांग्रेसले जनाएको छ।

‘नो भोट’ र विदेशबाट मतदानको प्रस्ताव

निर्वाचन प्रणाली सुधारका लागि कांग्रेसले ‘नो भोट’ अर्थात् कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्पबारे सार्वजनिक बहस अघि बढाउने प्रस्ताव गरेको छ।

त्यस्तै, निर्वाचनलाई स्वच्छ, पारदर्शी र कम खर्चिलो बनाउने तथा विदेशमा रहेका वा आफ्नो स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकलाई मतदानको पहुँच सुनिश्चित गर्ने विषयमा सुधार अघि बढाउने प्रस्तावमा उल्लेख छ।

कांग्रेसले घुम्ती आरक्षित निर्वाचन क्षेत्र तथा प्रतिनिधित्व प्रणालीमा सुधारका विषयलाई समेत सार्वजनिक बहसमा लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

० वटा प्रतिक्रिया

यस खबरमा अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया लेख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

मोबाइल नम्बर एडमिनलाई मात्र देखिनेछ।