अस्तित्वकाे खाेजी

रामलाल जाेशी  |  श्रावण २४, २०७७

बारको चौथो तला उक्लिन थाल्दा उसको सास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती ।

मैले सोचेँ – बिरामी रैछे । हेल्प गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर हाँसी –
“के चाइयो साहेब ?”

म बसिसक्दा ऊ भित्र छिरी । काला आफ्ना चश्मा उसले शिरमाथि सिउरी दिई । ठीक बीस हात पर मेरो सम्मुखमा आएर बसी ।
ऊ बेसुरा रही । म आफ्नै सुरमा ह्विस्कीको मजा लिन थालेँ । सायद तेस्रो पेग घुड्क्याउन थाल्दा मेरा आँखा उसतिर गौरगरी स्थिर भैदिए । किनकिन उसप्रति वितृष्णा जागेको थियो । तर यसपटक त्यस्तो लगेन । उसका जिज्ञासु आँखाहरू मसँग केही मागिरहे जस्ता थिए । लाग्यो, टाढैबाट ऊ केही सोध्न चाहन्छे, मसँग । हृदयको आवाज आएर उसका गलामा अडके जस्तो भैरहेको थियो । अनुहारले बताउँथ्यो, केही कुरा जरुर छ ऊसँग, भन्नलाई ।

हेर्दाहेर्दै मलाई लाग्यो – अरे, यो त चिरपरिचित अनुहार हो । कहाँ देखेको हुँ, यस अनुहारलाई मैले । के मेरो जीवनबाट गुज्रेको अनुहार हो यो ? देखेदेखे जस्तो लाग्ने । चिनेचिने जस्तो लाग्ने । बोलेबोले जस्तो लाग्ने । केही सम्झेसम्झे जस्तो लाग्ने । टिभीमा देखेको अनुहार हो कि ? कतै चित्रमा हेरेको अनुहार हो कि ? विस्मृतिमा गएर बसेको कसको अनुहार हो यो ? हँ ? सम्झने लाख कोसिस गरेँ, सकिनँ । स्मृति सकिने बेलामा ठोक्किन आउँछन् यस्तै अनुहारहरू ।

ऊ उठेर नजिक आई । हावामा उसले आफ्ना मसिना चार औंला हल्लाई – “हाई …।”
गिलास टेबलमा राखेर मैले दुई औंला माथि गरेँ – “हाई ……..।”
“चिनेनौ ?”
कतै रेडियोमा बोलेजस्तो उसको मसिनो बोली । चिनेँ, कसरी भनुँ ? अपलक उसलाई हेरिरहेँ ।
“म रचना ।” ऊ मेरै सामुन्य बसी । ठुस्स गन्ध आयो । मैले नआएजस्तो गरेँ ।
“रचना ? उही क्याम्पस लाइफकी रचना ?”
“हो । म उही रचना ।”

आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई ।

कठै ! कसरी बिराना हुँदा रैछन्, अतीतमा छुटेका अनुहारहरू । मैले आफ्नो ध्यान कतै गुमाएँ । म तिनै दिन

हरूमा गएर घुम्न थालेँ, जहाँ चन्द्रमाको छायामुनि एउटा सुकोमल जिन्दगी मुस्कुराउँथ्यो –
ती दिनहरू कैलाली क्याम्पसका थिए । एउटा निर्जन सालघारीका बीचमा अवस्थित कैलाली क्याम्पस । ऊ मेरै क्लासकी सहपाठी । लुकिछिपी दिइने प्रेमपत्र बाहेक केटाकेटीहरूको खासै उठबस र सानिध्यको जमाना थिएन । जमानालाई चुनौती दिने बहादुर प्रेमीप्रेमीकाबाहेक बाँकी केटाकेटीहरू पश्चिम नेपालका जेठी र बहुरानी जस्ता थिए । देख्न हुने तर भेट्न नहुने । बोल्न हुने तर छुन नहुने । मेरो लागि ऊ त्यस्तै थिई ।

ती दिनहरू उसका थिए । कम्तिमा पनि दिनमा पाँच जोर लुगा बदल्ने उसको रुमानी जमाना थियो । बिहान क्याम्पस आउँदा ऊ, जुन लुगामा हुन्थ्यी, दिउसो कौशीमा देखा पर्दा उसको शरीरमा त्यो हुन्थेन, अर्कै लुगा हुन्थ्यो । कौशीकी कली जब चन्दन टाकिजको सेकेन्ड सोमा पाकिजा हेर्न पुग्थी, त्यसबेला उसका अगाडि पर्दाकी नायिका फिका पर्थे । डिम लाइटमा जब ऊ बाल्कोनीबाट चन्द्रमाझैं मुस्कुराउँथी, युवकहरू आफ्ना सास रोकेर सिठी मार्थे । उफ ! त्यो जमानाको कुरा अर्कै थियो । सूर्यास्तको शितल पवनमा जब शैर गर्न पार्कको पछाडि तालको माछाझैं लड्िकन्थी, एउटा गज्जबको पहिरनमा ऊ शरदको आकाशझैं छयाङ्गै खुलेकी हुन्थी । कदाचित जुनेली रातमा सहेलीहरूको साथ खुल्ला सडकमा निस्किदा पवनछिद्री निलो गामनमा खुब सजिएकी लाग्थी । बदामी आँखा, बाटुलो अनुहार, चौडा निधार, कैला केश र गोरो वर्णमा ऊ धपक्क बलेकी हुन्थी । आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई ।

ठया्क्कै इन्द्रलोकबाट झरेकी परी जस्ती । कामत योनिका । छोऊँछोऊँ लाग्ने । हेरिरहूँ लाग्ने । मनमुटुमा टाँसिइजाने । आँखाहरूमा बसिजाने । मायालु युगकी दुर्लभ बराङ्गना ।

वर्षौँ अघिको सम्झनाको अतल गहिराइबाट भिजेको चराजस्तै भएर म निस्केँ । मेरो हात ह्विस्कीको गिलासमा थियो । म आश्चर्यचकित भएर तिलमिलाएँ
“तिमी रचना …?”
उसको निधारको छाला सिकुडियो । मैले सोचेँ, आजै सिकुडिने बेला त होइन ।
“हो म त्यै रचना त हो नि ।”
कुरा गर्दा उसले कानका रिङहरू हल्लाउन सिकेकी रैछे । हल्लिरहेथे ।
“तिमी उही रचना हौ भन्ने कुरा मलाई विश्वासै लागिरहेको छैन । कहाँ बल्दो आगाको फिलिङ्गो जस्ती ऊ रचना, कहाँ निभेको कोइलाजस्ती, तिमी । कसरी पत्याऊँ म, हँ ? कसरी भयो यस्तो ? समयभन्दा अगाडि किन यसरी मुर्झायौ तिमी ? तिमी यस्ती त थिएनौ । बारमा आएर ड्रिङस, गर्ने पनि भइछौ ?”

ऊ फिस्स हाँसी । हाँस्दा डिम्पल पर्ने उसको गालामा चाउरीका अस्वभाविक धर्काहरू देखापरे ।
“के भनौँ ? यस्तै हो जिन्दगी ।”
“कस्तो ?”
“कथा लामो छ ।”
“केही लेऊ । हामी यस अवस्थासम्म पनि पुगेछौं है ?”
“उसबेला बोल्न पनि लाज लाग्थ्यो ।” ऊ लजाउन खोजी । तर लजाएको सुहाएन ।
उसले गिलास मागी । मैले ह्विस्की हालिदिएँ ।
“तिमीले विवाह गरिनौ ? घरवार छैन तिम्रो ?”

उसले गहिरो सास लिई । एक चुस्की लिएपछि ऊ भन्नथाली –
“ अरु भाग्यमानी स्वास्नी मानिस जस्तै मेरो पनि घरबार थियो । आफ्नै संसार थियो । एउटा सानो स्वर्गजस्तो घर थियो । देवता जस्ता श्रीमान् थिए । न्यानो प्रेम थियो । आमाजस्ती सासु थिइन्, बाबुजस्ता ससुरा । लक्ष्मणजस्ता देवर थिए, लवकुशजस्ता छोराहरू । कपालका रौंजत्ति नै मेरा उपरमा मान्यजनहरूको आर्शीवाद थियो । खानलाई कमी थिएन । लोग्नेको जागिर थियो । घरभरी लुगा र गहनाहरू थिए । तीनतले हबेलीको अट्टालिकामा बसेर म आफ्नो स्वर्ग निहार्थेँ । कुनैबेला सोच्थेँ, मजति सुखी को होला, यस संसारमा ।

किन्तु त्यो सब भ्रम रहेछ । ती सब कुराहरू मेरा लागि क्षणिक सपना रहेछन् । ती मेरो आत्मा र अन्तरजगतको सुखसँग जोडिएका चिजहरू रहेनछन् । केवल बाहिरी आवरणका रमझमी भ्रम रहेछन् । पानीको फोका जस्तै फुस्केर गए । तासको घरजस्तै ढलेर गयो, त्यो स्वप्न महल । अथवा यसो भनौँ – पिँडालुका पातको पानीजस्तै ढलपलढलपल भएर खसेँ म, आफ्नो बाटोबाट । नियतिले मेरो निधारमा अर्कै कथा लेखिदिएको रैछ । जुन भूमिका मैले निर्वाह गर्न लेखिएको थियो, गरेँ ।”
“अनि ?”
एकपटक लामो सास लिई ।
अब ऊ आफ्नो कथा विस्तरमा भन्न थाली –
विवाहपछि मेरो जिन्दगी प्राय घरभित्रै सीमित भएको थियो । मलाई हमेशा हेरिराख्ने एउटा मेरो श्रीमान् थिए, अर्को ऐना । बस्, यसबाहेक सितिमिति म अरुका नजरमा परेकै थिइनँ । एकदिन श्रीमान्ले भन्नुभयो –
“घरमै बस्दाबस्दा दिमाग बोधो हुन्छ । कहिलेकाहीँ बाहिरतिर पनि निस्किने गर न ।”
यशोदा दिदी समाजसेवामा थिइन् । म उनैसँग कहिलेकाहीँ सामाजिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन थालेँ ।
एकदिन एउटा साहित्यिक कार्यक्रममा म एउटा कविका नजरमा परेँ । उसका आँखाहरू आएर टक्क ममाथि अडिए । म मुस्कुराई दिएँ । उसले परिचय लियो र दोस्रो दिन कफीको निम्ता दियो ।

मनभरी धेरै कौतुहल बोकेर गएँ । खप्तड क्याफेमा ऊ पर्खिबस्याथ्यो । भन्यो – “मुस्कान तपाईँको ज्यानमारा छ ।” पहिलो भेटमै उसले मेरो खुब प्रशंंसा गर्याे । भन्यो – “यो दुर्लभ सुन्दरता, घरभित्रै लुकाएर राख्नलाई ईश्वरले एकै ठाउँमा खन्याइ दिएका होइनन् । बाहिरी संसार पनि तपाईको सुन्दरताको प्रतीक्षामा छ । आफु जति सुन्दर हुनुहुन्छ, संसारलाई पनि सिंगारी दिनुस् ।”
मेरो अवस्था तातो र चिसोको चेपुवामा परेको सिसाको गिलासको जस्तै भयो । सरम र संकोचले बाहिरबाट जति खुम्चिएँ । खुसी र प्रफुल्लताले भित्रैदेखि फुलेल पनि भएँ । आफ्नो प्रशंसाले खुसी को नहुँदो हो । छुट्टिएर आउँदा हावामा उडिरहेको बेलुनजस्तै भैरहेकी थिएँ, म ।

ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो ।

महिना दिनपछि उसले फोन गरेर फेरि त्यही काफेमा भेट्ने अनुरोध गर्याे । मैले वचन राखिदिएँ । दोस्रो भेटमा पनि मेरो उस्तै तारिफमा आफ्ना शब्दहरू खर्च गर्न थाल्यो । यसपटक त्यस्तो लज्जा र सङ्कोच मनमा आएन । थोरै म ऊसँग खुल्न सकेँ । यो क्रम यस्तै चलिरह्यो । खप्तड क्याफेको तेस्रो भेटमा उसले एउटा सरप्राइज दियो । कफीको चुस्कीसँगै हातमा एउटा कागज लियो । त्यस कागजमा केही अक्षरहरू मिलेर मेरो बयान गर्दै थिए । मेरो कपाल, आँखा, ओठ, निधार, नितम्ब, मुस्कान र सौन्दर्यको वर्णनमा केन्द्रित सुन्दर कविता उसले मलाई उपहार दियो । सोचेँ – ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ । उसको कलमले मलाई भित्रैसम्म छोयो ।

उसको कविता मैले आफ्नो छातीमा दुई हातले च्यापेँ । एउटा गहिरो उच्छवास माथिसम्मै उडेर गयो । “थ्याङ्क यू सो मच माइ डियर कवि ।”
गह्रौँ मनले उसँग बिदा मागेँ । बाटोभरी मन कताकता उडिरह्यो । सुत्न सकिन । रातभरी एउटा उथलपुथल मच्चिरह्यो मनमा ।
तिमीलाई थाहै छ, म उसबेलादेखि नै मोडल बन्न चाहन्थेँ । अनेकथरी फेसन गरेर आफ्नो रहर पूरा गर्नु मेरो सोख थियो । फोटो स्टुडियोमा गई अनेक भावभङ्गीका फोटो खिचाएर एल्बममा सजाउनु पनि मेरो उत्तिकै सोख थियो । भगवान्ले दिएको आफ्नो रुप र सुन्दरताप्रति म गर्व गर्थेँ । हजारचोटी ऐनामा आफैलाई हेरेर अघाउँथेन । मोडेल बनेर पत्रिकामा छापिने मेरो रहर विवाहपछि चकनाचुर भएको थियो । तथापि मनको अभिलाषाले भने छटपटी गराइ नै रह्यो ।

मलाई लाग्थ्यो –
फूलको अस्तित्व आफै फुल्नु र झर्नुमा कहाँ छ र ? कदाचित भँमरा बसिदिए पो ऊ फुल्नुको सार्थकता हुन्छ । अझ माहुरीले रस चुसिदिए पो ऊ फुल्नको अर्थ रहन्छ । चर्कै सुगन्ध छरेर फुलेको फूललाई कसैले सुँघिदिए पो उसको अस्तित्व साकार हुन्छ । अझ भन्नुहुन्छ भने ढकमक्क फुलेको फूलको थुङ्गा कुनै शोडषी बालाको शिरमा सिउरिएन भने उसको अस्तित्व निरर्थक हुन्छ । ठीक यस्तै हो, मान्छेको अस्तित्व पनि ।

संसारका प्रत्येक मान्छेसँग छुट्टै र मौलिक प्रतिभा हुन्छ । त्यही प्रतिभा या निजी आकर्षणले यस संसारमा आफ्नो उपस्थिति जनाउँछ अनि निजी प्रभाव र चिनारी छोडछ । व्यक्तिको प्रतिभा भन्नु नै उसको नीजि आकर्षण त हो नि, जो संसारलाई ऊ देखाउन चाहन्छ । ईश्वर प्रदत्त प्रतिभा लुकाउने चिज हुँदै होइन, देखाउने चीज हो । यस अर्थमा मलाई लाग्थ्यो मेरो सुन्दरता नै मेरो विशेष प्रतिभा हो, जो मैले दुनियाँसामु देखाउनु पर्छ । आफ्नो प्रतिभाको प्रस्फुटन मान्छे चाहन्छ भने मेरो सुन्दरताको प्रस्फुटन रङ्गमञ्चमा हुनु आवश्यक छ । त्यसैले ईश्वर प्रदत्त विशेष प्रतिभा या आकर्षणलाई लुकाएर राख्नु निजत्वको दमन पनि हो ।
मेरो छट्पटी यही थियो ।

चौथोपटक उसँग म आफै भेट्न चाहन्थेँ । मैले नै प्रस्ताव गरेँ, खप्तड क्याफेमा । यसपटक उसले मेरै मनको कुरा गर्याे –

“म केवल शब्दकवि मात्र हैन महोदया, फोटोपत्रकार पनि हुँ । तपाईँ आफ्ना केही पोज फोटोहरू मलाई खिच्न दिनुहोस् । तपाईँको आग्नेय सुन्दरतालाई म संसारसामु प्रकाशमा ल्याइदिन्छु । एउटा राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा तपाईँको ब्लोअप निकालिदिन्छु । मञ्जुरी छ ?”
म चकित परेँ । उसले कसरी बुझयो मेरो उत्कट चाहना ? म खुसीले पगाल हुन आँटेकी थिएँ । तैपनि भनेँ – “एउटा गृहिणीको ब्लोअप ? त्यो पनि राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा ?” “म कुनै मोडल होइन नि, न त हिरोइन नै ।”

“तपाईँ केही हुनु र नहुनुमा मेरो केही सरोकार होइन । केवल म तपाईँको सुन्दरताको पारखी हुँ, आफ्नो जीवनको अस्तित्व र मूल्य खोज्नुहोस् । त्यत्तिकै खेर जान नदिनुस् । बस् । मञ्जुरी छ ?”

उसका कुराले मलाई भित्रदेखि हलचल गरिदियो । म निशब्द र नाजावाफ भएँ । मेरो वर्षौदेखिको रहरको कुरा ऊ बोलिरहेथ्यो । म के बोलौं ? त्यसै मन नलागी छुट्टिएर आएँ । घरमा आएर सल्लाह गर्दा श्रीमान्ले ‘नाईँ’ भन्नु भएन । तापनि मलाई भित्रभित्रै एक प्रकारको द्विविधा भैरह्या,े के गरौँ ? दिऊँ या नदिऊँ ? मेरो जीवनमा त्यसले केही फरक पार्ला कि ? एउटा मनले भन्यो – आखिर त्यस्तो बिघ्न सुन्दरता नै के छ र मसँग ? किन मान्छे यसरी अनुरक्त भएका होलान् मप्रति ? रातभरी यस्तै भावहरू मनमा खेलिरहे । सोचेँ – सबैले कहाँ पाउँछन् र यस्तो अवसर ? आखिर केही छ, मसँग र त मान्छेको आकर्षण छ । म दोस्रोदिन स्टार स्टुडियोमा पुगेँ । कविलाई बोलाएँ । विभिन्न पोजका सातओटा फोटो दिएर फर्केँ ।

एक महिनापछिको रङ्गीन पत्रिकाको मध्यपृष्ठमा मेरो ब्लोअप छापियो । मेरो खुसीको सीमा रहेन । त्यसैत्यसै मन रोमाञ्चित भयो । देश–विदेशबाट फोन र म्यासेजमा बधाइहरू आउन थाले । मान्छेहरू भेट्न घरमै पुग्न थाले । पत्रकारहरू अन्तर्वार्ता लिन थाले । अहो, लाग्यो– म कहाँबाट कहाँ पुगेछु । एउटा सेलिब्रेटी जस्तै मान्छेहरूको नजरमा म त्यत्तिकै पर्न थालेँ । भेटमा कविले बधाईका लागि हात अघि बढाए । एककदम अगाडि बढेर म उनका गला लागेँ । — “थ्याङक यू सो मच माइ डियर कवि ।”
त्यसपछि मेरो दुनियाँ अर्कै भयो । जिन्दगीले कोल्टो मात्रै फेरेन, आसमान छोयो । पत्रिकामा ब्लोअप छापिएको एक महिनापछि काठमाडौँबाट फोन आयो । बहुराष्ट्रिय सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले एउटा महत्वपूर्ण विज्ञापनमा खेल्न प्रस्ताव गरेको थियो । मेरो खुसीको सीमा रहेन । घरमा अनुमति मागेँ ।

“आफ्नो प्रतिभा र व्यक्तित्व विकासका लागि आएको एउटा महत्वपूर्ण अवसरको सदुपयोग गर्नू, तिमीलाई मेरो शुभकामना ।”
घरबाट निस्कने बेला मेरा श्रीमान्ले माथा चुम्दै यिनै शब्दद्वारा बिदाइ गर्नुभयो । म सिमलको भुवाजस्तै उडेर काठमाडौं पुगेँ । सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले मेरो कपालका केस्राकेस्रा केलायो । एकएक रौं हातमा लिएर सहलायो । र, एउटा प्रस्ताव अगाडि सार्यो –

विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् ।

“तपाईँका रेश्मी कपालहरू हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । विज्ञापनमा प्रयोग गरेबापत तपाईँ आफ्ना कपालको मूल्य पचास लाख लिनुहोस् । सट्टामा आफ्ना कपालको सर्वाधिकार कम्पनीका नाममा गर्दिनुस् । मञ्जुरी छ ?”
अहो ! जाबो कपालको विज्ञापन दिएवापत पचास लाख ? मेरा लागि काठमाडौंको आकाश साँघुरो भयो । म खुसीले पूरै आकाशमा उड्न चाहन्थेँ । माछा जस्तै तैरिन चाहन्थेँ । अहिलेसम्मको जिन्दगीमा मैले पचास लाख देखेकै थिएन । दायाँबायाँ कतै नहेरी फायलमा साइन गर्दिएँ ।

मेरो कपालहरू टिभीमा आउन थाले । पत्रिकामा छापिन थाले । अब म सामान्य महिला कहाँ थिएँ र ! एउटा गल्यामर दुनियाँमा मेरो प्रवेश भैसकेको थियो ।

हप्तादिन पछि बहुराष्ट्रिय बिन्दी उत्पादक कम्पनीको म्यानेजरले फोन गर्यो । म उफ्रिदै भेट्न गएँ । उसले प्रस्ताव ग¥यो —
“तपाईँको निधार हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछ । विज्ञापनमा प्रयोग गरेबापत तपाईँको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् ।”

म दोधारमा परेँ । एउटा मनले भन्यो– “अहो ! भावीनीले भाग्य लेख्ने निधारमै हो भन्थे । यै निधार अर्काको नाममा पास गर्दिएँ भने मेरो भाग्य कहाँ लेखिएला ?”
अर्को मनले भन्यो – “ अरे लाटी, भाग्य भनेकै यै हो, चिनिनस् ? पचासपचास लाख तेरो खप्परमा कैले आथ्यो ? अलमलमा नपर् । फटाकसे पास गर्दे ।”

मैले म्यानेजरको हातबाट फायल तानेँ । र, तुरुन्त साइन गर्दिएँ । टिभी र पत्रिकाहरूमा मेरो निधार देखिन थाल्यो । चिटिक्क लालबिन्दी लाएको आफ्नै गोह्रो निधार देखेर मनमनै सोच्थेँ – “आहा ! कति भाग्यमानी निधार मेरो ।”
सातादिनपछि बहुराष्ट्रिय गाजल उत्पादक कम्पनीको म्यानेजरको फोन आयो । गएँ । उसले प्रस्ताव अघि सार्याे –
“तपाईँका स्वप्निल आँखाहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । आफ्ना आँखाको मूल्य एक करोड लिनुस् । सट्टामा आफ्ना आँखा कम्पनीको नाममा पास गर्दिनुस् ।”
म अन्यमनस्क भएँ । “संसार हेर्ने आँखा कसरी अर्काको नाममा पास गरुँ ? केही सपनाहरू पनि छन् यी आँखामा ।” यस्तै केके सोचेँ ।

तत्काल अन्तरआत्माले जवाफ दियो – “अरे बुद्धु तेरा यी आँखाले कैल्यै सपनामा पनि एक करोड देखेको छ ? एकएक करोड देख्ने सौभाग्य कैले पाउँछन् र तेरा यी रिठ्ठे आँखाले ? आफ्नो सपना ऐल्यै पूरा हुन थालेको देख्दिनस् ?”
मैले दायाँबायाँ कतै हेरिन । तुरन्त फाइल लिएँ र साइन गर्दिएँ । सागरजस्ता मेरा आँखाहरू टिभीको स्क्रिनमा देखिन थाले । खुसीले म उसै उड्न थालेँ ।

त्यहीसाँझ बहुराष्ट्रिय टुथपेष्ट उत्पादक कम्पनीको म्यानेजरको प्रस्ताव आयो – “तपाईँका दाँतहरू हाम्रो कम्पनीको विज्ञापनको लागि काम लाग्नेछन् । एक करोड रुपैयाँ लिनुस् । सट्टामा आफ्ना दाँत कम्पनीको नाममा पास गर्दिनुस् ।”
मैले आँखा चिम्लेर सही गर्दिएँ ।

केही दिनपछि क्रिम कम्पनीको म्यानेजरले फोन गर्यो । अब मसँग आफ्नो कार थियो । आफै हाकेर गएँ । भेटमा उसले पनि त्यस्तै प्रस्ताव गर्यो –
“तपाईँको गाला हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । त्यसबापत एक करोड रुपैयाँ लिनुस् र कम्पनीका नाममा आफ्ना गाला पास गर्दिनुस् ।”
मैले एक करोड बुझेँ । फायलमा सही गर्दिएँ ।

सातादिनभित्र अर्को फोन आयो । लिपिष्टिक उत्पादक कम्पनीको म्यानेजरको फोन थियो । भेटमा उसले प्रस्ताव ग¥यो – “तपार्इँका गुलाबी ओठहरू यस कम्पनीको विज्ञापनको लागि काममा आउने छन् । दुई करोड रुपैयाँ लिनुस् र आफ्ना ओठहरू कम्पनीका नाममा पास गर्दिनुस् ।”
मैले ओठ चुच्चो पारेँ ।
ऊ झस्कियो । “के सोच्नु भयो ? चित्त बुझेन भने एक करोड थप लिनुस् न त ।”
मैले आफ्नो ब्यागबाट कलम झिकेँ । फायलमा साइन गरेर अघि गर्दिएँ । मेरा ओठहरू प्यासी भएर टिभीको स्क्रिनमा देखिन थाले । वाह ! मेरो जिन्दगी ।
यो क्रम निरन्तर जारी रह्यो ।

त्यसपछि नङ पालिस उत्पादक कम्पनीका मानेजरले तीन करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना नङ दिएँ । मेहेन्दी उत्पादक कम्पनीले चार करोडको प्रस्ताव गर्यो, मैले आफ्ना हत्केला दिएँ । साडी उत्पादक कम्पनीले पाँच करोडको प्रस्ताव ग¥यो, मैले आफ्नो नितम्ब र नाइटो दिएँ । ब्रा उत्पादक कम्पनीले छ करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना दुबै स्तन कम्पनीका नाममा पास गर्दिएँ । पेन्टी उत्पादक कम्पनीले सात करोडको प्रस्ताव ग¥यो, मैले आफ्ना जाँघ र मूलाधारचक्र कम्पनीका नाममा पास गर्दिएँ ।
अनि ?

अनि एकदिन बहुराष्ट्रिय कण्डम उत्पादक कम्पनीको म्यानेजरले दश करोडको प्रस्ताव अगाडि सार्याे, मैले कम्पनीको नाममा आफ्नो योनि पनि पास गर्दिएँ । मेरो शरीरमाथि मबाहेक अरू कसको अधिकार थियो र ! मेरो अस्तित्वको भोक्ता केवल मै थिएँ । यसरी मैले आफ्ना शरीरका टुक्राटुक्राहरू जीवनको सुखका लागि बेचिदिएँ ।

अब मसँग के थिएन ? काठमाडौंमा आलिसान महल थियो । गाडी–मोटरहरू थिए । नोकर चाकरहरू थिए । बैंकमा ब्यालेन्स थियो । आफ्नो श्रीमान् र छोराहरूलाई काठमाडौँ ल्याइसकेकी थिएँ । अरुले देख्ने सपनाको जिन्दगी मसँग साकार थियो । सातौं जुनीसम्म पनि पूरा नहुने सपना मैले एक जुनीमा पूरा गरेकी थिएँ ।

घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी ।

वाह ! मेरो जिन्दगी ! वाह मेरो सपना !
परन्तु एउटा उदेक लाग्दो तनावले मेरो जिन्दगीमा पाइला राख्यो । म रातदिन विज्ञापनका काममा व्यस्त हुन थालेँ । कुनैबेला त दिन होइन, हप्ता होइन, महिनौं बाहिर हुन थालेँ । म सडकबाट आकाशको जिन्दगीमा पुगेकी थिएँ । बहुराष्ट्रिय कम्पनीका मालिकहरूले कहिले अमेरिका लिएर जान्थे, कहिले क्यानाडा । कहिले सिंगापुर लिएर जान्थे, कहिले स्वीजरल्याण्ड । लामो समयपछि घर फर्किदा बच्चाहरूले आमाको अनुहार बिर्सिसकेका हुन्थे । श्रीमान्का लागि म बिरानी भइगएकी हुन्थेँ । मसँग धनसम्पत्ति थियो । घर र गाडीहरू थिए । सुविधाका साधनहरु थिए । सबै चिज पूरा थियो परन्तु आफ्ना छोरा र श्रीमान्का लागि दिने एक घण्टा पनि समय थिएन ।

यहीँनेरबाट जीवनका खुसीहरू खोसिन थाल्दा रहेछन् । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । सम्पत्ति र सुख सँगै बस्न नसक्दा रहेछन् । मेरो जीवनमा एकातिर बेहिसाबले धन प्राप्ति हुँदै थियो भने अर्कोतिर अप्रत्याशित रुपमा सुख र शान्ति खोसिदै जान थालेको थियो ।

द्यौताजस्ता मेरा श्रीमान् मेरो जिन्दगी देखेर कायल भएका थिए । कहिल्यै नबोल्ने श्रीमान्को कचकच सुरु भएको थियो । बहुदा हाम्रा दिनहरू झगडा र तनावमा बित्न थाले । ममा पनि सम्पत्तिको अभिमान चढेको थियो । मभन्दा बढी श्रीमान्ले कुरा बुझ्नुपर्छ भन्ने मान्यता थियो तर श्रीमान्मा अर्कै किसिमको उराठता र उदासिनता । अन्तत एकदिन श्रीमान्ले डिभोर्स फायल अदालतमा पेश गरे । आकाशबाट खसेजस्ती त म त्यतिबेला भएँ जतिबेला मतिर हेर्दै नहेरी मेरा छोराहरू आफ्ना बाबाको हात समातेर गाउँ फर्के ।
जुनदिन मेरो घर रित्तो भयो, लाग्यो – मेरो जिन्दगी निरर्थक भयो । कुनैबेला सोच्थेँ, नियतिले एक्लो गर्यो त के भयो ? एक्लै पनि सङघर्ष गरेर बाँच्नु छ । मेरो अस्तित्व संघर्ष गर्नुमै छ । तर अस्तित्व भन्ने कुरा पनि खुसीसँगै जोडिएको हुँदो रैछ । खुसी खोसिदा जिन्दगी निरर्थक लाग्दो रैछ । भन त, यत्रो सम्पत्ति मैले कसका लागि कमाएँ ? कसको भरमा छोडेर गए मलाई, मेरो श्रीमान् र छोराहरूले ? अब मेरो को थियो र जीवनमा ? सानो खुसीका लागि मैले जे गरेँ, त्यसले ठूलो खुसी खोसेर लग्यो मबाट । यत्रो विशाल सम्पत्तिले के गर्छ अब मलाई ? आफ्नै सानै झुपडीमा टाउको लुकाएर बसेकी भए मेरो के चाहिँ बिग्रिन्थ्यो र ? के म मेरो त्यो जिन्दगीबाट सन्तुष्ट हुने थिएन र ?

संसारमा एउटा विश्वास छ, सम्पत्ति र समृद्धि नै सुखको प्रतिक हो । तर होइन रहेछ । त्यो केवल भ्रम रहेछ । सम्पत्ति र सुख एकैसाथ सधैँ रहन नसक्ने चिज रहेछन् । सुखको साइनो आत्मासँग हुन्छ, सम्पत्तिको भौतिकतासँग । भौतिक समृद्धिले म पुरिएकी थिएँ परन्तु आत्मिक सुख खोसिएको थियो सदाका लागि मबाट ।

थाहा भयो, मैले रोजेको बाटो दुखको बाटो रहेछ । मनमा सुख र सन्तुष्टि हुँदा शरीर बैंशको डालीजस्तै हराभरा थियो । जब त्यो हरण भयो, मेरो शरीर पनि शिशिरको सिमलजस्तै खङरङ्ग हुँदै गयो ।

अब कसका लागि काम गर्नु मैले ? यसै झोक्राएर बसिरहेँ ।

मेरो जिन्दगीमा जस्तो पहिरो गए पनि दुनियाँलाई मतलब नै के हुन्थ्यो र ! आखिर म अनुबन्धित पनि थिए नै । अब मेरो जिन्दगी मेरो हातमा मात्रै कहाँ थियो र ! मन नलाग्दा काम गर्न सक्दिन भन्ने अधिकार मैले गुमाइ सकेकी थिएँ । मैले मेरो शरीरका एकएक अङ्गहरू बेचिसकेकी थिएँ । कपाल जसले किनेका थिए, उनैले सहलाउँथे । निधार र आँखा जसले खरिदेका थिए, उनैले चुम्थे । गाला र ओठको मूल्य जसले तिरेका थिए, उनैले टोक्थे । स्तनहरू जसले रिजर्ब गरेका थिए, उनैले निचोर्थे । नितम्ब र नाइटो जसले कबुलमा लिएका थिए, उनैले सुम्सुम्याउँथे । जाँघ र योनिको अनुबन्ध जसले गरेका थिए, उनैले काम चलाउँथे । आफ्नो जिन्दगीमा मैले के बाँकी राखेकी थिएँ र ! एकएक अङ्गको सौदा गरिसकेकी थिएँ । सर्वाङ्ग म रित्तिसकेकी थिएँ ।

यसरी रस निचोरिएको कागतीको खोस्टोझैँ भैसकेपछि काठमाडौँको सडकमा मिल्काइएँ म ।
यसबेला मसँग न मेरा श्रीमान् छन्, न छोराहरू । न मसँग मेरो कपाल सहलाउने बहुराष्ट्रिय कम्पनीका मालिक छन्, न मेरो कविता कोर्ने कवि । छौ त केवल वर्षौँपछि नियतिले भेट गराइ दिएको पुरानो जमानाको एउटा साथी । तिमी ।
भोग्नलाई त सबै भोगेँ । भन त, आखिर के पाएँ, मैले यस जिन्दगीबाट ? के हो मेरो जिन्दगीको उपादेयता ? कहाँ साकार भयो, मेरो अस्तित्व ? मलाई बताऊ त ।

वषौंपछि तिमीसँग भेट हुँदा मैले सङ्गालेका यतिका दुर्गन्धित कुराहरू सुनाउने मौका पाएँ । एकैछिनलाई भए पनि मन हलुका भयो । एक वसुभोगा आइमाई भनेर घृणा नगरिदिनू । अब जान्छु पनि ल ।
××× ××× ×××

ऊ उठेर गई । उसका मसिना चार ओटा औंलाहरु उसैगरी माथि उठे – “बाई ।”
चोर औलाका साथमा मेरो अर्को औँला पनि उठ्यो –
“बाई ।”
खै किन किन मेरा आँखाहरू लोलाएर तल झरे ।
“उफ ।” मुखबाट एउटा सुस्केरा छुट्यो ।
“हैट, साला जिन्दगी !”

प्रतिक्रिया दिनुहोस