अस्पतालको अवस्था विस्तारै परिवर्तन हुँदैछ : अध्यक्ष न्याैपाने

खबरशाला संवाददाता  |  श्रावण ३०, २०७७



राप्ती प्रादेशिक अस्पतालको मुहार विस्तारै परिवर्तन हुँदै गएको छ । रिफर सेन्टरका रुपमा रहेको अस्पतालमा अहिले विभिन्न ठाउँबाट रिफर भएका बिरामीहरुको समेत उपचार हुने गरेको छ । दाङ्ग जिल्लाका सिनीयर चिकित्सकहरु रहेको अस्पतालले भनेजस्तो सेवा दिन नसकेको सर्वसाधारणको गुनासो समेत रहेको छ । यसै विषयमा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष पदमप्रसाद न्यौपानेसँग खबरशालाकर्मी नन्दनी रोकाले गरेको कुराकानी ।


यहाँ अस्पतालमा आएपछि के भईरहेको छ ?


म यहाँ आउँदा अस्पतालमा विभिन्न खालका समस्याहरु थिए । सरकारहरुले बजेट छुट्याउँने तर समयमा खर्च नहुने खालको अवस्था थियो । यहाँ आएपछि अस्पताललाई अलि सुधार गर्छु भन्ने मनसायका साथ म यहाँ आएको छु । राप्ती प्रादेशिक अस्पताल एउटा रिफर सेन्टरको रुपमा रहेको यस अस्पतालमा अहिले विशेषज्ञ डाक्टरका साथै प्रयाप्त आवश्यक उपकरणहरु पनि रहेको अवस्था छ । यसलाई थप सुविधा सम्पन्न वनाउनका लागि मेरो ध्यान केन्द्रीत भएको छ ।

समस्या के के छन् ?


विशेषगरी बिरामीको चाप बढदै गएको छ । हिजोको तुलनामा आज उल्लेख्य मात्रामा विरामी बढेका छन् । डेलिभरी केसको अप्रेसन घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अन्य अस्पतालले समेत गरेको छैन अहिले हामीकाँहा बिरामीहरु काेहलपुर, नेपालगंज, प्यूठान , रोल्पा, रुकुम र सल्यान लगायत अन्य ठाँउबाट पनि आउने गरेका छन् । जसले गर्दा बिरामीको चाप धेरै छ र हामीले पचास बेडको यस अस्पतालमा सय भन्दा बढिलाई सेवा प्रदान गरिरहेका छौँ ।


यसलाई रिफर अस्पताल भनिन्छ त्यसलाई बदल्न के गरि रहनु भएको छ ?


हो, हिजोका दिनमा यहाँले भनेजस्तो सामान्य रोगका विरामी पनि यहाँबाट रिफर हुने गर्दथे रत अहिले यहाँको अवस्था वदलिएको छ । यो अस्पतालमा यस क्षेत्रमा सबैभन्दा पहिले स्थानको अभाव छ । विरामीको निकै चाप वढेका कारण आवश्यक सेवाहरु प्रवाह गर्न हामीलाई कठिनाई भइरहेको छ । हामीकहाँ आइसियू छैन जसको निकै आवश्यकता रहेको छ । र, यसका लागि हामीले समितिको बैठक बसेर स्थानीय सरकार प्रमुख, प्रदेश सरकार सबैको सहयोगमा पाँच बेडको आइसियु भवन सञ्चालनको तयारी गरेका छौं ।

अहिले के के सेवा पाइन्छ ?


अहिले हामीले यस अस्पतालमा गर्भवती महिलाको ओप्रसन विधिबाट बच्चा जन्माउने ,त्यसपछि छाला रोग विशेषयज्ञ डा.प्रताप पोखरेल पनि हुनुहुन्छ ,त्यसैगरी सर्जन डा.जनार्दन पन्थी र (अर्थो) हातजोड्नी र दाँत सम्बन्धि डाक्टर लगायत अन्य विशेषयज्ञ सहितको सेवा प्रदान गरिन्छ । अहिलेको मुख्य समस्या भनेको आत्महत्याको दर बढेर जानु हो । हो जुन पहिले भन्दा अहिले निकै बढेको छ । अहिले तुलसीपुर उपमहानगर पालिका अन्तर्गत ४३ जना मानिसले आत्महत्या गरेका छन् ।यी समस्यालाई मध्यनजर गर्दै यसका लागि हामीले एउटा मनोचिकित्सक करारमा राख्ने निर्णय गरेका छौ । त्यसैगरी नाक,कान र मुटुरोग सेवा उपलब्ध गराउने पहलमा छौं ।


कोरोना लक्षित गरेर अस्पतालमा के भएको छ ?


कोरोना लक्षित अस्पताल अहिले भरिभराउँ अवस्थामा छन् । यस अस्पतालको सुपरटेन्डेन्ट डा. सर्वेस शर्मा र द्रोण ओली लगायतका टोली अहिले कोरोना अस्पतालमा खटिनु भएको छ । कोरोना अस्पतालको बेडको संख्या ५० रहेको छ १०० बेडको भनिएता पनि हामीले ५० भन्दा बढि बिरामीहरु राख्ने अवस्थामा छैनौँ । किनभने त्यसबाट संक्रमित नभएकालाई संक्रमित बिरामीहरुसंग राख्न सकिदैन उनीहरुलाई अलग राख्नु पर्ने हुन्छ । अहिले आएर संक्रमित बिरामीहरुको संख्या एक्कासी बढेको छ । यसका लागि सम्पुर्ण जनसमुदायले दिइएको निर्देशनको पालना गर्ने,सचेतनामुलक कार्यक्रममा सहभागी हुने र आफनो सुरक्षा आफै गर्ने अवस्था सृजना भएको छ ।


शिक्षाको नेतृत्व गरेको व्यक्तिलाई स्वास्थ्य क्षेत्रमा काम गर्दा कत्तिको गाह्रो भाको छ ?


मैले शिक्षा क्षेत्रमा ३२ वर्षसम्म सेवा गरे । विशेषगरी मैले लामो समयसम्म प्रधानअध्यापक भएर काम गरे । अब काम गर्ने सवालमा आरोह र अवरोहहरु हुन्छन् । समस्या परेको अवस्थामा नआत्तिने र सफलता हासिल गरेको बेलामा धैर्यताका साथ नमात्तिएर कार्य गरे पछि अवश्य नै सफल भइन्छ । शिक्षाक्षेत्रमा जति काम गरियो आफुले भन्न भन्दा पनि अरुले देख्ने कुरा हो म कति सफल भए ।
वास्तवमा प्राथमिक तहको शिक्षकबाट सुरु गरेको जागिर हो । मैले शैक्षिक क्षेत्रमा काम गर्दा पनि धेरै बाधाहरु आउने गर्थे तर मैले ती बाधाहरुलाई अवसरको रुपमा लिएर दोहोरो इच्छा शक्तिका साथ काम गर्नुपर्छ भन्दै अगाडि बढेको हो ।

यहाँ पनि समस्याहरु छन् नभाको होइन् । शिक्षा क्षेत्रमा काम गरेको हुनाले सुरुमा त धेरै समस्याहरु आए यँहाका बारेमा राम्रोसंग जानकारी थिएन तर अहिले आएर मैले धेरै कुराहरुको बारेमा जानकारी हासिल गरिसकेको छु । मलाई जानकारी हासिल गराउनुमा अस्पताल प्रशासन र अस्पतालका सुचना अधिकारी लगायतले ठूलो सहयोग गर्नुभएको छ । उहाँहरुको सहयोग र विश्वासले गर्दा मैले यस अस्पतालका समस्याहरु पकै पनि समाधान गर्नेछु भन्ने मलाई लाग्छ ।

प्रदेश र स्थानीय सरकारबाट के के सहयोग पाउनु भएको छ ?


यस अस्पतालले प्रदेश र स्थानीय सरकारको भरपुर साथ र सहयोग पाएको छ । विशेषगरी प्रदेश न. ५ का मुख्यमन्त्रीले यो अस्पताललाई नमूना प्रदेशिक अस्पतालका रुपमा विकसित गर्नु पर्छ भन्ने सकारात्मक सोच राख्नुभएको छ । त्यसकारण उहाँबाट मैले राम्रो सहयोग पाइरहेको छु र त्यसैगरी स्थानीय तहबाट नगरपालिका प्रमुख घनश्याम पाण्डेले पनि यो अस्पताल तुलसीपुरको मुटुमै छ भन्दै दाङ जिल्लाको पश्चिम भाग सल्यान,रोल्पाको पश्चिमी र पूर्वी भेग र दाङको पनि देउखुरीको राजपुर र प्यूठान सम्मको बिरामीहरु पनि हेरि राखेको हुनाले यसको स्तरवृद्धि गर्नुपर्छ भन्ने सकारात्मक सोचका साथ उहाँले पाँच बेडको आइसियु कक्ष थप गर्नका लागि उहाँको सहयोग महत्वपूर्ण छ ।


अस्पतालमा भएका राम्रा जनशक्तिले काम राम्रो गर्दैनन् भन्छन ?


अस्पतालमा रहेका राम्रा जनशक्तिले राम्रोसंग काम नगर्नु यस अस्पतालको मात्र समस्या नभएर पुरै नेपालकै समस्या रहेछ । यसलाई सुधार गर्नका निम्ति मैले औपचारिक र अनौपचारिक दुबै तरिकाले बुझाउने प्रयास गरेको छु र उहाँहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । नेपाल सरकारले एक डाक्टर एक संस्थाको नीति ल्याएमा डाक्टरहरुले अस्पतालमा बसेर राम्रोसंग सेवा प्रदान गर्नु हुनेछ भन्ने मलाई लाग्छ ।

सरकारले सरकारी अस्पतालमा काम गर्नेलाई निजि स्तरमा काम नगर्ने भनेको छ के कार्यान्वयन होला ?


सबैभन्दा चिकित्सकहरु आर्थिक रुपले बढी आशावादी हुनुहुन्छ । उहाँहरुले धेरै पारिश्रमिकको आशा पनि गर्नुभएको हुन्छ । आर्थिक अपेक्षा गर्नु स्वभाविक पनि छ किनभने उहाँहरुले धेरै लगानी गरेर पढ्नु भाको हुन्छ । सरकारी अस्पतालमा धेरै पारिश्रमिक हुँदा हुदै पनि बाहिर पनि गरी राख्नु भएको छ । राज्यले उहाँहरुको सेवा सुविधामा २ सय देखि ३ सय प्रतिशत म्मको सुविधा प्रदान गर्न लागेको छ भन्ने मैले सुनेको छु । पक्कै पनि राज्यले यस्तो सुविधा प्रदान गरेको खण्डमा कार्यान्वयन हुन सक्छ ।


आगामी योजनाहरु के के छन?


सेवाको क्षेत्रमा नाक,कान,घाँटी,मुटु र मनोचिकित्सक व्यवस्था गर्ने,आइसीयु सेवा थप गर्ने अनि सी.टी स्केनिङलाई व्यवस्थित गर्नुका साथै बेड संख्या थप्ने जसको जम्माजम्मी संख्या छ सय हुनेछ । त्यसैगरी डाक्टरहरुलाई यँही बसेर काम गर्नका लागि क्वाटरको व्यवस्था,वातावरण सरसफाईका लागि समिति निर्माण गर्ने र हाल सञ्चालनमा आएका सेवाहरु छाला रोग,दन्त रोग,हाडजोर्नी,गर्भवती सेवा,नाक,कान,घाँटी,मुटु रोग र मनोचिकित्सक जस्ता सेवाहरु प्रदान गर्ने लक्ष्यमा छौँ ।

डायलासिस मेसिन र आइसियू कक्ष सञ्चालनका बारेमा के भइरहेको छ ?


हाल हामीसंग ५ ओटा डायलासिस मेसिन सञ्चालनमा छन् । पाँचवटा मेसिनबाट हामीले १९ जना बिरामीहरुलाई सेवा दिने गरेका छौँ । हामीकहाँ किड्नीका बिरामीहरु धेरै आउने गरेका छन् तर हामीले भने जस्तो डायलासिस सेवा दिन सकिरहेका भने छैनौँ । तर अब कम्तिमा पनि ४देखि ५ मेसिन थप गरेर डायलासिस सेवा र १०० बेडको आ.सी.यू.सेवा प्रदान गर्नेछौ ।

प्रतिक्रिया दिनुहोस