सरकार ! स्वास्थ्यकर्मी पनि मान्छे हुन्

चैत २५, २०७६

    सम्पादकीय 

उपचार गर्न मानेनन्  भनेर स्वास्थ्यकर्मी माथि खनिनु भन्दा उनीहरुलाई कति सुरक्षित राख्न सकियो भन्ने बारेमा पनि सोच्नु आवश्यक छ । हरेक स्वास्थ्यकर्मीका परिवार छन् , साँझ घरमा जाँदा मुस्कानले स्वागत गर्न आतुर सन्तान र बुढा बाबु आमा पनि छन् अनि दिनभरि काम गरेपछि साँझ ढुक्कसँग एक अर्काको अँगालोमा वाँधिएर सुत्ने रहर पनि छ ।

 

कोरोना संक्रमणको समयमा अन्य रोगका विरामी चेकजाँच नगरेको आरोप यतिवेला स्वास्थ्यकर्मी माथि रहेको छ । त्यति मात्रै होइन उनीहरुको लापरबाहीका कारण अन्य रोग लागेका विरामीहरुले पनि अकालमा मृत्युवरण गर्नुपरेका समाचारहरुले यतिवेला विभिन्न सञ्चार माध्यममा स्थान पाइरहेका छन् ।

अस्पताल छन्, स्वास्थ्यकर्मी छन् , औजार छन्, औषधि पनि छन् तर विरामीले सेवा पाइरहेका छैनन् । झट्ट हेर्दा स्वास्थ्यकर्मीको गैरजिम्मेवारपना लाग्न सक्छ । तर अहिलेको अवस्थामा के स्वास्थ्यकर्मीले नै गल्ती गरेका हुन् त ? यसको उचित समिक्षा हुनु जरुरी छ ।
केही दिन अगाडि एक जना चिनेको साथीले स्वास्थ्य केन्द्रमा औला काँटेको समेत उपचार नभएको वताए ।

स्वास्थ्यकर्मीले छुन समेत नमानेपछि आफुले टालो बाँधेर रगत रोक्न वाँध्य भएको विवशता थियो उनको । मैले तत्काल स्वास्थ्यकर्मीसँग कुरा गरे । सामान्य अवस्थाको मानिसलाई किन उपचार नगरेको ? भनेर प्रश्न पनि गरे । तर स्वास्थ्यकर्मीको गुनासोले मलाई नाजावाफ वनायो ।
अहिले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा पिपिइ हुनुपर्दछ ।

उपचार गर्न आउने मान्छे सक्रमित रहेछ भने त्यसले के गर्छ ? आज इटली र स्पेनमा के भएको छ ? केयौ स्वास्थ्यकर्मीले आँखै अगाडि ज्यान गुमाएको सुन्दा, हेर्दा कुन स्वास्थ्यकर्मीलाई सुरक्षित हुन मन लाग्दैन ?

जसलाई पनि आफ्नो जीवनको माया लाग्छ । अरुलाई वचाउनका लागि पहिले स्वास्थ्यकर्मी आफु बाँच्नुपर्यो । स्वास्थ्यकर्मी नै नरहे के को उपचार ? आज दाङ्ग जिल्लाको सन्दर्भमा हेर्ने भने पनि यो समस्या यथावत छ । यहाँका अस्पतालहरुमा पिपिइ लगायत अन्य सुरक्षाका सामग्री नहुँदा चिकित्सकहरु आफै असुरक्षित मनोविज्ञानमा रहेका छन् ।

आफैलाई असुरक्षित महसुस गर्ने चिकित्सकले कसरी गतिलो उपचार गर्न सक्छ ? सबैको मनमा उब्जने प्रश्न हो यो । अहिले हरेकले “वर्क फ्रम होम” भनिरहदाँ स्वास्थ्यकर्मी सिपाही सरह फिल्डमा खटिएका छन् । सिपाहीलाई फिल्डमा खटाउँदा आवश्यक हतियार उपलब्ध गराउनु सर्वमान्य कुरा हो ।

हतियार उपलब्ध नगराउने अनि काम गरेनन् भन्ने यस्तो कुराले स्वास्थ्यकर्मीको मनोबल खस्कने भन्दा केही हुन सक्दैन । विपत्ति पहिल्यै खवर गरेर आउँदैन जसले गर्दा यो घटिसकेपछि मात्रै योजना वनाउनुपर्ने हुन्छ । अहिलेको अवस्थामा पनि यो भएको छ । तर यति लामो समय भइसक्दा पनि किन सरकारले स्वास्थ्यकर्मीका लागि पिपिइ व्यवस्था गर्न सकेको छैन ? आफुलाई सुरक्षा सामग्री चाहियो भनेर माग गर्नु उनीहरुको अधिकार होे ।

स्वास्थ्यकर्मीलाई सुरक्षित वनाउँनु उसका लागि मात्रै नभएर बिरामीका लागि पनि हो । एउटा विरामी संक्रमित हुँदा सिमित व्यक्तिलाई मात्रै सर्ने सम्भावना हुन्छ भने एउटा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा त्यसले केयौ बिरामीलाई सार्ने सम्भावना रहन्छ । निको हुनका लागि अस्पताल गएको मान्छे रोग बोकेर घर फर्कन्छ भने कसरी नियन्त्रण हुन्छ कोरोना ? कोरोनाका वारेमा गहिरो ढँगले वुझेको मान्छे सुरक्षा व्यवस्था नअपनाएको चिकित्सकसँग कसरी चेकजाँच गराउन जाने ? यो गम्भिर प्रश्न छ ।

सरकारले तत्काल पिपिइ लगायत अन्य सुरक्षा सामग्रीको व्यवस्था गर्नमा ध्यान दिनुपर्दछ । समयमै यसमा ध्यान दिन सकिएन भने सामान्य रोगका कारण पनि मानिसले ज्यान गुमाउनुपर्ने क्रम वढेर जाने हुन्छ । यो विषयमा तत्काल गम्भिर हुनु आवश्यक छ । ज्यानको माया मारेर कसैले पनि अरुको सेवा गर्न सक्दैन ।

उपचार गर्न मानेनन्  भनेर स्वास्थ्यकर्मी माथि खनिनु भन्दा उनीहरुलाई कति सुरक्षित राख्न सकियो भन्ने बारेमा पनि सोच्नु आवश्यक छ । हरेक स्वास्थ्यकर्मीका परिवार छन् , साँझ घरमा जाँदा मुस्कानले स्वागत गर्न आतुर सन्तान र बुढा बाबु आमा पनि छन् अनि दिनभरि काम गरेपछि साँझ ढुक्कसँग एक अर्काको अँगालोमा वाँधिएर सुत्ने रहर पनि छ ।

प्रतिक्रिया दिनुहोस