राजेन्द्र महतोले भने- ‘राष्ट्रियता कसैको एकलौटी हुन सक्दैन’

जेठ ३१, २०७७

काठमाडौं। नवगठित जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले हिमाल, पहाड र मधेशका असन्तुष्ट जनताले चाहे अनुसारको संविधान संशोधन गर्न माग गरेका छन्।

नेपालको राजनीतिक नक्शालाई संविधानको अनुसूचीमा अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न बोलाइएको प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै महतोले त्यस्तो माग गरेका हुन्।

संविधानप्रति धेरै असन्तुष्टि हुँदाहुँदै पनि नेपाली भूभाग र राष्ट्रियताको विषय भएकाले आफूहरू संविधान संशोधनको पक्षमा उभिएको उनले बताए।

“प्रत्येक मधेशी सेना भएर सीमाको रक्षा गरेको छ,” उनले भने, “तर, अनुहार हेर्नेबित्तिकै मधेशीलाई भारतीय भनेर विभेद गरिन्छ। अब आजबाट त्यस्तो सोच हटाइदिनुहोस्।”

हिमाल, पहाड र मधेशका जनता आफ्नो भूमिप्रति सजग र संवेदनशील रहेको उनले बताए। उनले भने, “राष्ट्रियताको सवालमा एकलौटी छ। मधेशीले पनि राष्ट्रियताको रक्षा गर्छ र भन्छन्। तर, यो कसैको एकलौटी होइन। कुनै एउटा जाति, क्षेत्र वा समुदायको राष्ट्रियता कायम लाग्दैन।”

संविधानले पूर्णता नपाएको बताउँदै शोषण, उत्पीडनमा परेका जनताको भावनाअनुसार पनि संविधान संशोधन गर्न उनले माग गरे।

उनले भने, “भूमि मात्र होइन जनता पनि राष्ट्रियता हो। त्यसका लागि हामीले जनताको माग पनि पूरा गरिदिनुस् भनेका हौं।”

जनता समाजवादी पार्टीका नेता महतोले कागजको नक्शा जारी गरेर मात्र नपुग्ने जमिन नै फिर्ता ल्याउनुपर्ने बताए।

“जनतालाई कागज देखाएर मात्र पुग्दैन, जनताले जमिन नै खोजेको छ। वार्ताका माध्यमबाट त्यो फिर्ता ल्याउन पहल गर्नुहोस्,” उनले भने, “साथै यही मौकामा को राष्ट्रघाती हो भन्ने पनि पहिचान हुनुपर्‍यो। हिजो नेपालको नक्शामा भएका ती भूभाग कसरी गायब भए ? पार्टी फुटाएर भए पनि महाकाली सन्धि पारित गर्ने नेताले त्यो बेला किन महाकालीको मुहान पत्ता लगाउन आवश्यक ठानेनन् ? त्यसको पनि जवाफ चाहियो।”

प्रतिक्रिया दिनुहोस