‘किसान क्रेडिट कार्ड’ दशैंपछि वितरण हुने

खबरशाला संवाददाता  |  कार्तिक ०८, २०७७

काठमाडाैं । सरकारले कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएका लागि ल्याउन लागेको ‘किसान क्रेडिट कार्ड’ अन्तिम चरणमा पुगेको जनाएको छ ।

कार्ड जारी गर्नका लागि कृषि विकास बैंकले धेरै प्राविधिक काम पूरा गरिसकेको छ । बैकले कार्र्ड निमार्ण कार्य अन्तिम चरणमा पुगेको र कार्यविधि तयार भएपछि सम्भवतः दशैँपछि कार्ड वितरण शुरु गर्ने तयारीमा रहेको छ ।

कार्यविधिमार्फत क्रेडिट कार्ड कसरी सञ्चालन गर्ने, कस्ता ग्राहकलाई दिने, ग्राहक पहिचान कसरी गर्ने, खाता भएकालाई मात्रै दिने कि नभएकालाई पनि दिनेलगायतका विषयमा आवश्यक व्यवस्था गरिएपछि शुरु गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको छ । किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकलाई जिम्मेवारी सुम्पेको छ ।

किसान क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा हुने किसान क्रेडिट कार्ड चिप्समा नभई क्यूआर कोडमा आधारित हुने बैंकले जनाएको छ ।

एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस