नेपाल टेलिकमको आईपी टिभी शुक्रबारदेखि

पुष १६, २०७७

काठमाडौं । आउँदो पुस १७ गते शुक्रबारदेखि नेपाल टेलिकमले औपचारिक रूपमा आईपी टिभी सेवा सञ्चालनमा ल्याउने तयारी गरेकाे छ ।

पछिल्लो समयमा इन्टरनेटसँगै आईपी टिभीतर्फ आकर्षण बढिरहेका बेला ग्राहकको सजिलो र सहजताका लागि टेलिकमले फाइबर टू दि होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवाको सुरुवात गर्न लागेकाे हाे ।

याे सेवा काठमाडौं उपत्यकाबाट सुरू गर्ने र ७७ वटै जिल्लामा विस्तार गर्दै जाने टेलिकमले तयारी गरेको छ । कम्पनीले गत फागुनमै पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो ।

प्रारम्भिक परीक्षण सकारात्मक भएपनि कोभिड १९ को महामारीसँगै सुरु भएको लकडाउन र क्लिन फिड नीतिका कारण ढिलोगरी सञ्चालनमा आउन लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ ।

हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गर्दै आएका छन् ।

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।

अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रतिदिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ ।

हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस