अनियमित विद्युतकाे सास्ती

खबरशाला संवाददाता  |  श्रावण ३२, २०७७


तुलसीपुर क्षेत्रमा पछिल्लो समय विद्युतको लुकामारी निकै वढेर गएको छ । सरकारले घोषित रुपमा लोडसेडिङ्ग अन्त्यको घोषणा गरेको भएपनि अघोषितरुपमा तुलसीपुरमा हुने गरेको लोडसेडिङ्गले जनता आजित भएका छन् ।

लकडाउनको समयमा घरमै सजग भएर वस्नुपर्ने समयमा विद्युत नहुँदा निकै सास्तीको महसुस यहाँका जनताले गरिरहेका छन् । कतिवेला आउने हो भन्दा पनि कतिबेला जाने हो भन्ने त्रासका कारण पछिल्लो दिनमा यहाँका जनताको दिनचर्या कठिन हुँदै गएको छ ।

सरकारले लोडसेडिङ्ग अन्त्यको घोषणा गरेसँगै मानिसहरुको जीवनशैली विद्युतमैत्री हुँदै गएको छ । विद्युतबाट खाना पकाउने, लुगा धुने लगायतका विभिन्न खालका कुराहरु जनताले अनुसरण गरिरहेका छन् । यस्तो अवस्थामा विद्युत आउने र जाने हुनाले यसबाट राहत भन्दा पनि जनताले आहतको महसुस गरिरहेका छन् ।


कुनै कारणले कहिलेकाही विद्युत जानु स्वभाविक हुन सक्ला तर एकदिनमा ४० पटकसम्म विद्युत जानु भनेको सामान्य कुरा अवश्य पनि होइन । अझ जनगुनासोलाई सुन्ने हो भने विद्युतको सूचना प्रणाली शुन्य नै रहेको छ । जनतालाई गुनासो गर्नका लागि राखिएको फोन वत्ति जाने वित्तिकै होल्डमा राखिने प्रवृत्ति अहिले पनि यथावत छ ।

यो सूचना प्रविधिको जमानामा वत्ति जान लागेको सूचना उपलब्ध गराउन सकिने प्रशस्त आधारहरु छन् तर पनि त्यसलाई अनुसरण गर्न नसकेर जथाभावि वत्ति काट्ने प्रवृत्ति मौलाउँदै गएको छ । अहिले विद्यालयहरु वन्द हुँदा अधिकांश विद्यार्थीहरुले घरबाटै अनलाईन कक्षा लिइरहेका देखिन्छन् ।

तर अनलाईन कक्षा सुरु मात्रै हुन लाग्दा पनि वत्ति जाने भएका कारणले गर्दा त्यो प्रभावकारी हुन सकिरहेको छैन । अहिलेको समयलाई मनन गरे विद्युत प्राधिकरणले विद्युत निरन्तर प्रवाहका लागि आफुलाई क्रियाशिल वनाउन सकेको छैन ।


विद्युत जस्तो कुरा कहिलेकाही विग्रने भइहाल्छ तर त्यो विग्रियो भने जनतालाई धेरै असर नपर्ने गरी कसरी मर्मत गर्ने भन्ने कुरा महत्वपूर्ण हो । विद्युत कार्यालयले मर्मत लगायतका अन्य कुरामा तदारुकता देखाउनुपर्दछ । यस्तो हुन सक्यो भने मात्रै जनताले सर्वसुलभ रुपमा सहजै विद्युत पाउन सक्छन् । विद्युतको लुकामारीले जनता निकै आजित भएका छन् । समयमै सम्वन्धित संस्थाले सक्रियता देखाउँन सकेन भने जनता आन्दोलन गर्न समेत वाध्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस