मन्त्री ज्वालाले दिए सल्यानका दशवटै पालिकालाई थर्मलगन

बैशाख १, २०७७

 

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सल्यानका दशवटै पालिकालाई थर्मलगन हस्तान्तरण गरेका छन् । कोरोनाको जाँचलाई सहज गर्न थर्मलगनबाट उच्च ज्वरो रहे–नरहेको जाँच गरी कोरोनाको जोखिम भए–नभएकोबारे सहज पुऱ्याउने उद्देश्यले थर्मलगन प्रदान गरिएको हो ।

बिहीबार सल्यानमा आयोजना भएको जिल्ला विपत् व्यवस्थापन समिति सल्यानको बैठकमा सहभागी हुन गृहजिल्ला पुगेका मन्त्री ज्वालाले सबै स्थानीय तहलाई थर्मलगन प्रदान गरेका हुन् ।

मन्त्री ज्वालाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै तहको सहकार्य जरुरी रहेको बताए । उनका अनुसार प्रदेश सरकारले प्रदेश, जिल्लास्तरमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउनुका साथै स्थानीय तहलाई स्वास्थ्य सामग्री व्यवस्था, राहत आदिको कामलाई योजनाबद्ध रूपमा गरिरहेको छ । बैठकमा स्थानीय तहका प्रमुखहरूले आ–आफ्ना गाउँ तथा नगरले अहिलेसम्म गरेका प्रयासहरूबारे जानकारी गराएका थिए ।

विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बैठकमा कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि भएको लकडाउनको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा समीक्षा भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस