यसरी गरौँ कन्ट्याक्ट ट्रेसिङ, विभिन्न देशकाे नमुना

पवन अधिकारी  |  भदौ १२, २०७७

नेपालमा कोरोना संक्रमित बढिरहेका छन्। संक्रमण बढेपनि उनीहरुसँगको सम्पर्कमा आएका व्यक्तिहरुको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। जसले गर्दा महामारीले भयावह रुप लिने हो कि भन्ने चिन्ता बढिरहेको छ।

प्रविधिको प्रयोग गरेर त्यस्तो भयावह अवस्था आउने खतरा रोक्न सकिन्छ। प्रविधि औषधि होइन तर, अहिले गरिरहेको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउँछ। तर, आजसम्म प्रविधिको प्रयोग कमजोर देखिएको छ।

विश्वका थुप्रै मुलुकले ‘वर्क एफिसेन्सी’ बढाउन प्रविधिको सहयोग लिइरहेका छन् र त्यो प्रभावकारी सिद्ध भइसकेको छ। कन्ट्याक्ट ट्रेसिङ भनेको संक्रमित व्यक्तिको सम्पर्कमा आएका वा वरिपरि रहेका मानिसलाई सम्पर्कमा ल्याउनु हो।

तर यो बेला त्यस्तो प्रविधिको प्रयोग हुन नसक्दा संक्रमित बेपत्ता भएको, कोही सम्पर्कमा नआएको, अझै कति संक्रमणमा परे समेत थाहा नपाएकोजस्ता घटना भइरहेका छन्।

काठमाडौं महानगरका सबै वडाका बासिन्दाबारे जानकारी छ। तर, घरभित्र बस्ने भएकोले को कति संक्रमित भए थाहा पाउन सकिएको छैन। सबै संक्रमित परीक्षणमा पनि आएका छैनन्। कति संक्रमित भएर आफैँ निको भइसके, संक्रमितले भित्रभित्र कतिलाई सारे थाहै छैन। यस्ता यावत् झमेला हाम्रै स्रोत र साधनको प्रयोग गरेरसमाधान गर्न सकिन्छ। त्यसका लागि छुट्टै त्यति धेरै लगानी पनि गर्नु पर्दैन।

कोरोना संक्रमितको सम्पर्कमा पुगेका व्यक्ति खोज्न हङकङमा रिस्ट ब्यान्ड प्रयोगमा ल्याइएको छ। सिङ्गापुरले छुट्टै मोबाइल एप प्रयोग गरेर संक्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरी संक्रमण फैलन दिएको छैन। हाम्रै छिमेकी भारतले समेत आरोग्य सेतु भन्ने एप प्रयोगमा ल्याएको छ।

त्यो एप कसैले चलाएको हुन्छ। लोकेसन अन गरेको हुन्छ। अनि अर्काे व्यक्तिले पनि सोही एप डाउनलोड गरेको हुन्छ। जब उनीहरु दुईजना नजिक हुन्छन्, एउटाको डिभाइस आईडी मोबाइलमा सेभ भएर बसेको हुन्छ। पछि तीमध्ये कुनै व्यक्ति संक्रमित भयो भने ऊ कुनकुन मानिसको सम्पर्कमा पुगेको थियो, सबैको विवरण प्राप्त हुन्छ। जसले कन्ट्याक्ट ट्रेसिङलाई सहज बनाउँछ।

तर, हाम्रोमा जतिपनि काम भएका छन्, सबै कागज बेसमा भयो। त्यसमा अलिकति प्रविधिलाई साथ लिएर गरियो भने अहिलेको भन्दा छिटो र प्रभावकारी काम हुन्छ। अहिले हाम्रोमा कन्ट्याक्ट ट्रेसिङ गर्दा अन्तर्वार्ता लिने, फोन गर्ने र त्यसरी संकलन भएको विवरण कागजमा भर्ने गरिन्छ अनि एक्सेल, वर्डमा राखिन्छ। तर, सबै सूचना र विवरण एपमा राख्न सक्यौं भने सजिलो हुन्छ।

नेपालगञ्जमा कोही व्यक्ति संक्रमित भएको छ, निजको यात्रा विवरणदेखि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्दा त्यस्ता एपमा सबै विवरण राखियो र त्यसलाई इन्टरनेट, मोबाइलबाट समेत सीधै हेर्ने व्यवस्था मिलाइयो भने नेपालगञ्जमा कोही मानिसको कन्ट्याक्ट ट्रेसिङ काठमाडौंमै बसेर गर्न सकिन्छ।

मोबाइल एपको अर्काे फाइदा के हो भने मोबाइल हाम्रो साथमै हुन्छ र त्यसले लोकेसन त जुनबेला पनि ट्रयाक गरिरहेको हुन्छ। लोकेसनको डेटा आएपछि मानिसको यात्रा र सम्पर्क विवरण सजिलै पत्ता लाग्छ। बालाजु वा बानेश्वरको कुनै क्षेत्रमा २, ३ जना संक्रमित मानिस छन् भने त्यो पनि मोबाइल एपबाटै थाहा हुन्छ। अर्काे, जनघनत्व बढी भएको ठाउँमा यही एपको प्रयोग गरेर संक्रमित पहिचान र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिन्छ।

पहिचान गर्न खासै समस्या हुँदैन किनभने हाम्रो वडा कार्यालय वा टोलहरुले पनि निगरानी गरेका छन्। मुख्य समस्या भनेकै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचानमा हो। यस्तो एप भीड, ठूलो र बाक्लो बस्तीमा प्रभावकारी हुन्छ, किनभने सबैभन्दा छिटो संक्रमण त्यस्तै क्षेत्रमा फैलन्छ।

पछिल्ला दिनमा काठमाडौंका केही क्षेत्रमा संक्रमित ह्वात्तै बढेका छन्। त्यहाँ प्रविधिकै प्रयोग गरेर कन्ट्याक्ट ट्रेसिङ हुने हो भने सम्पर्कमा आएकाहरुलाई आइसोलेट गरेपछि त्यसबाट अन्य मानिसमा सर्ने जोखिममा हुँदैन। यो कामको लागि मोबाइल सेवा प्रदायक संस्था एनटीसी र एनसेल सहयोगी हुन्छन्। किनभने मानिसको मुभमेन्ट ट्रयाक गर्न मोबाइलबाट सजिलो हुन्छ।

अहिले एनसेलको नयाँ सिम लिएका मानिसहरुमा त्यो प्रयोग भएको जस्तो लाग्छ। भातरको सीमाबाट कति भित्रिए? को मानिस कहाँ कहाँ पुगे भन्ने डेटा राखेको हुनुपर्छ। तर, त्यतिले मात्र पुग्दैन। मोबाइल फोन २४ सै घण्टा नचल्न सक्छ अथवा कतिपय व्यक्तिको गोपनीयताको प्रश्न पनि आउन सक्छ। त्यस्तो बेला हामीले प्रयोग गर्ने भनेको मोबाइल एप हो। जति धेरै ठाउँबाट डाटा संकलन हुन्छ, त्यति नै सूचना आउँछ र त्यसलाई विश्लेषण गर्न सहज हुन्छ।

हाम्रोमा अहिले आईटीलाई प्रयोग गर्ने विषयमा ठूलो समस्या छ। ठूला पदमा बसेकाहरु यसलाई प्रोमोट गर्न खोज्नुहुन्छ तर, आईटीले कसरी कामलाई सहयोग गर्छ भन्ने ज्ञानको अभाव देखिन्छ। तालिम नपुगेको हो वा प्रशासनिक बाध्यता हो, तीव्र गतिमा गर्नुपर्ने यो काममा हामी निकै पछि छौँ।

हामी एप बनाउँछौं, त्यो कार्यान्वयनमा आएपछि फाइदा कसरी लिने? आईटीले काममा कसरी सहजीकरण, छिटो र उत्कृष्ट सेवा दिन्छ भन्नेमा नीति निर्माण गर्ने तहमा बसेकाहरु सचेत देखिएका छैनन्।

एयरपोर्टबाट बाहिरिने ठाउँमा कागजबाटै फर्म भराउने गरिएको छ। एउटाले कागजको फर्म भर्छ। फेरि अर्काे मान्छेलाई डाटा विवरण राख्न दिनुपर्छ। त्यसो गर्दा समय बर्बाद मात्र होइन एक दुईजनाको डाटा हराउने र कन्ट्याक्ट हराउने समेत हुन्छ। त्यसलाई डिजिटलाइज्ड गरियो भने त्यो विवरण आवश्यक पर्ने निकायको पहुँचमा पुग्छ। सुरक्षित रहन्छ र पुनः आवश्यक परेको बेला सम्पर्क गर्न सकिन्छ

ताइवान
प्रविधिको प्रयोग गरेर कोरोना संक्रमण रोक्न ताइवानले गरेको काम मलाई मन परेको हो। सुरुमा भाइरस फैलिएको चीनको वुहानबाट नजिक भएपनि ताइवानले कोरोनालाई मजाले नियन्त्रण लिएको छ।

ताइवानले बाहिरबाट आएका मानिसलाई निरन्तर निगरानीमा राख्यो। त्यो कसरी भन्दा अन्य देशबाट आएका मानिसलाई ट्रेस गरेर। एयरपोर्टबाट देश भित्रिनेबित्तिकै मोबाइलमा एउटा एप स्टोर गरिदिने र २४ सै घण्टा खुल्लै राख्न लगाउने। मोबाइल नभए सिममै त्यो व्यवस्था गरिदिने र मानिसको मुभमेन्ट पत्ता लगाउने गरेका रहेछन्। अनि एयरपोर्टबाट होटलमा पुगेका गेस्टलाई त्यहाँबाट १४ दिन बाहिर निस्कन नपाउने भनेर होटलमै सूचना दिने गरिँदो रहेछ।

यदि आफ्नो क्वारेन्टिन क्षेत्रभन्दा अलिकति बाहिर गयो भने एप, प्रहरी वा त्यहाँको सुरक्षा निकायकहाँ नोटिफिकेसन जान्थ्यो। अनि तत्काल प्रहरी पुगेर आवश्यक कारबाही गर्ने गरिएको रहेछ र संक्रमणलाई फैलनबाट नियन्त्रणमा लिइएको रहेछ।

अमेरिका
अमेरिकामा गुगल र एप्पलले मिलेर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छन्। त्यहाँ पनि प्रणाली त त्यही हो–मानिसको मुभमेन्ट भएको हेर्ने र त्यो डाटा लिएर बस्ने। त्यही भएर अमेरिकाले लकडाउन नै लगाएन।

भारत
भारतले आरोग्य सेतु नामक एप सञ्चालन गरेको छ। कोरोना संक्रमितको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएपछि उपचार गर्नुपर्ने वा नपर्ने पत्ता लाग्छ। उनीहरुले सोही एपबाट त्यहाँ कन्ट्याक्ट ट्रेसिङ गरेका छन्। त्यही भएर दैनिक ६० हजार बढी संक्रमित भेटिँदा पनि भारतले लकडाउन गरेको छैन।

नेपालमा पनि अमेरिकाले प्रयोग गरेको जस्तै कोभिड एनपी भन्ने एप बनाएका छौं। यो एप डाउनलोड गरेपछि म कहाँकहाँ भ्रमणमा गएँ, के के गरेँ भन्ने विवरण संकलन हुन्थ्यो। अर्थात् त्यो डाउनलोड गरेपछि संmक्रमितको पहिचान, उसका सम्पर्कमा आएकाहरुको विवरण पत्ता लगाउन सकिन्थ्यो तर, यो एप कार्यान्वयनमै आएन। सरकारले किन कार्यान्वयन गरेन, थाहा छैन।

युरोपेली देशहरु जर्मनी, फ्रान्स, स्पेन लगायतले कन्ट्याक्ट ट्रेसिङ एप प्रयोगमा ल्याएका छन्। मुख्यगरी संक्रमण फैलाउने सम्पर्क व्यक्तिको पहिचान गर्ने भएकोले यो प्रभावकारी भएको छ। भियतनामले पनि प्रविधिको प्रयोगलाई प्राथामिकता दिएर संक्रमण नियन्त्रणमा लिएको हो।

संक्रमणको उच्च जोखिममा हामी किन भयौं भने एकजना संक्रमित भयो भने सम्पर्कमा रहेका अन्य १० जनालाई सर्छ। त्यही नहोस् र सम्पर्क रहेका सबैको जानकारी प्राप्त गर्न प्रविधिको प्रयोग गर्नैपर्छ।

हामीसँग अस्पतालबारे पनि डेटा छैन। अहिले कहाँ आइसोलेसन बेड छ, कहाँ आईसीयू छ, कुन अस्पतालमा कोभिडका कति बिरामी छन्, यी कुरा हामीलाई थाहा छैन।

अस्पतालमा उपचार हुन्छ, त्यसको विवरण कागजमा वा फोनमा कतै दर्ता गरेर जानकारी दिनुपर्ने निकायमा पठाइन्छ। तर, त्यो सूचना मोनिटर गर्ने वा कार्यान्वयन गर्ने निकायसम्म पुग्दै पुग्दैन।

तर, सोही विवरणलाई डिजिटलाइज्ड गरेर एपमा राख्न सकियो भने धेरै सूचनाहरु एकैपटक पुग्नुपर्ने निकायमा पुर्‍याउन सकिन्छ। पहिला हुलाकाबाट चिठ्ठी कतै पठाउँदा एक हप्तामा पुग्थ्यो अहिले इमेल गर्दा तत्काल पुग्छ। अब इन्टरनेट र प्रविधिलाई प्रयोग गरेर कोरोना संक्रमित, सम्पर्कमा रहेका मानिसको तथ्यांक संकलन गरौं।

आईटीले हरेक काम छिटो, छरितो पार्ने हो। तर, हाम्रो सरकारी निकायमा यही काम गर्ने अभ्यास नभएको र कागजी काम गरेर आएकोले समस्या देखिएको हो। नेपालमा धेरै ठाउँहरु अझैपनि विकट छन्। त्यहाँ इन्टरनेट पनि पुगेको छैन, त्यस्ता ठाउँमा भीस्याट, सीडीएमए फोन सञ्चालन भएका होलान्, त्यसैलाई प्रयोग गर्न सकिन्छ।

त्यो भनेको फोनबाट डाटा लिएर रजिस्टर गर्ने त्यसलाई इन्टरनेटको पहुँच भएको ठाउँमा पुगेर सम्बन्धित निकायमा पठाइदिने। अझ कतिपय अवस्थामा त विकट ठाउँहरुमा मोबाइल भ्यान लगेर पनि काम चलाउन सकिन्छ। दुर्गम र विकट स्थानमा पनि प्रविधिलाई प्रयोग गर्न सकिन्छ।

नेपालमा पनि प्रविधिको प्रयोगलाई व्यापक बनाउन सकियो भने लकडाउन वा निषेधाज्ञा गर्न पर्दैन होला कि! संक्रमणको चेन ब्रेक गर्न लकडाउन गरिएको हो। तर, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाएर पनि त्यो काम गर्न सकिन्छ।

यसका लागि निम्न काम गर्नुपर्ने हुन्छः

तथ्यांक संकलन
अस्पतालमा रहेका आइसोलेसन बेड, आईसीयू वार्ड, भेन्टिलेटर संख्या, बिरामीको संख्या र कति व्यक्तिले भ्रमण गरेका छन् भन्ने कुरा धेरै राम्रोसँग सार्वजनिक नै भएको छैन। नेपाल प्रहरीको राम्रो सूचना प्रणालीले आइसोलेसन र क्वारेन्टिनमा रहेको संख्या स्वास्थ्य मन्त्रालयलाई दिने गरेको छ। तर,स्वास्थ्य मन्त्रालयको आफ्नै डेटा संकलन गर्ने मेकानिज्म छैन।

बिहानदेखि दिउँसो २ बजेसम्म विभिन्न अस्पताललाई फोन गरेर तथ्यांक लिने गरिएको रहेछ। काममा छिटो होस् भनेर हामीले डेटा कलेक्सन एप बनाएर दिएको पनि हो तर, सरकारी प्रक्रियाले गर्दा त्यो काम कार्यान्वयनमै आउन सकेको छैन।

कति अस्पतालमा पीपीई सेट अभाव भन्ने छ तर, त्यहाँ कति पीपीई गयो, कति प्रयोग भयो र कति अभाव भयो भन्ने पनि थाहा छैन। दक्ष जनशक्ति कति थिए? कस्ता आवश्यक छन्? तालिम दिएर हुन्छ कि कतैबाट करारमै विज्ञ ल्याउनुपर्ने हा ? त्यसका लागि तथ्यांक संकलन गर्नुपर्छ।

टेलिआईसीयू, टेलिमेडिसिन
मलाई कुनै रोग लाग्यो भने अहिले अस्पताल जाने स्थिति छैन। यस्तो बेलामा घरमै बसेर डाक्टरहरुलाई फोनबाटै मलाई यस्तो यस्तो समस्या भयो, यो यो लक्षण छ मैले के गरौं भनेर सोधेको आधारणमा डाक्टरले उपचारको विधि भनिदिन सकिन्छ।

टेलिआईसीयू भने दुर्गम क्षेत्रमा रहेका डाक्टर र नर्स वा त्यो भन्दा तल्लो तहका स्वास्थ्यकर्मीले आफ्नो अस्पताल वा स्वास्थ्य संस्थामा आएका बिरामीलाई काठमाडौं लगायतका केही सहरमा रहेका आईसीयू स्पेसलिस्ट डाक्टरहरुसँग फोनबाटै परामर्श गर्दै गरिने उपचार विधि हो। विशेषज्ञ डाक्टरहरुको ज्ञानलाई विकट र दुर्गम गाउँका बिरामीहरुको उपचारमा लगाउन यो प्रभावकारी हुन्छ।

गम्भीर प्रकृतिका बिरामीका लागि यो प्रयोग गर्दा धेरैको ज्यान जोगाउन सकिन्छ। अहिले संक्रमण फैलिएका केही जिल्ला र सहरमा यसैगरी काम गर्दा प्रभावकारी हुन्छ।

दुर्गम जिल्लामा अनमी र अहेबले क्वारेन्टिन सञ्चालन गरेका छन्। उनीहरुलाई विशेषज्ञ डाक्टरबाट ज्ञान दिन सकिन्छ। चीनले एयरपोर्टबाट कोही मानिस छिर्नेबित्तिकै टेलिमेडिसिनको प्रयोग गरेर ती सबैको हेल्थ स्क्रिनिङ गर्ने गरेको छ। लक्षण भएको मानिस देख्नेबित्तिकै तत्कालै उपचार गराउने व्यवस्था मिलाएको छ।

प्लाज्मा थेरापी
प्रविधिको प्रयोग गरेर डेटा संकलन र कन्ट्याक्ट ट्रेसिङमा मात्र होइन त्यसकै आधारमा कति मानिसहरुमा एन्टिबडी उत्पादन भयो, भन्ने पनि थाहा हुन्छ। त्यसलाई एकैठाउँमा केन्द्रित गरेर राख्न सकेको खण्डमा यदि कसैलाई प्लाज्मा आवश्यक पर्‍यो भने कसलाई सम्पर्क गर्ने भनेर भौँतारिनु पर्दैन। त्यही हामीसँग भएको विवरणका आधारमा यति जना मानिस उपलब्ध छन् भन्ने थाहा हुन्छ।

उद्योग कलकारखाना चलाऔं
कोरोनाको संक्रमण बढ्न नदिन भनेर देशभरका सबै उद्योग बन्द भएका छन्। हामीले संक्रमितको पहिचान गरेर राम्रो कन्ट्याक्ट ट्रेसिङ गर्‍यौं भने उद्योग कलकारखाना चलाउन पनि समस्या हुँदैन। हाम्रो मुख्य चिन्ता संक्रमण फैलिन्छ कि भन्नेमा हो, सबैको परीक्षण भयो, संक्रमितको सम्पर्कमा रहेका सबैको विवरण थाहा पायौं भने त कोसँग डराउनु पर्छ र?

संक्रमितको उपचार गरिहालिन्छ। भारतमा उद्योग चलेकै छन्। युरोप पनि पुरानै अवस्थामा फर्किंदै छ।

नेपालखबरबाट

प्रतिक्रिया दिनुहोस