विपद् व्यवस्थापन सम्बन्धि “भर्चुअल” पत्रकारिता तालिम

बैशाख २५, २०७७

काठमाडाै, २५ वैशाख ।  लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपत् व्यवस्थापन तालिम पूरा गरेका छन् । विभिन्न ४० जिल्लाका ६२ पत्रकारले यस्ताे तालिम पुरा गरेका हुन् ।

नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न तालिममा विपद्काे समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यताका विषयमा विस्तृत छलफल भएकाे  विज्ञ विज्ञान शर्माले जानकारी दिए ।

बर्नमथ युनिभर्सिटीका प्रा. आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा छापा, प्रसारण र अनलाइन माध्यममा सक्रिय नेपाली पत्रकारलाई प्रशिक्षण दिएका थिए । थोरसन बर्नमथ युनिभर्सिटीस्थित मिडिया तथा सञ्चार विभागका कार्यकारी डीन पनि हुन् ।

प्रेस इन्ष्टिच्यूटका तर्फबाट वरिष्ठ पत्रकार कपिल काफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपालीले सहजीकरण गरेका थिए ।

यसैगरी विज्ञ प्रशिक्षक विज्ञान शर्माले पनि सहभागीलाई विपद् व्यवस्थापनको समाचार लेखनका वारेमा प्रशिक्षण दिएका थिए ।

एक सय २८ पत्रकारहरुले तालिमका लागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र पहिलो पटकका लागि छानिएको थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापन गर्दै पत्रकारको चाहनालाई सम्मान गर्दै अर्को समूहका लागि पनि तालिम दिने तयारी भैरहेको जानकारी दिए । समापनकै क्रममा महासचिव लक्ष्मण हुमागाईंले लकडाउनको समयमा पनि प्रक्षिणमा सहभागी भएकोमा सम्पूर्ण पत्रकारप्रति आभार प्रकट गरे ।

सहभागी पत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोना भाइरसको महामारी लगायतका विपद्का विषयमा कम्तीमा एउटा समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस