पाठ्यपुस्तक साटासाट गरौ, बालबालिकालाई नयाँ कक्षाकाे पुस्तक घरमै पढाउँ

बैशाख २, २०७७

 


समय र परिस्थितिको नदी सिधै बाटोबाट हिडिरहेको भए यतिबेला स्कुले बालबालिकाहरु झोलामा वासनादार किताब बोकेर विद्यालय ओहोरदोहोर गरिरहेका हुन्थे । छापाखानाबाट ताजै निकालीएका वासनादार कितावका सबै पाना पल्टाएर नयाँ कितावको स्वाद मेटिसकेका हुन्थे । तर समय फरक भयो, परिस्थिति फरक भयो ।

यतिबेला न विद्यालय लागेका छन् , न त विद्यार्थीका झोलामा बासनादार किताब नै छन् । नयाँ कक्षा चढेको खबर पाएपनि, नयाँ कक्षाको किताब उनीहरुले अझै भेट्टाएका छैनन् ।

वासना हराएको किताबबाट विषय हराउँदैन भन्ने सिकाउनु आवश्यक छ ।

संकटले दुख मात्र दिदैन यसलाई सही ढँगले लिन सकियो भने अनेकानेक सृजनाहरु पनि गर्दछ । यो पनि संकटको अवस्था हो । हामी संकटसँग त्रसित होइन सजग हुने हो । घरमै नयाँ किताव नपाएर “अक्षर बेरोजगार” भएका तपाईका बालबालिकाको किताव किन्नका लागि सरकारले अहिले खोल्न अनुमति नदिएको पुस्तक पसल मात्रै अन्तिम विकल्प होइन । तपाईको घरसँग जोडएको घरमा छन् तपाईका बालबालिकाका लागि चाहिने सबै किताब ।

बाँसना मात्रै हराएका ती किताबबाट विषयवस्तु अझै ताजा भएर बसेका छन् । अहिले धेरै अभिभावकहहरु वालवालिकालाई घरमै पढाउन सक्ने खालका छन् । विद्यालय लागेको छैन भनेर उनीहरुलाई किताबबाट टाढा राख्नु न्यायोचित होइन । विद्यालय नलागे पनि घरमै पढ्न सकिन्छ भन्ने सोचको विकास गराउनु आवश्यक छ । वासना हराएको किताबबाट विषय हराउँदैन भन्ने सिकाउनु आवश्यक छ ।

पाठ्यपुस्तक साटासाट गरौ, यो संकटको घडीमा सबैलाई पैसाको अभाव छ । कहिलेकाही पैसाको वदला धन्यवाद पाउँदा पनि ठूलो कमाई जस्तो हुन्छ । मन फराकिलो पारौ, कक्षा चढेको पल्लो घरको बालबालिकालाई, तपाईको छोराछोरीले पढिसकेको किताब दिनुस् । यसले समाजमा तपाईको उचाई पक्कै पनि उचो वनाउँनेछ । सामाजिक सम्बन्धको गाँठो पनि फुकाल्नै नसक्ने गरी बाँधिन्छ ।

यो बर्ष बालबालिका र अभिभावको पीडालाई मनन गरेर संस्थागत विद्यालयहरुले किताब “कम्पनी” पनि नवदल्नुहोला ।

सुरक्षा विधि अपनाएर दिइएका यस्ता किताब, पाउनेका लागि वासनादार किताव जस्ता हुनेछन् । हाम्रो शिक्षा प्रणालीले माटो र ढुँगो खेलाएर सिकेको कुराले मात्रै कक्षा चढाउन सक्दैन । पाठ्यक्रमले तोकेका निश्चित कुराहरु पुरा गर्नैपर्दछ । नयाँ कक्षाको किताव पायो भने बालबालिकाले केही पढ्ने जाँगर पनि चलाउँछन् । हाम्रो धरातलबाट हेर्दा अनलाइन कक्षा, युट्युव, अनलाईन किताब पहुँचयोग्य नहुन सक्छ तर पुराना किताब एउटा घरबाट अर्को घरमा मज्जाले लैजान सकिन्छ ।

यो बर्ष बालबालिका र अभिभावको पीडालाई मनन गरेर संस्थागत विद्यालयहरुले किताब “कम्पनी” पनि नवदल्नुहोला । यसपाला पुरानै किताबमा पढ्न दिनुहोला । वासनादार किताब अर्कोसाल पनि पढ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस