युट्युव च्यानलबाट यसरी हुन्छ आम्दानी

खबरशाला संवाददाता  |  बैशाख १७, २०७८

काठमाडाैं । सन् २००४ मा च्याड हर्ले, स्टिभ चेन र जावेद करिमलाई एउटा डिनर पार्टीमा गएको बेला अहिलेको युट्युवबारे सोच पलाएको थियो । त्यसको एक वर्षपछि अर्थात सन् २००५ फेब्रुअरी १४ भ्यालेन्टाइन डे को दिन यसको लोगो, ट्रेडमार्क र डोमेन दर्ता भएको थियो ।

पहिलो पटक ‘मि एट दी जु’ नामक १९ सेकेन्डको भिडियो अपलोड भएको युट्युवमा आज प्रतिमिनेट तीन सय घण्टाको भिडियो अपलोड हुने गरेको छ भने, यसको मासिक प्रयोगकर्ताको संख्या एक अर्ब ९० करोडको हाराहारी छ ।

अहिले प्रत्येक दिन पाँच अर्ब भिडियो युट्युवमा हेरिने गरेको तथ्याङ्कले देखाएको छ । जुन रुपले यसको विकास र प्रयोग भएको छ, त्यसैको प्रतिफल आज यो लाखौंका लागि आम्दानीको स्रोत पनि बन्दै गएको छ ।

अहिले विश्वमा युट्युवबाटै करोडौं कमाउने मानिस पनि छन् । नेपालमा पनि पछिल्लो समय युट्युव च्यानल सञ्चालन गर्नेहरूको संख्या बढ्दै गएको छ । नेपालमा पनि दैनिक लाखौं आम्दानी गर्ने युट्युव च्यानल छन् ।

युट्युवबाट बसी–बसी मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने कुरा नेपालमा थारैलाई मात्र थाहा छ । तर यसलाई हामीले प्रयोगमा ल्याउने हो र युट्युवले तोकेका केही नियमलाई पालन गर्ने हो भने घर बसी–बसी राम्रो कमाइ गर्ने अवसरको रुपमा सदुपयोग गर्न पनि सक्छौं ।

नेपालमा अहिले गीत गाएर, जानकारीमूलक सामग्री अनि कसैले हास्यव्यंग्यात्मक भिडियो राखेर च्यानल सञ्चालन गर्दै आएका छन् । यसबाट उनिहरुले राम्रो आम्दानी पनि गरिरहेका छन् ।

आम्दानी गर्ने तरिका

युट्युवबाट आम्दानीका लागि सर्वप्रथम तपाईंसँग एउटा जीमेल अकाउण्ट आवश्यक हुन्छ । त्यही जीमेल अकाउण्टबाट तपाईंले युट्युव च्यानल बनाउन सक्नुहुन्छ ।

त्यही युट्युव तपाईंका लागि आम्दानीको मुख्य श्रोत बन्न सक्छ । यसका लागि सुरुमा युट्युवमा गएर नयाँ च्यानल बनाउनुहोस् र उक्त च्यानलमा तपाईं आफैले बनाएका भिडियो राख्नुहोस् ।

अरुका भिडियो चोेरेर राखेमा तपाई प्रतिलिपि अधिकारसम्बन्धी कारबाहीमा पर्न पनि सक्नुहुन्छ । त्यस्ता भिडियो युट्युव आफैंले हटाउँछ । त्यसैले भिडियो हाल्दा यस्ता कुराको ख्याल राख्न जरुरी छ ।

अर्को कुरा तपाईको भिडियो नै तपाईको आम्दानीको मूख्य श्रोत भएकाले भिडियो बनाउँदा दर्शकको रुचिलाई ध्यान दिन जरुरी हुन्छ ।

दर्शक के चाहन्छन्, समयको माग के छ, कुन विषयमा आफ्नो रुची छ र के कुराले दर्शकलाई आकर्षित गर्न सकिन्छ भन्ने विचार गरी भिडियो बनाउँदा राम्रो हुन्छ ।

साथै त्यसलाई निरन्तरता दिन पनि उत्तिकै जरुरी हुन्छ । किनभने जति तपाई इंगेज हुनुहुन्छ त्यती तपाईको दर्शक बढ्दै जान्छन् । त्यसपछि युट्युवले तपाईको च्यानललाई मोनिटाईज गर्छ ।

मनिटाइजका लागि पनि युट्युवले केही नियम तोकेको छ । अहिले गुगलले युट्युव पार्टनर प्रोग्राममा केही कडा नियम ल्याएको छ । नियम अनुसार गुगलले केही थ्रेसहोल्ड कायम गरेको छ ।

यस अनुसार च्यानल मोनेटाईज हुन् अब कुनै पनि युट्युव च्यानलमा एक हजार सब्सक्राईबर र १० हजार भ्युजसँगै १२ महिनामा चार हजार घण्टाको भ्युज हुनेपर्ने नियम बनाएको छ ।

च्यानलमा एक हजार सब्सक्राईबर, १० हजार भ्युजसँगै १२ महिनामा ४ हजार घण्टाको भ्युज भएपछि मात्रै युट्युवले तपाईंको च्यानललाई मनिटाइज गर्छ । उसले भिडियो आफ्नो नीतिअन्तर्गत छ कि छैन भन्ने कुराको जाँच गर्छ ।

यदि सबै कुरा ठिक छ भनेमात्र तपाईं युट्युव पार्टनर बन्नुहुनेछ । त्यसका लागि तपाईं युट्युव पार्टनर प्रोग्रामसँग जोडिन भने आवश्यक छ । त्यसपछि तपाईंका भिडियोहरूमा विज्ञापन आउन थाल्नेछन्  । भिडियोमा आउने विज्ञापन नै युट्युव च्यानलको सबैभन्दा राम्रो आम्दानीको स्रोत हो ।

युट्युव च्यानल सेटअप

आफूले बनाएको भिडियो कम्तिमा १० हजार भ्युज पुगेपछि तपाईंले युट्युव पार्टनर प्रोग्राममा जोडिन आवेदन दिनुपर्छ । युट्युव पार्टनर प्रोग्राममा हाल नेपाल पनि जाेडिएकाे छ ।

आवेदन दिदाँ च्यानल लोकेसनमा युट्युव पार्टनर प्रोग्राम हुने उपयुक्त देश छान्नुपर्ने हुन्छ । त्यसपछि विज्ञापन आएर मनिटाइज भएको भिडियोबाट कमाउन युट्युव च्यानललाई एडसेन्स अकाउन्टसँग कनेक्ट गराउनुपर्छ ।

त्यसश्चात ‘मनिटाइज विथ एड’ छानेर कस्तो प्रकारको विज्ञापन राख्ने हो आफैले छान्न सकिन्छ । यसका लागि भिडियो म्यानेजरको युट्युव स्टुडियो एपमा जानुपर्ने हुन्छ ।

भिडियो छनोट

युट्युवमा भिडियो हाल्ने भन्ने बित्तिकै जस्ता पनि भिडियो राख्न मिल्ने होइन । पछिल्लो समय कसैलाई गाली गलौज तथा अश्लिल भिडियो हालेर दर्शक तान्ने युट्युव च्यानल पनि छन् । उनिहरुले केही मात्रामा पैसा कमाएका होलान् ।

तर त्यसले निरन्तरता पाउन भने सक्दैन । निरन्तरताका लागि तपाईंले कुनै एक विषलाई छानेर त्यसैमा आधारित भएर भिडियो बनाउने हो भने तपाईंका दर्शक पनि थपिदै जानेछन् । तपाईको निरन्तरताले दर्शकलाई विश्वाश दिलाउन सक्नुपर्ने हुन्छ ।

अर्को भनेको जल्दोबल्दो विषयमा रहेर भिडियो बनाउने हो । जसले प्रयोगकर्तालाई आकर्षित गर्न सक्छ । जानकारीमूलक च्यानल पनि युट्युवमा चलेका छन् । सबैभन्दा महत्वपुर्ण कुरा तपाईंले विदेशी दर्शकलाई समेत लक्षित गरेर भिडियो बनाउनु भयो भने त्यो सबैभन्दा बढी उपयुक्त हुन्छ ।

किनभने, नेपालका प्रयोगकर्ता भन्दा अरू देशमा बस्ने प्रयोगकर्ताले भिडियो हेर्दा बढी आम्दानी हुन्छ । युट्युव भिडियोमा राखीएको बिज्ञापन पनि नेपालमा भन्दा विदेशमा क्लिक भएमा बढी पैसा आउने भएकाले विदेशी दर्शकलाई समेत हुने खालको भिडियो बनाउँदा राम्रो हुन्छ ।

नेपालमा एक क्लिक हुँदा एक आउँछ भने विदेशबाट त्यही कुरा क्लिक भएको खण्डमा ५ देखी २५ डलर सम्म पाउन सक्नुहुन्छ ।

दर्शक बढाउने तरिका

दर्शक भनेको तपाईंको आम्दानी हो । त्यसैले दर्शक बढाउन पहिलो विषय आकर्षक भिडियो नै हो । त्यो सँगसँगै तपाईंले भिडियो अपलोड गर्दा दर्शकले खोज्दा सहज रूपमा भेट्ने गरी अपलोड गर्नुपर्छ ।

तपाईको भिडियो दर्शकले खोज्दा कस्ता कीवर्ड प्रयोग गर्न सक्छन् भनेर त्यसको ख्याल गरेर सकेसम्म घेरै कीवर्ड राख्दा उपयुक्त हुन्छ । त्यसका लागि त्यहीअनुसार भिडियोको टाइटल र डिस्क्रिप्सन राख्दा दर्शकले चाँडै भिडियो फेला पार्न सक्छन् ।

अर्को भिडियोको थम्बनेल पनि उत्तिकै महत्वपुर्ण हुन्छ । युट्युवमा भिडियो राख्दा आकर्षक शीर्षकका साथै भिडियोको सूरुमा देखिने तस्वीर अर्थात थम्बनेल आकर्षक हुँदा दर्शक भिडियोमा क्लिक गर्न बाध्य हुन्छन् । टेकपानाबाट

प्रतिक्रिया दिनुहोस