पारदर्शिताको नमुनायोग्य अभ्यास

खबरशाला संवाददाता  |  भदौ २४, २०७७

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षका कार्यक्रम र योजनाहरुको सञ्चालनका लागि क्यालेन्डर वनाएर काम गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा टेकेर वनाइएको क्यालेन्डरले योजनाहरुलाई सहज ढँगले अगाडी वढाउने आधार तय गरेको छ । स्थानीय सरकारहरुले योजना र कार्यक्रम सञ्चालनमा सजगता अपनाउन नसकेका कारण पछिल्लो समय महत्वपूर्ण योजनाहरु फ्रिज हुने अवस्था आएको देखिन्छ ।

योजना सञ्चालनका आधार तयार नहुँदा कुन समयमा कुन योजनाहरुलाई प्राथमिकता दिने भन्ने अन्यौलता व्याप्त देखिन्छ । यस्तो अन्यौलतालाई चिर्नका लागि योजना कार्यान्वयनको तालिका हुनु नितान्त जरुरी छ । जनताले हरेक काममा पारदर्शिताको आवश्यकता महसुस गरिरहेका छन् । जनताका लागि गरिने हरेक काममा पारदर्शिताको आवश्यकता पनि हुने गर्दछ । गाउँठाउँमा सञ्चालन हुने योजनाहरुका बारेमा जनताले कार्यतालिका थाहा पाउन सकेभने त्यसको निगरानी समेत उनीहरुले गर्न सक्छन् ।


जनतालाई अहिले पनि कुन योजना कहिले र कसरी सम्पन्न हुने हो भन्ने जानकारी नभएको देखिन्छ । स्थानीय सरकारले जतिसुकै काम गरेपनि जनतामा त्यसको सूचना उपयुक्त ढँगले हुन सकेन भने आक्रोश र निराशाको जन्म हुन सक्दछ ।

योजना हामीलाई गन्तव्यमा पुर्याउने आधार हो । यही आधारमा टेकेर नै विकासको मुलधारमा पुग्न सक्ने देखिन्छ । योजनावद्ध ढँगले अगाडी वढियो भने त्यसले सफलताको आधार तय गर्दछ । कुन मौसम या समयमा कुन कुरालाई अगाडी वढाउँदा उपयुक्त हुन्छ भन्ने कुरा क्यालेन्डरमा राखिने हुँनाले त्यसले विकासलाई दीर्घकालिन समयसम्म प्रभाव पार्ने गरी अगाडी वढाउन मद्दत गर्दछ ।
क्यालेन्डर वनाएर मात्रै सफल भइन्छ भन्ने केही पनि छैन ।

अव त्यसको प्रभावकारी कार्यान्वयन महत्वपूर्ण कुरा हो । क्यालेन्डरमा राखिएको समय सीमाभित्र काम सम्पन्न गर्नका लागि जनप्रतिनिधि र कर्मचारीले विशेष भुमिका वहन गर्नुपर्ने हुन्छ । क्यालेन्डरले जनतालाई प्रश्न गर्ने आधार तय गरिदिएको छ ।

निर्धारित समयमा काम सम्पन्न हुन सक्यो या सकेन भन्ने बारेमा जनताले जनप्रतिनिधिको लेखाजोखा गर्न सक्दछन् । असारले विकासले आजित भएका जनताहरु क्यालेन्डरका कारण उत्साहित भएका छन् । यसको व्यवहारीक कार्यान्वयन हुन सक्यो भने जनताको अनुहारमा फेरी खुसीका लहर आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस