फागुन र चैतको विद्युत् महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने

बैशाख ०६, २०७७

गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

घिसिङले बन्दाबन्दीको अवधि लम्बिएमा सोहीअनुसार महशुस बुझाउने समयावधि समेत थप हुने बताएका छन् ।

मन्त्रिपरिषद्को १६ चैतको बैठकले उपभोक्ताहरुलाई विद्युत् महशुल तथा विलम्बवापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो । प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।

प्राधिकरणले बन्दाबन्दीको अवधिमा मिटर रिडिङ गर्न नसकेपनि अनलाइनमार्फत महशुल भुक्तानी गर्न ग्राहकलाई अनुरोध गरेको छ । “विद्युत महसुल समयमा संकलन नहुँदा प्राधिकरणको न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गरेका हौं,” कार्यकारी निर्देशक घिसिङले भने ।

बन्दाबन्दीका कारण सिंगल फेज मिटर रहेका ग्राहकको घरमा गएर मिटर रिडिङ गर्न नसकेपनि ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल विभिन्न आठ वटा अनलाईन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ । अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिरेको रकममा समायोजन हुनेछ ।

प्राधिकरणले सिंगल फेज ग्राहकहरुको चैत्र र वैशाखको बिलिङ फागुनको बिलअनुसार नै गर्नेछ भने थ्रि फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भवभएसम्म मिटर रिडिङ गरेर वास्तविक बिलिङ गर्नेछ । सिंगल फेज ग्राहकहरुको यी महिनाहरुको बिल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा पछि हिसाबमिलान गरिने छ ।

मन्त्रिपरिषद्को निर्णयकाआधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही बैशाखको बिलको इनर्जी शुल्क (न्युनतम शुल्कबाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत्र महिनाको यस्तो छुट रकम बिल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस