दुनियाँको यस्तो शहर, जहाँका मानिस एकाएक पत्थर बने

चैत १, २०७६

कुनै मान्छे तथा रुखलाई कसैले छुनेबित्तिकै ढुंगा बन्ने गरेका कहानीहरु कतिपय लोककथामा सुनिएको थियो । तर यो दुनियामा यस्तो शहर छ, जहाँ इतिहासको कुनै कालखण्डमा हजारौँ मानिस, जीवजन्तु तथा बोटविरुवाहरु एकाएक सर्वनाश भएर अन्ततः पत्थर बनेका थिए ।

मान्छे तथा सबै जीवजन्तु र वनस्पती ढुंगा बनेको शहर इटालीमा छ । उक्त शहरमा अहिले पनि पत्थर बनेका ती मानिस तथा जीवजन्तुका आकृति देखिन्छन् । झ्वाट्ट हेर्दा ती कुनै मूर्तिजस्ता लाग्दछन् । तर ती मूर्ति नभै साँच्चिकै पत्थर मानव हुन् । जसको पछाडि निकै भयानक इतिहास लुकेको छ ।

उक्त शहरको नाम पोम्पई हो । जहाँ आजभन्दा झण्डै साढे १९ सय वर्षअघि १५ हजार मानिसको बसोबास थियो । सन् ७९ मा त्यहाँ एउटा भयानक घटना भयो । एकै झट्कामा पूरा शहर ध्वस्त भयो । वैज्ञानिकहरुले उक्त शहरको भग्नावशेषबाट यस्ता तथ्यहरु उत्खनन गरेका छन्, जसका कारण उक्त प्रलयबाट शहरमा त्यसबेला कोही पनि जिउँदो रहन नपाएको अनुमान गर्न सकिन्छ ।

पोम्पई करिब १७० एक्कड क्षेत्रफलमा फैलिएको छ । त्यहाँ रहेका खण्डहरुहरुका आधारमा त्यस समय उक्त शहरमा ११ हजारदेखि १५ हजार मानिसको बसोबास भएको अनुमान गरिएको छ । केही वर्षअघि उत्खननका क्रममा पुरातत्वविदहरुले त्यहाँ एउटा घोडाको शरीर तथा त्यसको कवच फेला पारे, जुन पत्थर बनिसकेको थियो । साथै मान्छेको खप्पर पनि फेला पर्यो, जुन सिसा बनिसकेको थियो ।

वास्तवमा पोम्पइको नजिकै पर्ने नेपल्सको खाडीस्थित माउन्ट वेसुवियसमा सन् ७९ मा भयानक ज्वालामुखी विस्फोट भयो । उक्त ज्वालामुखी विस्फोटबाट ठूलो मात्रामा लाभा, खरानी तथा ग्यास निस्किएर शहरलाई छोप्यो । शहरका कुनै पनि मानिस भाग्न सकेनन् । शहरका मानिस, जीवजन्तु तथा रुखविरुवा समेत ज्वालामुखीको लाभाले पुरिए । जब लाभा सेलाउन थाल्यो तब ठोस अवस्थाको लाभामा लपेटिएर मान्छे र जनावरका लासहरु चट्टान जस्तै भए ।

पोम्पइजस्तै उक्त ज्वालामुखीले अर्को सानो शहरलाई पनि विध्वंस गरेको थियो । त्यसको नाम हर्कुलेनियम हो । सो सहरका सबै मानिस ज्वालामुखीमा परेर मरेका थिए । सो सहरको भग्नावशेषबाट पनि पुरातत्वविदहरुले चट्टानी मानव शरीरहरु फेला पारेका छन् ।

इटालीका यी दुवै शहरहरु युनेस्कोको विश्व सम्पदा सूचिमा रहेका छन् ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस