तुलसीपुरमा छात्रालाई निशुल्क प्राविधिक शिक्षा

खबरशाला संवाददाता  |  श्रावण ०६, २०७८


तुलसीपुर । प्राविधिक शिक्षाको विकास विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले यहाँका छात्राहरुलाई निशुल्क प्राविधिक विषय पढाउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले छात्राहरुलाई प्राविधिक शिक्षाको अवसर प्रदान गर्नका लागि बजेट समेत विनियोजन गरेको बताए ।


तुलसीपुरका विभिन्न विद्यालयमा प्राविधिक शिक्षा अध्यापन हुने गरेपनि छात्राहरुको संख्या न्युन भएका कारण यस्तो गरिएको पनि उनले वताए । “अहिलेको माग भनेको प्राविधिक विषय हो त्यसकारणले गर्दा पनि हामी सबैले प्राविधिक विषयमा जोड दिनुपर्दछ” पाण्डेले भने ।


उनले सामुदायिक विद्यालयबाट एसइइ गरेका छात्राहरुलाई तुलसीपुर बहुप्राविधिक शिक्षालय लगायतका अन्य प्राविधिक विषय सञ्चालन गरेका सामुदायिक विद्यालयमा निशुल्क अध्ययनको व्यवस्था गरिएको पनि जानकारी दिए । “डिप्लोमा तहमा पढ्न चाहने छात्राहरुले कुनै पनि शुल्क तिर्नुपर्ने हुँदैन” उनले भने ।


“हाम्रो पहलमा यहाँ प्राविधिक विषयका शिक्षालयहरु स्थापना गरेका छौ, अब छात्राहरुलाई त्यसतर्फ आकर्षित गर्नुपर्ने भएको छ ” नगरप्रमुख पाण्डेले भने । उपमहानगरपालिकाले प्राविधिक विषय अध्ययन गराउनका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको छ भने अन्य सामुदायिक विद्यालयहरुमा पनि प्राविधिक विषय सञ्चालनका लागि सहयोग गरेको छ ।


स्थानीय सरकारको पहलमा घर आँगनमै न्युनतम शुल्कमा प्राविधिक विषय अध्ययन गराउने शिक्षालयहरु सञ्चालनमा रहेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले वताए ।


उपमहानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि छात्रालाई निशुल्क पढाउने गरी नीति र बजेट समेत ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस