अक्सिजन प्लान्ट खरिद अनियमितता, प्रदेश लेखा समितिले दियाे चासाे

खबरशाला संवाददाता  |  जेठ ०५, २०७८

सल्यान । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सल्यान जिल्ला अस्पतालसँग ३ दिनभित्र खरिदसम्बन्धी कागजपत्र मागेको छ ।

सामाजिक विकास मन्त्रालयले सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न भनी विनियोजन गरेको बजेटबाट अक्सिजन कन्सट्रेटर खरिद गरेपछि जताततै टिप्पणी बढेपछि संसदीय समितिले चासो देखाएको हो । समितिका सचिव उपेन्द्रकुमार गुरुङका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण मन्त्रालयसँग मागिएको छ ।

‘हामीले सल्यान अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद सम्बन्धी कागजात पनि समितिमा तीन दिनभित्र पठाउन पत्र काटेका छौं’, गुरुङले भने ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतको ड्रागन मेडिकल प्रालिले ३८ लाख ९९ हजारमा सो कामको जिम्मा पाएको थियो । तर, अक्सिजन प्लान्ट जडानको जिम्मेवारी पाएको कम्पनीले झुक्याएर ल्याएको अक्सिजन कन्सन्ट्रेटर मेसिनको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी र सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडाले जेठ १ गते संयुक्त उद्घाटन गरेका थिए ।

जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन प्लान्ट अक्सिजन कन्सन्ट्रेटर मेसिन भएको भन्दै चिकित्सकसहित केही अगुवा र सरोकारवालाले सामाजिक संजालमा विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस