काेराेनाबाट काे काे नेपालीले ज्यान गुमाए ?

बैशाख १०, २०७७

कोरोना भाइरस संक्रमणका कारण विश्वभरिमा २६ नेपालीले ज्यान गुमाएका छन्। सबैभन्दा बढी बेलायतमा १६ जनाको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले विभिन्न देशमा रहेका २६ नेपालीले कोरोना भाइरसका संक्रमणबाटै ज्यान गुमाएको पुष्टि गरेका छन्।

एनआरएनएले गठन गरेको कोरोना भाइरस (कोभिड-१९) उच्चस्तरीय समितिले मृतक र संक्रमितको तथ्याङ्क संकलन गरिरहेको जानकारी पन्तले दिए।

अध्यक्ष पन्तका अनुसार सबैभन्दा बढी जेष्ठ नागरिक प्रभावित भएका छन्। ‘पूर्वगोर्खा सैनिक र उमेरमा पाका व्यक्तिहरू कोरोना भाइरसबाट बढी प्रभावित हुनुहुन्छ, मृतकको अनुपात पनि त्यस्तै छ,’ पन्तले भने।

‘अन्डरलाइन हेल्थ कन्डिसन’ का कारण बेलायत रहेका धेरै भूतपूर्व गोर्खा सैनिकको निधन भएको हुन सक्ने धारणा बेलयतस्थित नेपाली वरिष्ठ पत्रकार भगिरथ योगीको छ। ‘मधुमेह, उच्च रक्तचापजस्ता रोगका कारण धेरै पूर्वगोर्खा सैनिक पीडित छन्, संक्रमित भइसकेपछि कतिले भाषागत समस्याले ज्यान गुमाउन पुगेको पाइएको छ,’ लन्डनमा रहेका योगीले हेल्थपोस्टनेपालसँग भने।

बेलायतमा मृत्यु हुने पूर्वगोर्खा सैनिक धेरै

बेलायतमा बसोबास गर्ने नेपालीहरू सबैभन्दा बढी कोरोना संक्रमणको शिकार भएका छन्। एनआरएनएका अध्यक्ष पन्तका अनुसार बेलायतमा १६ जनाको मृत्यु भएको छ।

यसै सातामात्रै पूर्वगोर्खा सैनिक लक्ष्मण श्रेष्ठको मृत्यु भएको छ। ६० वर्षका श्रेष्ठको लन्डन उपचारकै क्रममा मृत्यु भएको हो। स्याङ्जा घर भएका श्रेष्ठले साढे २ दशक गोर्खा सैनिकमा सेवा गरेका थिए।

त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाटै पूर्वगोरखा सैनिक हस्तवीर गुरूङको ज्यान गएको छ। जर्ज इलियट अस्पतालमा उपचाररत गुरूङको अघिल्लो साता बुधबार मृत्यु भएको हो। तनहुँमा जन्मिएका गुरूङ पछिल्लो नौ वर्षदेखि बेलायतमै बसोबास गर्दै आएका थिए।

अर्का पूर्वगोरखा सैनिक हरिमान तामाङले आफ्नो सेवाअवधिमा धेरै लडाइँ पार लगाए। तर, ८२ वर्षीय तामाङ कोरोनसँग हारे। धनकुटा हात्तीखर्क घर भएका तामाङको पनि गत साता लन्डनमै निधन भएको हो।

कोरोना भाइरस संक्रमणसँगै लड्दालड्दै ज्यान गुमाउने अर्का पूर्वगोरखा सैनिक हुन् घनवीर थापा मगर। लन्डनस्थित एक अस्पतालमा थापामगरको गत साता मृत्यु भएको हो। पाल्पा स्थायी घर भएका उनी उच्च रक्तचापको समस्याबाट केही वर्षयता ग्रसित थिए।

अर्का, पूर्वगोरखा सैनिक बुद्धबल गुरूङको पनि कोरोना भाइरसकै संक्रमणबाट ज्यान गएको छ। उनी ८३ वर्षका थिए। गोरखा घर भएका गुरूङ एक दशकयता परिवारकै साथ बेलायतमा थिए।

कोरोना संक्रमणबाट ज्यान गुमाउने ६५ वर्षीय लक्षिनबहादुर गुरूङ पनि पूर्वगोर्खा सैनिक नै हुन्। कास्की घर भएका गुरूङ सेवानिवृत्त जीवन बेलायतमै बिताउँदै आएका थिए।

भूतपूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। बेलायतमा बसोबास गर्ने राईको उपचारकै क्रममा गतसाता मृत्यु भएको हो।

पूर्वगोर्खा सैनिक कुलबहादुर फगामी मगरको पनि कोरोना भाइरस संक्रमणका कारण बेलायतमै मृत्यु भएको छ।

यसैगरी, कोरोना संक्रमणबाट बेलायतमै बस्दै आएका चार्टर्ड एकाउन्टेन्ट ध्रुवकुमार श्रेष्ठको मृत्यु भएको छ। अत्यधिक ज्वरो र खोकीका कारण श्वासप्रश्वासमा समस्या आएपछि श्रेष्ठलाई सेन्ट थोमस अस्पताल लन्डनमा भर्ना गरिएको थियो।

४६ वर्षीय श्रेष्ठको गत शनिबार राति १२ बजे मृत्यु भएको थियो। उनी साउथ इस्ट लन्डन बस्दै आएका थिए। पोखरा स्थायी घर भएका श्रेष्ठ मधुमेहका बिरामी थिए।

एनआरएनए अध्यक्ष पन्तका अनुसार अघिल्लो साता बेलायतमा बस्ने पर्वत घर भएका पूर्वगोर्खा सैनिक ५६ वर्षीय मेखबहादुर गुरूङ, पर्वतकै ५९ वर्षीय चेतप्रसाद गुरूङ, सोलुखम्बुका ५८ वर्षीय शिवप्रसाद श्रेष्ठ र चितवनका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको थियो।

कास्की पोखरा महानगरपालिका घर भएकी पुष्पा घलेको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो। सडभरीटाउनमा रहँदै आएकी घलेको कोरोना भाइरसको संक्रमणबाट शनिबार मृत्यु भएको थियो।

त्यसैगरी, बेलायत बस्दै आएका ८६ वर्षीय यमबहादुर मल्ल र ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको मृत्यु भएको थियो।

यस अवधिमा बेलायतमै ज्यान गुमाएका ८५ वर्षीय देविराम तमुलाई पनि कोरोनाको आशंका गरिएको थियो। तर, परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएन।

कोरोना संक्रमितमा बेलायतपछि अमेरिकामा धेरै

सबैभन्दा बढी कोरोना संक्रमण भएको अमेरिकामा पनि धेरै नेपाली कोरोना भाइरस संक्रमित छन्। आज बुधबार बिहानसम्ममा ८ लाख २४ हजार ६ सय ९८ कोरोना संक्रमित छन् अमेरिकामा।

अमेरिकामा ४५ हजार २ सयभन्दा बढीको मृत्यु भइसकेको छ। यद्यपि, यो मृत्यु दरमा पनि नेपालीको संख्या थोरै छ। अमेरिकामा बस्ने नेपाली सुरक्षित छन् भन्न सकिने अवस्था नै छ।

अमेरिकामा मंगलबारसम्ममा १० जना नेपालीको मृत्यु भएको छ। अघिल्लो साता कोरोना संक्रमणका कारण पाँचथर जिल्लाका ५० वर्षीय अनिल लिम्बु र सोलुखुम्बु घर भएका ४३ वर्षीय निङमातेम्बा शेर्पाको अमेरिकामा मृत्यु भएको थियो।

एनआरएनए अध्यक्ष पन्तका अनुसार मुस्ताङ जिल्ला घर भएका ४८ वर्षीय थेग्बेन बिष्ट र ४० वर्षीय सोनाम लामाको मृत्यु भएको थियो।

त्यसैगरी, ७२ वर्षीय बिष्णुकुमार राईको पनि अमेरिकामै कोरोना संक्रमणबाट मृत्यु भएको छ। गत साता न्युयोर्कमै ट्याक्सी चलाउने पवनकुमार मल्लको मृत्यु भएको छ। न्युयोर्कमै अर्का नेपाली ७० वर्षीय महेश अमात्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

अमेरिकामै रहँदै आएका राजकुमार थापा पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। अमेरिकास्थित नेपाली दूतावासले अन्य कोरोना संक्रमितको तथ्याङ्क संकलन गरी उपचारको पहल गरिरहेको जानकारी दिएको छ।

नेदरल्यान्ड र खाडी मुलुकमा पनि

नेदरल्यान्डमा एक नेपाली महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ बसोबास गर्ने ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो।

थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनका अनुसार म्याग्दी बेनी घर भएकी भट्टचनको शनिबार मृत्यु भएको हो।

नेपालसहित विश्वभरि बस्ने थकाली समुदायमा कोरोना भाइरसबाट ज्यान गुमेको यो पहिलो घटना रहेको जानकारी सचिव शेरचनले दिएका छन्।

यसैगरी, खाडी मुलुकमा काम गर्न गएकी एक महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो।

संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएकी रूपन्देही जिल्ला देवदह खैरेनी घर भएकी ४० वर्षीया बिनु पराजुलीको पनि मृत्यु भएको युएईस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै एनआरएनए अध्यक्ष पन्तले जानकारी दिए।

संक्रमित नेपालीको संख्या ११ सय ६६

विश्वका २१ देशमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट पीडित भएका छन्। एनआरएनएका अनुसार १ हजार १ सय ६६ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ।

अध्यक्ष पन्तका अनुसार कोरोना भाइरस अर्थात् कोभिड १९ सम्बन्धी उच्चस्तरीय समिति गठन गरेर कोरोना भाइरसबाट संक्रमितको तथ्याङ्क संकलन गरिँदैछ।

पन्तले अमेरिकामा लगभग ७ सय र बेलायतमा झन्डै २ सय नेपालीलाई कोरोना भाइरस संक्रमण भएको बताएका छन्। युएईमा ७१, बहराइन ४९, पोर्चुगल २२ र आयरल्यान्डमा २२ जनालाई कोरोना संक्रमण भएको पन्तले बताए।

कुबेतमा २१ जना, अस्ट्रेलिया ११, स्पेन १०, स्विजरल्यान्ड पाँच, जर्मनी चार, बेल्जियम चार र साउदी अरबमा पनि चारजनालाई कोरोना संक्रमण भएको छ। क्यानडामा तीनजना, मलेसिया तीन, माल्टा दुई तथा फ्रान्स, जापान, बर्मा र हङकङमा एक–एक नेपालीलाई कोरोना संक्रमण भएको जानकारी एनआरएनएले दिएको छ।

अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरूमार्फत् संक्रमित नेपालीको तथ्याङ्क संकलन गर्ने र उपचारको प्रबन्ध गर्ने विषयमा सहजीकरण भइरहेको बताएका छन्।

बेलायतका नेपालीले कोरोना संक्रमितको उपचार तथा महामारीबाट प्रभावित भइरहेकाहरूलाई एकआपसमा सहयोग गरिरहेका छन्।

‘नेप्लिज डक्टर्स एसोसिएसन, नेपाल पत्रकार महासंघ युके, गैरआवासीय नेपाली संघ युकेले पनि सहयोग आदानप्रदान गरिरहेका छन्, कतिपय स्थानमा खाना पकाएर लगिदिनेसम्मका काम भइरहेका छन्,’ वरिष्ठ पत्रकार योगीले भने।

प्रतिक्रिया दिनुहोस