आजै किन नगर्ने ?

तुफानबाबु श्रेष्ठ  |  असोज ०३, २०७७


यो धेरै पहिलेको कुरा हो । र, आजको पनि कुरा हो ।


एक गुरु–चेला थिए । शिष्य आफ्नो गुरुलाई धेरै सम्मान गथ्र्याे । गुरु पनि शिष्यलाई धेरै माया गर्थे । तर, त्यो शिष्यको एउटा नराम्रो बानी के थियो भने ऊ पढ्न भनेपछि निकै अल्छी गथ्र्याे ।

स्वाध्ययनबाट भाग्ने कोसिस गथ्र्याे । आजको कामलाई सधैं भोलिका लागि थाँती राख्थ्यो ।


उसको यस्तो स्वभाव देखेर गुरु चिन्तित थिए । चेलाले जीवनको कुनै युद्धमा कतै पनि हार नखाओस् भन्नेमा गुरु सोचिबस्थे ।


आलस्यमा कुनै पनि व्यक्तिलाई निष्क्रिय बनाउने पूर्ण शक्ति हुन्छ । यस्ता व्यक्ति लगनशीलताबिना नै समृद्धि चाहने खालका हुन्छन् । उनीहरू छिटो निर्णय लिन सक्दैनन् । निर्णय लिए पनि लागू गर्न सक्दैनन् ।

त्यस्तालाई न वातावरणबारे थाहा हुन्छ, न त भाग्यले प्रदान गर्ने अवसरहरूबाट फाइदा लिने कला नै थाहा हुन्छ ।


गुरुले एकदिन आफ्नो दिमागमा त्यो चेलाको हितका लागि एउटा योजना बनाए । एक दिन उनले कालो ढुङ्गाको एउटा टुक्रा उसको हातमा दिँदै भने, ‘म अर्को गाउँ जाँदै छु । त्यसैले तिमीलाई एउटा जादूको ढुङ्गाको टुक्रा केवल दुई दिनका लागि दिँदै छु । यो ढुङ्गाको टुक्राले कुनै पनि फलामको वस्तु छोयौ भने त्यो सुनमा परिणत हुन्छ । तर याद गर— पछिल्लो दुई दिनको सूर्यास्तपछि म यो तिमीबाट फिर्ता लिनेछु ।’

गुरुले दिएको यस्तो अवसर पाएपछि चेला धेरै खुसी भयो । तर, अल्छी भएकाले उसले आफ्नो पहिलो दिन अब कति सुन प्राप्त होला ? मेरा कति धेरै नोकर होलान् ? म कति खुसी, धनी र सन्तुष्ट रहँुला भन्ने जस्ता कल्पना गर्दै पूरै दिन बिताइदियो ।


अर्को दिन बिहान उठ्दा उसलाई राम्ररी याद थियो— आज सुन प्राप्त गर्ने दोस्रो र अन्तिम दिन हो । उसले मनमनै सोच्यो— आज त गुरुले दिएको कालो ढुङ्गाबाट फाइदा उठाउँछु । उसले निर्णय ग¥यो— आज फलामका ठूल्ठूला वस्तु किन्छु र ती सबैलाई सुनमा परिणत गर्छु ।

दिन बित्यो । तर, ऊ उही सोचमा बस्यो— अझै धेरै समय बाँकी छ, म कुनै पनि समयमा बजारमा जान्छु र सामानहरू लिन्छु । उसले सोच्यो— अब खाजा खाइसकेपछि मात्र बाहिर जान्छु । तर खाजा खाएपछि उसलाई आराम गर्ने बानी थियो । उसले उठेर मेहनत गर्नुको सट्टा केही बेर आराम गर्ने सोच बनायो । तर आलस्यले भरिपूर्ण उसको शरीर गहिरो निद्रामा प¥यो ।


ऊ सूर्यास्त हुने–हुने बेला मात्र बिउँझियो । अब ऊ तुरुन्तै बजारतिर दौडियो । जे नहोस् सोचेको थियो, त्यही भयो । बाटोमा उसले गुरुलाई भेट्टायो र देखेपछि पाउमा घोप्टो पर्दै यो जादूको ढुङ्गा केही समयका लागि आफूलाई दिन भनेर बिन्ती गर्न थाल्यो । तर गुरुले उसको पुकार सुनेनन् । अनि के भयो त भन्दा, त्यो चेलाको धनी हुने सपना चकनाचुर भयो ।

यस घटनाबाट त्यो चेलाले एउटा ठूलो पाठ सिक्यो । ऊ आफ्नो अल्छीपन देखेर पछुताउन थाल्यो । सोच्न थाल्यो— आलस्य नै मेरो जीवनका लागि श्राप रहेछ । उसले त्यो दिन प्रण ग¥यो— अबदेखि कामबाट कहिल्यै पनि पछि हट्नेछैन । मेहनती, सतर्क र सक्रिय व्यक्तिका रूपमा आफूलाई उभ्याउनेछु ।


०००
हरेकले जीवनमा एकभन्दा बढी अवसर प्राप्त गर्छन् । तर, धेरै व्यक्तिले केवल आफ्नो आलस्यका कारण त्यो अवसर गुमाउँछन् । त्यसैले यदि तपाईं पनि सफल, खुसी, भाग्यमानी, धनी वा ठूलो हुन चाहनुहुन्छ भने आलस्य र अल्छीपनालाई त्यागेर आफूभित्र विवेक, मेहनत र जागरुकता जस्ता गुण विकास गर्नुभयो भने तपाईं पछि पर्ने भन्ने कुरै छैन । कुनै महत्वपूर्ण कामलाई बेवास्ता गर्दै पन्छाउने सोच जब आउँछ नि, तब आफैँलाई एउटा, सिर्फ एउटा प्रश्न सोध्नुस् न है— आजै किन नगर्ने ?

प्रतिक्रिया दिनुहोस