कक्षा ११ : के पढ्ने ? भगवान भराेसा

पुष २२, २०७७

काठमाडौं : पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन ।

पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६’ स्वीकृत गरेर चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू गरेको थियो । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तकसमेत तयारी गरेर विद्यार्थीको हातहातमा पुस्तक पुग्न लाग्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि पढाइ सञ्चालन हुनसकेको छैन । भगवता अर्यालले गत असोज २८ मा संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै रिट दर्ता गरेका थिए ।

रिटमाथि सुनवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ‘पाठ्यक्रम प्रारूप कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू’ भनी अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि चारपटक तोकिँदासमेत फैसला हुनसकेको छैन । अब फैसलाको पेसी पुस २७ लाई तोकिएको छ । 

अब पनि तोकिएकै मितिमा फैसला हुने अन्योल छ । यसैले विद्यालयहरूले नयाँ वा पुरानो पाठ्यक्रम पढ्ने टुङ्गो छैन । ‘अहिले त विद्यालय गयो/आयो मै बित्दैछ । सामान्य पढाइ हुन्छ तर कोर्ष फेरिएमा के गर्ने भन्ने लाग्छ, पढ्न मन लाग्दैन”, दाङ सदरमुकामको कक्षा–११ मा पढ्ने एक विद्यार्थीले भने,’नपढेर पनि सुख छैन । जेठमा परीक्षा हुने कुरा छ । पढौँ कोर्ष निश्चित छैन ।’ 

त्यसो त यसको असर विद्यार्थीलाई मात्र नभई अभिभावक र शिक्षकलाई पनि उस्तै परेको छ । एकातिर कोरोना महामारीले कतिपय विद्यार्थी भर्ना हुनसकेका छैनन् भने भर्ना भएका विद्यार्थीका लागि पनि पढ्ने वातावरण छैन । पाठ्यक्रम निर्माणको प्रारम्भिक चरणदेखि नै गणितलाई अनिवार्य विषयका रूपमा समेटिनुपर्ने माग थियो । अदालतमा विचाराधीन मुद्दामा पनि यो माग गरिएको छ ।

अन्योलको विषय भएकाले पढाउन अत्यन्तै असहज भएको ज्ञानज्याेति माध्यमिक विद्यालयका शिक्षक शरद गाैतम बताउँछन् । नयाँ र पुरानो दुवै पाठ्यक्रम पढाउन अन्योलमा रहेकाले अनुमानका भरमा दुवै पाठ्यक्रम पढाउँदै गरेको गाैतम बताउँछन् । ‘के पढाउने भन्ने नै थाहा छैन । त्यसैले दुवै कोर्षलाई बीचबाट पढाउँदैछौँ’, गाैतमले भने,’पूर्णाङ्क पनि मिल्दैन । पहिलेको ५०० को थियो नयाँमा ६०० को छ । कसरी मिलाएर पढाउने दोधारमा छौँ ।’ 

प्रतिक्रिया दिनुहोस