प्रहरीको प्रारम्भिक निष्कर्ष- लक भएपछि निसास्सिएर मृत्यु भयो

खबरशाला संवाददाता  |  बैशाख १, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करणकाे ढाेका लक भएपछी निसास्सिएर मृत्यु भएकाे प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेकाे छ ।  मृतकमध्ये सन्देशको गोजीमा तास फेला परेकाले तास खेल्न कारभित्र पस्दा ढोका लक भएको र निसास्सिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

मृत फेला परेका बालकहरू १६ वैशाखदेखि हराइरहेका थिए । १७ वैशाखमा बालकहरूको खोजी गरिदिन इलाका प्रहरी कार्यालय तुलसीपुरमा उनीहरूका अभिभावकले निवेदन दिएका थिए । १८ वैशाखमा बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीयवासी नजिकै गएर हेर्दा लक गरिएको गाडीभित्र उनीहरूको शव भेटिएको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

कारमा केही समस्या देखिएपछि लामो समयदेखि पार्किङमै छाडेको बयान चालकले दिएका छन् । कार पार्किङ गरिएको स्थान र बालकको घरको करिब साढे एक किलोमिटरको दूरीमा छ । स्याउली बजार नजिक भारतीय नम्बर प्लेट जे ०१६६०८८५ निशान कारभित्र शनिबार साँझ तीन बालकको शव भेटिएको थियो । उनीहरू पार्किङ गरेर राखेको कारमा तास खेल्न पसेको हुन सक्ने एसपी चन्दको आशंका छ ।

‘तास खेल्न कारभित्र पस्दा लक भएपछि निसास्सिएर ज्यान गएको हुनसक्छ । हामी अनुसन्‍धानमै छौँ,’ उनले भने ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न शनिबार साँझ नै नेपालगञ्जबाट तालिम प्राप्त कुकुरसहितको प्रहरीको विशेषज्ञ टोली लगेको थियो । भारतीय नम्बरको सो गाडी २०७६ चैतमा तुलसीपुर-६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत १ माघदेखि पार्किङमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले गाडी धनी यादवप्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूसँग सोधपुछ गरेको छ । ‘कारको ढोका रिमोटबाट लक हुन्छ । कुनै ढोका खुल्दै रहेको हुनसक्ने र उनीहरू भित्र पसेपछि ढोका लक हुँदा नखुलेकाले भित्रै फसेको हुनसक्छन्,’ चाकलले बयान दिएका थिए ।

मृत बालकहरुको पोष्टमार्टम हुन बाँकी छ ।  दाङको राप्ती अस्पतालमा डाक्टर नभएपछि पोष्टमार्टम गर्न प्रहरीले बुटवलको फरेन्सिक डाक्टर बोलाइएको छ । मृतकका परिवारले भने हत्या भएको भन्दै अनुसन्धानको माग गरेपनि प्रहरीले भने हत्या जस्तो नदेखिएको दाबी गरेको  छ ।

प्रतिक्रिया दिनुहोस