राप्ती गाउँपालिकामा अतिक्रमित टहरा हटाउन आगो

खबरशाला संवाददाता  |  असोज ०५, २०७७

दाङ-राप्ती गाउँपालिका वडा नं. ४ स्थित शान्ति सामुदायिक वनको करिब ४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ।

घर बास नभएको भन्दै उपभोक्ता र गैर उपभोक्ताले एक हप्ताको अवधिमा वन क्षेत्रमा नयाँ टहरा निर्माण गरेर अतिक्रमण गरेका हुन।

जग्गा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेर टहरा निर्माण गरेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टंकनाथ चौधरीले जानकारी दिए।‘जग्गा पाइने लोभले वन क्षेत्रमा आएर टहरा बनाएको पाइएको छ। चार हेक्टर जमिनमा यस्तो टहरा बनाउने काम जारी भएपछि हामीले अतिक्रमण हटाउन पहल गरेका हौं’ चौधरीले भने-‘के कस्ता मान्छेले अतिक्रमण गरेका छन्। यस बारेमा अनुसन्धान हुन बाँकी छ।’

सामुदायिक वनले वृक्षारोपण गरेको क्षेत्रमा बाँसको खामा खुट्टा गाडेर, स्याउलाले छानो छाएर अतिक्रमण गरिएको छ।’दिन रात स्याउलाले वेरेर टहरा बनाउन बनाउने काम भइरहेको थियो। हामीले रोक्ने प्रयास गर्यौं। तर, उनीहरुले टेरेनन् चौधरीले भने, ‘हाम्रो सामुदायिक वनमा पुरानो अतिक्रमणको पनि समस्या छ।’

शान्ती सामुदायिक वन क्षेत्रभित्र पुरानो अतिक्रमणको समस्या समेत छ। पछिल्लो समय दश वर्ष वन क्षेत्रमा बसोवास गरेको प्रमाणित भएमा बसोवास गरिरहेको क्षेत्रको स्वामित्व दिने बिषयमा आयोगले तयारी थालेपछि वन क्षेत्रभित्र नयाँ अतिक्रमण हुन थालेको पाइएको छ।

आगो लगाएर टहरा हटाइयो

शान्ती सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएको नयाँ टहरा भत्काइएको छ। डिभिवन वन कार्यालय देउखुरी, सव डिभिजन वन कार्यालय राप्तीको वन कर्मचारीहरुले करिब दुई सय व्यक्तिले अतिक्रमण गरी २५ ओटा प्लटमा बनाइएको टहरा हटाइएको हो।

‘हाल सालै नयाँ अतिक्रमण गरिएको क्षेत्र रहेछ। हामीलाई खबर भएपछि टोली पुग्यो र अतिक्रमण क्षेत्रका टहरा हटाईयो’ डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबावु यादवले भने, ‘जग्गाको पुर्जा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेको पाइयो।’

सहायक वन अधिकृत यादव र टंकबहादुर गुरुङ्गको नेतृत्वमा वन कर्मचारीसहित सुरक्षाकर्मी परिचालन भएका थिए। अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइएको थियो।

३१०० हेक्टर वनमा पुरानो अतिक्रमण

देउखुरी क्षेत्रमा सामुदायीक वन भन्दा राष्ट्रिय वन क्षेत्रमा पुरानो अतिक्रमण रहेको छ । डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार तीन हजार एक सय हेक्टर वन क्षेत्रमा पुरानो अतिक्रमण रहेको छ।

केही सामुदायिक वनमा पनि पुरानो अतिक्रमण रहेको छ। देउखुरी उपत्यकामा ३२ हजार हेक्टर सामुदायिक वन र ५१ हजार हेक्टरमा राष्ट्रिय वन फैलिएको छ।

प्रतिक्रिया दिनुहोस