टिकटकले हटायो ९ करोड भिडियो

फागुन १८, २०७७

काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म टिकटकले भर्खरैमात्र ट्रान्सप्यारेन्सी रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोर्टअनुसार टिकटकले सन् २०२० को पछिल्लो ६ महिनामा कुल ८९.१३ मिलियन अर्थात् ८ करोड ९१ लाख ३० हजारभन्दा बढी भिडियो हटाएको छ ।

यसमध्ये सबैभन्दा धेरै ११.७८ मिलियन अर्थात १ करोड १७ लाख ८० हजार भिडियो अमेरिकी प्रयोगकर्ताको रहेको छ । त्यसमध्ये पनि ८३.३ प्रतिशत भिडियो प्रयोगकर्ताले हाल्ने बित्तिकै हटाइएको छ । यसको अर्थ कसैले हेर्न नै नपाई भिडियो हटाइएका छन् ।

कम्पनीको कम्युनिटी गाइडलाइन्स तथा सेवा सर्तहरु उल्लंघन गरिएकाले यसरी भिडियो हटाइएको कम्पनीले जनाएको छ । जसमा बालबालिकालाई हानी पुर्‍याउने, हिंसात्मक, अवैध गतिविधि, आत्महत्या, भ्रमपूर्ण सामग्री लगायतका भिडियो समेटिएका छन् ।

कम्पनीका अनुसार त्यसरी हटाइएका भिडियोमध्ये ९२.४ प्रतिशत प्रयोगकर्ताले उजुरी दिनुअघि नै हटाइएका थिए । भने, ९३.५ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै हटाइएका थिए ।

उक्त अवधिमा कम्पनीले झन्डै ६१ लाख ४० हजार टिकटक अकाउन्ट बन्द गरेको जनाएको छ । त्यस्तै ९५ लाख स्पाम अकाउन्ट हटाइएको छ । जसमा ५२ लाख ३० हजार भिडियो समेत रहेका थिए ।

कम्पनीका अनुसार उक्त ६ महिनाको अवधिमा कम्पनीको विज्ञापन नीति उल्लंघन गरेको भन्दै ३.५ मिलियन विज्ञापन रद्ध गरिएको छ ।

भिडियो हटाइने देशमा दोस्रो नम्बरमा पाकिस्तान परेको छ । पाकिस्तानका प्रयोगकर्ताको ८२ लाख २० हजार भिडियो हटाइएको छ । भने, तेस्रो नम्बरमा रहेको ब्राजिलका प्रयोगकर्ताको कुल ७५ लाख १० हजार भिडियो हटाइएको उल्लेख छ ।

त्यस्तै रसियाबाट ४७ लाख ५० हजार भिडियो हटाइएकाे छ । कम्पनीका अनुसार रसियाको सरकार भिडियो हटाउन सबैभन्दा बढी निवेदन दिनेमा पहिलो स्थानमा रहेको छ ।

उक्त ६ महिनाको अवधिमा रसियाले कम्पनीलाई कुल १ सय ३५ भिडियो हटाउन निवेदन दिएको थियो । भने, पाकिस्तानले ९७ र अस्ट्रेलियाले ३२ वटा निवेदन दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस