नेपालमा अनलाइन कक्षा : बाटो विना यातायात सेवा

सम्पादकीय

बैशाख १७, २०७७

 

 

लकडाउनले एकातिर सारा विश्वलाई ठप्प पारेर गति नै मन्द वनाएको छ भने अर्कातिर घरभित्रै वस्नुपर्दा मानिसले अनेक खालका नयाँ नयाँ सृजनाहरु पनि गरिरहेको छ । के गरौ र कसो गरौका विचमा केही राम्रा खालका नतिजा आउने काम पनि भएका छन् भने केही फगत देखाउनका लागि मात्रै भएका कामहरु पनि छन् । परिणाम दिने कामले पक्कै पनि यो वन्दावन्दीको अवस्थामा मानिसलाई सार्थक ढँगले गतिशिल वनाइरहेको छ भने प्रचारमुखी कामले केवल प्रचार मात्रै गरिरहेको छ ।

वन्दावन्दीका विचमा चलेका अनेक वहसहरु मध्ये अनलाईन कक्षा व्यापक वहसको पाटो वनेको छ । अहिले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयदेखि गाउँघरमा सञ्चालनमा आएका सामुदायिक र सस्थागत विद्यालयहरुले पनि अनलाईन कक्षा चलाइरहेका छन् । लकडाउनले विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा यो पक्कै पनि राम्रो काम हो ।

हरेक कुराको विकल्प खोज्नु आफैमा प्रशंसनीय मानिन्छ । तर विकल्प उचित हो या होइन त्यो वारेमा पनि सोच्नु आवश्यक छ । बजारका एकाध घरमा वाइफाइको राउटर झुण्डिएको देख्दैमा अनलाईन कक्षा सञ्चालन गर्न तम्तयार हुने वौद्धिक जमातले वास्तविक अवस्थाको आँकलन गर्नु आवश्यक छ । हामीले के गर्ने भनेर मात्रै हुँदैन ,  हामी कहाँ छाै भन्ने पनि हाे ।

अनलाईन कक्षा सञ्चालन गर्न खोजेको यहाँका एक संस्थागत विद्यालयका प्रधानाध्यपकले १० प्रतिशत पनि विद्यार्थी समावेश नभएपछि छाड्नुपरेको वताएका थिए ।

नेपालमा पछिल्लो तथ्यांकले केवल १३ प्रतिशत विद्यार्थी र अभिभावकहरु मात्रै इन्टरनेटको वलियो पहुँचमा रहेको देखाएको छ । डाँडामा चढ्नुपर्ने र सामान्य सिग्नल मात्रै देखिनेलाई पनि जोड्दा यो केही वढ्न सक्ला । तर हाम्रा अनलाईन कक्षाका लागि इन्टरनेटको गतिको मापन पनि होला । यसरी अनलाईन मै मज्जासँग कुरा सुन्न र राख्नका लागि इन्टरनेटको गति पनि सोही अनुसारको चाहिन्छ । यस्तो पूर्वाधारको अहिले हामी कल्पना मात्र गर्न सक्छौ । सस्तो लोकप्रियताका लागि वाहेक अनलाइन कक्षाको कुनै पनि उद्देश्य हुन सक्दैन ।

कुनै पनि कुरालाई प्रभावकारी ढँगले सञ्चालन गर्नका लागि पूर्वाधारको आवश्यता पर्दछ । पूर्वाधारको आँकलन विना नै अनलाइन कक्षा सञ्चालनको कुनै पनि औचित्य र प्रभावकारीता छैन । केही समय अगाडि तुलसीपुर उपमहानगरपालिकाले गरेको सर्वेक्षणका केवल १४ प्रतिशत मात्रै इन्टरनेटसँग जोडिएको पाइएको थियो । यसरी हेर्दा अनलाईन कक्षाको प्रभावकारीता हामी सहज आँकलन गर्न सक्छौ । अनलाईन कक्षा सञ्चालन गर्न खोजेको यहाँका एक संस्थागत विद्यालयका प्रधानाध्यपकले १० प्रतिशत पनि विद्यार्थी समावेश नभएपछि छाड्नुपरेको वताएका थिए ।

प्रविधिमा सम्पन्न देशको सिको गरेर मात्रै कहाँ हुन्छ र ?

नयाँ युगमा नयाँ प्रविधिलाई आत्मसाथ गरेर जानु आफैमा राम्रो कुरा पनि हो । तर लक्षित समुदायको अवस्था आँकलन नगरेर केवल अभिभावकलाई वोझ दिनका लागि विद्यालयहरुले मञ्चन गरेको अनलाइनको कक्षाकाे नाटकको कुनै पनि अर्थ छैन । अनिवार्यता भन्दा पनि विद्यार्थीले आफ्नो अभिरुची अनुसार अनलाइनमा सहभागी हुने या नहुने भन्ने वारेमा विकल्प छाडिदिनुपर्दछ । दुरदराजमा वस्ने विद्यार्थीले डाटा तानेर कति दिन अनलाईन कक्षामा सहभागिता जनाउन सक्छ ? हामी सहजै आँकलन गर्न सक्छौ ।

पहुँचको सहजताका साथै प्रभावकारिताका दृष्टिले पनि रेडियोलाई हामी प्रयोग गर्न सक्छौ । रेडियोबाट कसरी विषयवस्तुलाई प्रभावकारी ढँगले प्रस्तुत गर्न सकिन्छ भन्ने वारेमा सोच्नु आवश्यक छ । आजको समयमा अनलाइनको विकास भएको छ भन्दैमा कहाँ हुन्छ र ? त्यसको प्रयोग कति छ भन्ने मुल प्रश्न हो । अनलाइन कक्षाका नाममा वालवालिकाहरुलाई मात्रै होइन अभिभावकलाई समेत तनाव दिने काम कसैले पनि गर्नुहुँदैन । प्रविधिमा सम्पन्न देशको सिको गरेर मात्रै कहाँ हुन्छ र ?

प्रतिक्रिया दिनुहोस