थाइराइडका बिरामीले औषधि खाँदा यी कुरामा ध्यान दिनुस्

डा अनिल यादव  |  जेठ ०, २०७८

डा अनिल यादव

थाइराइड घाँटीको पछाडि पुतलीको आकारमा रहेको ग्रन्थि हो। यो ग्रन्थिबाट थाइरोक्जिन हर्मोन निस्कन्छ। थाइरोइडले उत्पादन गर्ने हर्मोन शरीरलाई आवश्यक हुन्छ। हाम्रो शरीरको चयापचय (मेटाबोलिज्म) का लागि यसको आवश्यकता पर्छ। थाइराइडमा कम हर्मोन उत्पादन भएर आउने समस्यालाई ‘हाइपोथाइरोआइडिज्म’ भनिन्छ। हाइपोथाइरोआइडिज्म भएको व्यक्तिलाई थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन) औषधिको प्रयोग हुने गर्दछ।

थाइराइडको औषधि (लेभोथाइरोक्सिन) प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू:
•    थाइराइडको समस्या भएका व्यक्तिहरूले खाने औषधि थाइरोक्जिन हर्मोन वा ‘लेभोथाइरोक्सिन’ हो। यो आजीवन खाने औषधि हो।
•    थाइराइड हर्मोनको प्रयोगशाला रिपोर्ट सामान्य भएपछि पनि खाइरहेको औषधिको मात्रा चिकित्सकको परामर्श बिना रोक्नु वा घटाउनु हुँदैन।
•    थाइराइडका साथै अन्य औषधि सुरू गर्नुपर्ने वा परिवर्तन गर्नुपर्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ। 
गर्भावस्था भएमा
•    थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन) औषधि गर्भवती, गर्भको बच्चा, सुत्केरी र नवजात शिशुलाई हानीकारक नहुने भएकाले यो औषधि गर्भावस्था वा सुत्केरी अवस्थामा रोक्नु हुँदैन।
•    गर्भवती भएको पुष्टि हुनासाथ नियमित खाइरहेको थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन)को मात्रा हप्तामा २ ट्याबलेट थप गर्नुपर्छ।
•    गर्भवती भएको थाहा पाउने बित्तिकै उपचार गराइरहेको चिकित्सक (हार्मोन विशेषज्ञ)को परामर्श लिनु आवश्यक हुन्छ। 


हाइपोथाइरोआइडिज्म डाइट : के खानपानले यो समस्या सुल्झाउन सकिन्छ?

•    साधारणतया हाइपोथाइरोआइडिज्म रोगको लागि कुनै विशेष आहार हुँदैन।
•    खानपानका कारण थाइराइडको मात्रामा घटबढ भएको प्रमाण हालसम्म फेला परेको छैन। यद्यपि सामान्य थाइराइडका लागि आयोडिनयुक्त आहारव्यवहार आवश्यक हुन्छ।
•    थाइरोइडका अधिकांश बिरामीले आराम गर्ने, बन्दागोभी, फूलगोभी र सोयाबिनका उत्पादन खान सक्दछन्। तर थाइरोक्जिन हर्मोन (लेभोथाइरोक्सिन) औषधि खाएको १ घण्टापछि मात्र ओखर, भटमास,  प्रोटिनयुक्त खाने कुरा खान सकिन्छ। यो औषधि लिएको ४ घण्टापछि क्याल्सियम, आइरन चक्की तथा आइरन चक्की भएको भिटामिन, ग्यास्ट्रिक समस्यामा प्रयोग हुने एन्टासिड, सुक्रल्फेटजस्ता औषधि खान सकिन्छ।

थाइरोक्जिन हर्मोन सेवन गर्ने तरिका
•    बोतल खोल्नुअघि आफ्नो हात सुक्खा गर्नुहोस्।
•    ट्याबलेटलाई सिधा स्पर्श नगरी बोतलको बिर्कोबाट लिने प्रयास गर्नुहोस्।
•    ट्याब्लेटलाई पानीसँग सेवन गर्नुहोस्।

थाइरोक्जिन हर्मोन औषधि खाने समय
•    बिहानको खाजा खानुभन्दा एक घण्टा अगाडि

औषधि खान बिर्सिदा
•    थाइरोक्सिनको एक मात्रा खान बिर्सिनु भएको छ भने सम्झिने बितिकै औषधि सेवन गर्नुहोस् तर खाना खानुभन्दा १-२ घण्टा अगाडि वा पछाडि मात्र यो औषधि सेवन गर्नुपर्ने हुन्छ। 
•    यदि अघिल्लो दिनको मात्रा छुटेको छ भने अर्को दिन दुई वटा औषधि खान सकिन्छ।

औषधिको भण्डारण र हेरचाह
•    थाइरोक्सिनलाई चिसो (२०-२५ डिग्री सेन्टिग्रेड) र अँध्यारो स्थानमा राख्नुहोस्।
•    थाइरोक्सिनलाई भान्साकोठा, बाथरूम जस्ता आर्द्रता र अत्यधिक तापक्रम भएको स्थानमा नराख्नुहोस्।
•    तपाईंले उपचार गराएको डाक्टरको सल्लाहबिना थाइरोक्सिनको ब्रान्ड परिवर्तन नगर्नुहोस्।
•    औषधिको रङ परिवर्तन भएमा वा म्याद सकिएमा औषधि सेवन नगर्नुहोस्। 

अनुगमन
•    हार्मोन विशेषज्ञ चिकित्सकले सिफारिस गरेको समयमा नियमित थाइरोइडको परीक्षण गर्नुहोस्।
•    थाइरोइड परीक्षण गरेको दिन रगत दिएपछि मात्र थाइरोक्सिन सेवन गर्नुहोस्।
बिरामी भएको बेला पनि थाइरोक्सिन सेवन गर्न नबिर्सनुहोस्।
यात्रा गर्दा थाइरोक्सिन बोक्न तथा सेवन गर्नु नबिर्सनुहोस्।

(मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा यादव विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन्)

प्रतिक्रिया दिनुहोस